जीर्ण झोलुङ्गे पुलका कारण आवतजावतमा समस्या

जीर्ण झोलुङ्गे पुलका कारण आवतजावतमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोधरा चाँदनी नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगरसम्म आवतजावत गर्न महाकाली नदीमाथि बनाइएको झोलुङ्गे पुल जीर्ण भएकोे छ । पुलका विभिन्न ठाउँका स्टिल डेक र स्टिल डेकमुनिका सपोर्ट एङ्गल टुटेका छन् । ठाउँठाउँमा पुल ठड्याउन राखिएका नटबोल्ट पनि खसेका कारण कुनै बेला पनि दुर्घटना हुनसक्ने देखिन्छ ।

मोटरसाइकल र साइकलमा पुलको क्षमताभन्दा बढी सामान बोक्ने गरेका कारण पुल जीर्ण भएको हो । पुलका स्टिल डेक ठाउँठाउँमा टुट्दा पनि यस्ता सवारी साधनको आवागमन भने जारी छ । पुल जीर्ण बनेकाले नगरपालिकाले दुर्घटना हुन नदिन स्थनीयवासीलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।“मोटरसाइकलमा चालकसहित दुई जना मात्र आवतजावत गर्न सुरक्षामा खटिएका प्रहरीले भनेका छौँ”, नगरप्रमुख वीरबहादुर सुनारले भन्नुभयो, “मोटरसाइकलमा सामान ढुवानी गर्दा अधिकतम ५० किलोसम्म सामान पुल भएर बोक्न दिइने व्यवस्था गरिएको छ । दूध बोक्ने मोटरसाइलमा भने भारको अधिकतम भार नदेखिने हुँदा त्यसलाई नियन्त्रण गर्न सार्वजनिक सूचना जारी गरिएको र पुल मर्मतका लागि पहल पनि भइरहेको छ” ।

दुई वर्षअघि सुदूरपश्चिम सरकारले रु ६० लाखको लागतमा ठेक्कामार्फत पुल मर्मत गरिएकोे थियो । डडेल्धुराको खाम्पाचे÷देवभूमि कन्स्ट्रक्शन तथा क्वालिटी सप्लायर्स अमरगढी–५ जेभीले पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः जीर्ण भएपछि दोधारा चाँदनी नगरपालिकाले पुनः मर्मत गरेको थियो । महाकाली नदीपारिको उक्त नगरपालिका जोड्ने एक हजार ४५२ मिटरको नेपालकै सबैभन्दा लामो सो पुल विसं २०६१ मा रु नौ करोड ४२ लाख ४१ हजारमा निर्माण गरिएको थियो ।

यो पनि – पहिरोले अवरुद्ध सडक दुई हप्ता बित्दा पनि खुलेन

दमौली, ७ साउन । पहिरोले  अवरुद्ध भएको सडक दुई हप्ता बित्दा पनि नखुलेपछि सर्वसाधारण मारमा परेका छन् । व्यास नगरपालिका–१२ हँुदै भानु नगरपालिका–५ जाने भगवती रङ्गपथ मोटरमार्ग अवरुद्ध भएको लामो समय हुँदा पनि पुनःसञ्चालन नहुँदा सर्वसाधारण मारमा परेका हुन् । गत असार १७ गते परेको अविरल वर्षाले बाटो अवरुद्ध हुँदा पिपलथोक, गोलढुङ्गा, मैवल, कोखे, गरमभ¥याङ, नावरुङ, मिलडाँडा, डाँडाथोकका सर्वसाधारणलाई प्रत्यक्ष मार परेको स्थानीयवासी रामबहादुर अधिकारीले बताउनुभयो । “बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा पनि समस्या आएको छ ।

बिरामी हुँदा अस्पतालसम्म आउन पनि कठिनाइ भएको छ”, उहाँले भन्नुभयो, “लामो समय हुँदासम्म पनि बाटो खोल्न सरोकारवालाको ध्यान गएन ।”भानु–५ का वडाध्यक्ष प्रकाश मल्ले आफ्नो क्षेत्रमा भने सवारी साधनमा अवरोध नभएको बताउनुभयो । छिर्कनेदेखि पिपलथोकसम्म व्यास–१२ को क्षेत्र भएकाले आफूले सो क्षेत्रमा केही पनि गर्न नसकेको उहाँको भनाइ छ । “मुख्य अवरोध भनेको व्यासको वडा नम्बर १२ मा नै हो । भानु–५ को मोटरमार्गमा पर्ने बाटोको अवरोध हटाइसकेका छौँ”, उहाँले भन्नुभयो, “त्यो बाटोको विकल्पमा नागनागिना हँुदै मैवल अनि नावरुङ जान सकिन्छ ।”

व्यास–१२ का वडाध्यक्ष तोत्रबहादुर कँुवरले आफ्नो वडाको क्षेत्र भए पनि त्यहाँ ठेक्का लागिसकेको हुँदा केही गर्न नसकेको बताउनुभयो । प्रदेश सरकारले उक्त बाटोको स्तरोन्नति गरी बाटो मर्मत गरेको थियो । त्यसैले गर्दा त्यो ठेकेदारले नै काम गर्नुपर्ने उहाँले बताउनुभयो । “वडा आफ्नो भए पनि बाटो समितिले काम गरेको र त्यो ठेकेदारलाई सम्पर्क गर्ने प्रयास गरेको छु”, उहाँले भन्नुभयो ।

बाटोको विषयमा पनि वडा र नगरपालिकाले राजनीति गरेको स्थानीयवासी शिव शाहीले बताउनुभयो । “भानुको वडा कार्यालयमा भन्दा क्षेत्राधिकारभित्र पर्दैन भन्छ, व्यास–१२ मा सम्पर्क गर्दा ठेकेदार खोजेर ल्याउनु भन्छ । ठेकेदार सम्पर्कविहीन छ”, उहाँले भन्नुभयो, “नगरपालिकामा सम्पर्क गर्दा वडामार्फत आउनु भन्छ । यो अति नै राजनीति भयो ।” बाटो अवरुद्ध हुँदा दैनिक जीवनयापनमै प्रत्यक्ष असर परे पनि सम्बन्धित निकाय पन्छिने काम गरेको उहाँको आरोप छ ।

छिर्कने बजारको पिपलथोकदेखि डाँडाथोकसम्म करिब आठ किलोमिटर रहेको भगवती रङ्गपथ मोटरमार्गअन्तर्गत करिब एक किलोमिटर मोटरमार्गमा गएको पहिरोले गर्दा घरसमेत जोखिम परेको छ । रासस