बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकासको गति बढाउन पूर्वाधार पहिलो आवश्यकता भएको बताउनुभएको छ । आज बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले काम गर्नका लागि कर्मचारीलाई अनुकूल वातावरण चाहिने धारणा राख्नुभयो । पौडेलले प्रदेश सरकारले चुस्त काम गर्न कार्यालय व्यवस्थित हुनुपर्नेमा जोड दिएको बताउनुभयो । उहाँले प्रदेश सरकारले पूर्वाधारसँगै यातायातका क्षेत्रमा अन्य महत्वपूर्ण काम गरेको बताउनुभयो । नागरिकलाई सवारीसाधान नवीकरण गर्न वा कर बुझाउन लाम लाग्नुपर्ने प्रथाको सरकारले अन्त्य गरेको दाबी गर्दै पौडेलले अब घरबाटै सवारी नवीकरण गर्न वा अन्य राजस्व दाखिला गर्न सकिने जानकारी दिनुभयो ।
उहाँले निर्माण प्रारम्भ गरेको पाँच महिनामै १९ कोठे भवनको निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो । पौडेलले कतिपय विकास योजनामा निर्माण कम्पनीका ढिलासुस्तीका कारण सरकारको आलोचना हुने गरेको उल्लेख गर्दै त्यस्ता कम्पनीलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । सो अवसरमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकारले विकास निर्माणलाई पहिलो प्राथमिकता दिने बताउँदै सरकार गठन भएको छोटो अवधिमै धेरै काम भएको दाबी गर्नुभयो ।
यातायात पूर्वाधार निर्देशनालयको कार्यालय भवन तथा प्रयोगशालासमेत रु दुई करोड ४४ लाख १७ हजार कूल लागतमा निर्माण सम्पन्न भएको हो । भवनमा सभाकक्षसहित १९ वटा कोठा रहेको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।
यो पनि – जमुनहा नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन
नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभयो । कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा राणाले बताउनुभयो । देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो ।
नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मी खटिने भएका छन् । भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकताअनुसार अन्य स्वास्थ्य जाँच गरिनेछ । रु ५१ लाख ३१ हजारको लागतमा निर्माण गरिएको हेल्थ डेस्कको केही भाग इलाका प्रहरी कार्यालय जमूनाहलेसमेत प्रयोग गर्ने जनाइएको छ ।
प्रतिक्रिया