काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित जुवाको खालबाट १२ जना पक्राउ

काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित जुवाको खालबाट १२ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही मानिसले हारजित हुने गरी अवैधरुपमा जुवातास खेलिरहेका छन् भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले घरधनी शेरचनसहित दोलखा चरिकोटका हरिशरण थापा, भारतको रक्सौल घर भई काठमाडौँ बस्ने राहुल गुप्ता, धादिङ गङ्गाजमुनाका सुमन अधिकारी, काभ्रेपलाञ्चोकका क्षेत्रबहादुर मोक्तान, काठमाडौँ शान्तिनगरका ज्योतिप्रकाश श्रेष्ठ, काठमाडौँ जैसीदेवलकी रञ्जना प्रधान, बागलुङकी सिर्जना खत्री, धादिङ मलेखुकी सरिता मल्ल गुरुङ, काभ्रेपलाञ्चोकका लक्ष्मी बानियाँ, झापा हल्दीबारीका चिना नेम्वाङ र भारत गुजरातका पुष्पा अलीलाई पक्राउ गरिएको छ ।

उनीहरुका साथबाट रु तीन लाख नगद, रु तीन लाख ७० हजार बराबरको चेक र २१ बुक तास बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो

यो पनि – पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, ६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा देशभर २,८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८,७१५ पीसीआर र ३,९०१ एन्टीजेन परीक्षणमा २,८३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएकाहरुको संख्या ५१ हजार ५८४ पुगेको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा ४ हजार ४७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ ।

यो पनि – १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

काठमाडौँ, ६ साउन । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उहाँले खोप भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताउनुभयो । उहाँले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । भोलिसम्म लगाइने खोप शुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् । रासस

यो पनि –कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ लाख १८ हजार नाघ्यो

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ९५ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४१ लाख १८ हजार ४४१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड १४ लाख ४८ हजार ९१४ जना रहेका छन । विश्वभर तीन अर्ब ८९ करोड ९७ लाख ८६ हजार ३७१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

सो विश्वविद्यालयले जुलाई २१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ४१ लाख ७४ हजार ७७४ छ लाख ९ हजार ५२९

भारत तीन करोड १२ लाख १६ हजार ३३७ चार लाख १८ हजार ४८०

ब्राजिल एक करोड ९४ लाख १९ हजार ४३७ पाँच लाख ४४ हजार १८०

फ्रान्स ५९ लाख ५२ हजार ३३९ एक लाख ११ हजार ७१५

रुस ५५ लाख ४६ हजार १६६ ५० हजार ६५०

बेलायत ५५ लाख ४२ हजार ६३५ एक लाख २९ हजार १०९

अर्जेन्टिना ४७ लाख ८४ हजार २१९ एक लाख २ हजार ३८१

कोलोम्बिया ४६ लाख ६८ हजार ७५० एक लाख १७ हजार १३१

इटाली ४२ लाख ९३ हजार ८३ एक लाख २७ हजार ८८४

स्पेन ४१ लाख ८९ हजार १३६ ८१ हजार १४८

जर्मनी ३७ लाख ५४ हजार ८४६ ९१ हजार ४२३

इरान ३५ लाख ७६ हजार १४८ ८७ हजार ६२४

इन्डोनेसिया २९ लाख ५० हजार ५८ ७६ हजार २००

पोल्याण्ड २८ लाख ८१ हजार ५९४ ७५ हजार २१९

मेक्सिको २६ लाख ७८ हजार २९७ दुई लाख ३६ हजार ८१०

युक्रेन २३ लाख १९ हजार ८८६ ५५ हजार २२१

दक्षिण अफ्रिका २३ लाख ११ हजार ३३२ ६७ हजार ६७६

पेरु २० लाख ९४ हजार ४४५ एक लाख ९५ हजार २४३

नेड्रल्याण्ड १८ लाख ४२ हजार ६५३ १८ हजार ६९

यो पनि – कविता र कलाको जीवन्त प्रयोग गर्ने वरिष्ठ चित्रकार नेपाली

–नारायण ढुङ्गाना, चित्रले धेरै कुरा भनिरहे झैँ वा बोलिरहे झैँ लाग्ने गरी क्यान्भास रङ्ग््याउन सिद्धहस्त नेपाली आधुनिक चित्रकलाका मुर्धन्य व्यक्तिको नाम हो उत्तम नेपाली । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठनका बेला प्राज्ञसभा सदस्य छनोट सिफारिस समितिको सदस्यसमेत हुनुभएका नेपाली जीवनको उत्तराद्र्धमा लाग्दा रोगले थलिनुभयो । सकुञ्जेल जीवनलाई क्यान्भासबाट टाढा जान दिनुभएन । क्यान्भासलाई त्यही युवा जोशमा रङ्गाउन नसके पनि अन्य कलाकारका लागि प्रेरणाको स्रोत नेपाली रङ्गिएका क्यान्भास ललितकला क्षेत्रलाई छाडेर आज सदाका लागि बिदा हुनुभएको छ ।

कला, साहित्य र चलचित्रमासमेत राम्रो दख्खल राख्नुभएका उहाँको मुख्य पेशा भने आधुनिक चित्रकला नै थियो । शुरुशुरुमा मानिसले बहुलठ्ठीपन भनेर हेला गर्ने अमूर्तकलालाई स्थापित गर्नमा उहाँको महत्वपूर्ण योगदान छ । नेपाली ललितकला क्षेत्रको विकासमा अमूल्य योगदान पु¥याउनुभएका नेपालीको ८४ वर्षको उमेरमा आज बिहान ४.३० बजे काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको परिवारले जनाएका छन् । श्वासप्रश्वास समस्याका कारण निधन भएको ज्वाइँ सुनिल रञ्जीतले राससलाई जानकारी दिनुभयो । उहाँमा मुटुलगायत अन्य रोगसमेत थियो ।

