जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताउनुभयो । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो ।” उहाँले भन्नुभयो, “अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।”

अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिनुभयो । “जिल्लामा विद्युत्को लाइन छ तर त्यो विद्युत् नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “विद्युत् नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिन्छ ।”

जिल्लामा कोभिड–१९ सङ्क्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताउनुभयो । “क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ”, उहाँले भन्नुभयो, “कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौँ ।” जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ को उपचार भइरहेको । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

यो पनि – कोभिड–१९ को सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढे

डोटी, ७ साउन । देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । लामो समयसम्म कोरोना महामारीका कारण सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको पाइएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली र भारतीय पर्यटक प्रतिदिन बढ्न थालेका छन् । खप्तड पर्यटन विकास क्षेत्रका अनुसार पछिल्ला हप्तामा कोरोनाका सङ्क्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै खप्तड क्षेत्रमा पर्यटक भित्रिन थालेका हुन् ।

जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा अघिल्लो हप्तामात्र एक हजारभन्दा बढी आन्तरिक पर्यटक यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमणका लागि आएको बताइएको छ । जिल्लाको अर्को प्रमुख पर्यटकीयस्थल जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झरनामा पनि हिजोआज पर्यटकको घुइँचो लाग्न थालेको छ । यहाँ बढ्दो गर्मी छल्न पनि जिल्लाका पर्यटक उक्त झरनामा पुग्ने गरेका छन् । यहाँ दैनिक सयौँ पर्यटक आएर मनोरञ्जन लिने गरेका छन् । कैलाली तथा कञ्चनपुरसहितका यहाँका अन्य सातवटा पहाडी जिल्लाको केन्द्रविन्दुमा रहेको सो झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको चहलपहल पनि निकै बढेको पाइएको छ ।

अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गसँगै जोडिएको उक्त पर्यटकीय क्षेत्रमा आउने पर्यटकका कारण यहाँको चहलपहल तथा व्यापार व्यवसाय बढेको जलादेवी फेन्सी स्टोर बुडरका सञ्चालक लोकबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “छहरा झरना निकै आनन्द दिने ठाउँ छ, बर्सातले अहिले उक्त झरनामा पानी पनि निकै बढेको छ, त्यही हेर्न पर्यटक आउने गरेका कारण यहाँ चहलपहलका साथै व्यवसाय पनि बढेको हो ।”

दोस्रो चारणको कोरोना भाइरस कोभिड–१९ का कारण निकै आक्रान्त बनेका यहाँका नागरिक कोरोना सङ्क्रमण दर घटेसँगै अहिले मनोरञ्जन तथा आनन्द लिनका लागि पनि यहाँ आउने गरेको स्थानीयवासी बताउँछन् । कैलाली र कञ्चनपुर जिल्लाबाट आउने पर्यटक बिहान आएर दिनभर झरनामा रमाउने र बेलुका फर्कने गरेका छन् भने अन्य जिल्ला बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीबाट आउने पर्यटक एक÷दुई दिन बस्ने गरेका स्थानीयवासी तथा सञ्चारकर्मी शिवसिंह ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नजिकैबाट आउने पर्यटक दिनभर झरनामा रमाइलो गरी फर्कन्छन्, टाढाबाट आउने एकदुई दिन यतै बसेर फर्कने गरेका छन् ।” झरनामा रमाइलो गर्दा स्वर्गीय आनन्द आउने भएकाले पनि पछिल्लो समय उक्त झरना पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उहाँको बुझाइ छ । झरनामा रमाउन आउने पर्यटक नजिकै रहेको छतिवन तालमा डुङ्गा सयर गर्नेदेखि पौडी खेल्ने गर्दछन् । “माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्ल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिदैन र ?”, उहाँले भन्नुभयो । प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल–२ छतिवनमा पर्दछ । पछिल्लो समय झरनाले पर्यटकको प्रमुख आकर्षणका रूपमा पहिचान बनाएको छ ।

छहरा अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो । उक्त क्षेत्रमा पछिल्लो समय समितिले प्याराग्लाइडिङ र छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरेपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन् । यहाँ आउने पर्यटक तथा यहाँका स्थानीयवासी झरना, प्याराग्लाइडिङ तथा क्यानोइङ गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन् । विगतमा खासै नाम नसुनिएको यो झरना अहिले सामाजिक सञ्जालका कारण प्रचारमा आएको बुडरका दानबहादुर कलेलले बताउनुभयो ।

जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन÷चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको समितिले जनाएको छ । कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने तथा एकदुई दिन त्यहीँ बसेर रमाइलो गरी फर्किने गरेको बताइएको छ । अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा होटल थपिँदै छन् । यहाँका होटलले पनि राम्रो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था भने गरेको छ । कच्ची सडक र पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ । यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउन सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “भनेकै बेला सडक कालोपत्र गर्न सकिँदैन तर पनि पर्यटकीय क्षेत्रका सडक सुधार तथा विस्तारका लागि गाउँपालिका लागि परेको छ, छिट्टै यहाँका सडक ग्राभेल गरिने छ ।”

छतिवनसहित जिल्लामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक र बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ । बाह्य पर्यटक बढेपछि यहाँको आर्थिक अवस्थामा सुधार हुने सम्भावना रहेको बुडर बजारका अर्का व्यवसायी मीनबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “छहरा झरनाको विकास गरेर देश विदेशमा चिनाउनका लागि थप प्रयास गर्नुपर्छ, यसका लागि पर्यटन मन्त्रालयले विशेष चासो देखाउनु जरुरी देखिन्छ ।”

बुडरलगायतका बजारमा पछिल्लो समय होटेल तथा चमेनागृहको निर्माण धामधम भइरहेको उद्योग वाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बुडर क्षेत्रमा पछिल्लो समय सुविधा सम्पन्न होटेल निर्माण भएका छन्, खाना र बस्न राम्रो पाइने भएकाले पनि पर्यटक छहरा र छतिवन तालमा रमाउने आउन थालेका छन् ।” छहरा झरनामा पछिल्लो समय जोरायल गाउँपालिका तथा सुदूरपश्चिम प्रदेश सरकारले पनि मन्दिर निर्माण, बाटो निर्माणदेखि झरना छेउमा ट्रस निर्माण गरेका छन् । यहाँको वडा कार्यालयले झरना अवलोकनका लागि पर्यटकलाई निःशुल्क प्रवेश दिने व्यवस्था मिलाएको छ । गाउँपालिकाले झरना क्षेत्रमा निकै रमणीय भौतिक संरचना निर्माणदेखि झरनासम्म जाने मोटर बाटो निर्माण गरेकाले पर्यटकलाई सजिलो भएको छ । यहाँका स्थानीयवासीले छहरा झरनासम्म पुग्ने बाटो पिच गर्न स्थानीय सरकारसँग माग गरेका छन् । रासस