बँदेलले मकै सखाप पार्न थालेपछि रातभरि जाग्राम

बँदेलले मकै सखाप पार्न थालेपछि रातभरि जाग्राम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बँदेलले मकै सखाप पार्न थालेपछि सुर्खेतका किसान रातभरि बारीमै जाग्राम बस्न थालेका छन् । वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेतका किसान समूह बनाएर मकै बचाउन राति बारीमै जाग्राम बस्न थालेका हुन् । वैशाख अन्तिमतिर रोपेको मकैले घोगा हाल्ने समयमै बँदेल लागेपछि त्यसलाई जोगाउन बारीमै जाग्राम बस्न थालिएको स्थानीयवासी रुद्र पौडेलले जानकारी दिनुभयो ।

“एक वर्षसम्म पुग्ने गरी उत्पादन हुने अन्नबाली मकै जङ्गली जनावरले दैनिक खाएर सिध्याउन थाले”, पौडेलले भन्नुभयो, “अरु उपाय केही नभएपछि त्यसको बचावटका लागि रातभर बारीको पाटामा जाग्राम बस्दै आएका छौँ ।” श्रम गरेर पनि भोकमरी सामना गर्नुपर्ने अवस्थाले किसानलाई चिन्तित बनाएको उहाँले बताउनुभयो । गाउँलेले समूह बनाई पालैपालो गरेर रातभर मकै रखौली गर्दै आएको स्थानीयवासी थलिराम गौतमले दुखेसो गर्नुभयो । “बँदेल एक दिन आएको ठाउँमा अर्काे दिन आउँदैन, नयाँ ठाउँबाट आएर मकै सखाप पारिसक्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो । पटक–पटक यही पीडाले सताएकाले स्थानीय निकायलाई गुहारिएको गौतमले जनाउनुभयो ।

स्थानीय सरकारले यो समस्या समधान गर्ने आशामा रहेको स्थानीय किसान टङ्क उपाध्यायले बताउनुभयो । उहाँका अनुसार साविकको गढी गाविस–३, ४, ५ र ६ का मेहेपानी, लादे, गोठीकाँडा, बयलकाडालगायतका गाउँमा बँदेलले मकैलगायतका बाली नष्ट गर्दै आएको छ ।

यो पनि – नहरमा डुबेर १६ र १४ वर्षीयदुई जनाको मृत्यु

चितवन, ७ साउन । नहरमा डुबेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरका १६ वर्षीय अङ्कित जोशी र १४ वर्षीय विवेक शर्माको नहरमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार करिब ४ बजेको समयमा क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकै रहेको नहरमा हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेका थिए । नहरमा खसेका साथीलाई बचाउन जाने क्रममा अङ्कित पनि बेपत्ता भएका हुन् । प्रहरीले नहरमा बेपत्ता भएको खबर पाएसँगै खोजी गर्दा २०० मिटर पर नहरबाट उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनीहरुको साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

यो पनि –पोखरा फेवातालमा डुङ्गा सञ्चालन

पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन् । निषेधाज्ञाका कारण घरमै बसेका उहाँहरुमा पुनःव्यवसाय शुरु भएपछि उत्साह छाएको हो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताउनुभयो ।

भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो । उहाँले भन्नुभयो, “यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालमा छन्, फेवातालमा डुङ्गा शुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ ।”

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ । डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ । फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

फेवातलामा नौ वर्षदेखि डुङ्गा चलाउदै आउनुभएका पोखरा महानगरपालिका–१८ सराङकोटका मजदूर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र व्यवसाय शुरु भएपछि उत्साहित भएको बताउनुभयो । कोरोना सङ्क्रमणबाट आफू पनि जोगिनु चुनौती रहेकाले मास्क नलगाउनेलाई डुङ्गा चढ्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो । “कोरोनाका कारण अहिले जस्तो सङ्कट कहिल्यै परेको थिएन, विस्तारै चहलपहल बढेपछि उत्साहित भएका छौँ”, परियारले भन्नुभयो, “यात्रु कम हुँदा डुङ्गाको पालो पाउनै गाह्रो छ, पहिला जस्तो आम्दानी अहिले नभए पनि व्यवसाय सञ्चालन हुँदा खुशी लागेको छ ।”

अर्का डुङ्गा चालक बाबुराम पुरीले निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताउनुभयो । पर्यटन व्यवसाय पहिलाकै अवस्थामा फर्किने विश्वास गरिएको छ । सम्भावित सङ्क्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको जनाउँदै उहाँले मास्क लगाउने, सेनिटाइज गर्ने गरेको र पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्ने गरिएको बताउनुभयो । रासस