काठमाडौँ महानगरपालिका–३ बाँसबारी घर भएका नेपालीका श्रीमती मन्दिरासहित दुई छोरा उद्यमप्रसाद र सुुद्यमप्रसाद तथा दुई छोरी ममता र प्रकृति छन् । अमेरिकामा रहँदा पाँच वर्षअघि उहाँमा हुदयघात भएको थियो । अमेरिकामा उत्कृष्ट उपचार सेवा प्राप्त हुँदा बाँच्न सफल भएको सुनिलले सुनाउनुभयो । त्यसपछि शरीर विस्तारै कमजोर हुँदै गएको थियो । बीचमा नेपाल आएर केही समय बसेपछि पुनः अमेरिका फर्कनुभएको थियो । अमेरिकामा रहँदा फोक्सोको श्वासप्रश्वासमा समस्या देखिएपछि बिना अक्सिजन बस्न नसक्ने हुनुभयो । आफ्नै भूमिमा मृत्युवरण गर्ने उहाँकै इच्छाअनुसार तीन महिनाअघि उपकरणको सहायतामा नेपाल ल्याइएको थियो । गएको २० दिनअघि स्वास्थ्य समस्या थप बढेपछि चिरायु अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्र हुँदै उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले ललितकलाको विकासमा उहाँले दिएको योगदान महत्वपूर्ण रहेको र उहाँको निधनले कला क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । कलासँगै, चलचित्र र साहित्यमासमेत उहाँको योगदान छ । उहाँले गीत र भजनसमेत लेख्नुभएको छ । साहित्यकार ध्रुवचन्द्र गौमत र शङ्कर लामिछानेसँग धेरै नजिक भएर काम गर्नुभएका नेपालीले नेपालको पहिलो चलचित्र ‘आमा’ र अर्काे चलचित्र ‘हिजो आज भोलि’ मा अभिनय गर्नुभएको थियो । हिजो आज भोलिमा प्रमुख खलनायक भएर खेल्नुभएको ज्वाइँ सुनिलले सुनाउनुभयो । उहाँको मुख्य पेशा भनेको चित्रकला नै हो । मुलुकमा नेपाली आधुनिक कला भित्र्याउनमा उहाँको ठूलो भूमिका रहेको चित्रकार स्मरण गर्छन् ।

उहाँको पहिलो चित्रकला प्रदर्शनीको उद्घाटन राजा महेन्द्र वीरविक्रम शाहले गर्नुभएको थियो । कलाकार तथा कला समीक्षक मुकेश मल्लले उहाँको कला जीवनीको बारेमा पुस्तक नै लेख्नुभएको छ । उहाँ जिउँदै हुँदा उक्त पुस्तक विमोचन गर्ने प्रतिष्ठानको योजना अधूरै भए पनि पछि विमोचन गर्ने कुलपति कर्माचार्यले बताउनुभयो ।उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुनुहुन्थ्यो । कला लेखक उहाँलाई क्यान्भासका बादशाह तथा आधुनिक कलाका शिखर पुरुष भनेरसमेत स्मरण गर्छन् । उहाँलगायत कलाकारका समूहले दिग्गज कविका रचनाको आधारमा चित्रकलासमेत गरेको थियो । कलामा कविता उतार्ने छुट्टै पहिचानसमेत उहाँमा थियो । क्यान्भासमा धेरै श्रष्टालाई उतार्नु भएको छ । कलामा नविनता हासिल गर्ने कलाकारमध्ये उहाँ पर्नुहुन्छ ।

विसं २०६१ मा ‘उत्तम नेपालीका कविता’ पुस्तकसमेत प्रकाशित छ । कविताको भाव, श्रष्टा, लेखकलाई समेत चित्रमा उतारेर उहाँले नयाँनयाँ प्रयोग गर्नुभएको छ । आधुनिक अमूर्त चित्रकलालाई नेपालमा विस्तार गर्नमा उहाँको योगदान ठूलो छ । बुबा व्यापारको सिलसिलामा भारतको लखनउ बस्ने भएकाले लखनउबाट परम्परागत ‘वाश पेन्टिङ’ सिक्नुभएको थियो । उहाँले बनाउनुभएको शिवको ताण्डव नृत्यको चित्र महत्वपूर्ण मानिन्छ ।भारतबाट विसं २०१८÷१९ तर्फ नेपाल आएपछि धार्मिक चित्र बनाउनुभएको नेपाली त्यसपछि अमूर्तकलामा लाग्नुभएको कला समीक्षक रमेशनाथ खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँले कविता र कलाको जीवन्त प्रयोग गर्नुभएको छ, नेपालको साहित्य र कलासम्बन्धी प्रतिष्ठित व्यक्तिका मुहार चित्र बनाएर ख्याती कमाउनुभएको छ, त्यसमा उहाँको आफ्नै शैली थियो ।” उहाँका २५ एकल चित्रकला प्रदर्शनी भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले संस्मरणात्मक निबन्ध र कविता लेख्नुभएका नेपालीले विदेशमासमेत कला प्रदर्शनी गर्नुभएको छ । दरबार तथा संयुक्त राष्ट्रसङ्घलगायत ठाउँमा पनि उहाँको कला सङ्ग्रहित छ । उहाँले टेली डकुमेन्ट्री बनाएर प्रदर्शनसमेत गरेको पाइएको उपाध्यायले बताउनुभयो । उहाँको आज दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । रासस