झापामा पाँच हजार नागरिकता वितरण

झापामा पाँच हजार नागरिकता वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाको दमकस्थित इलाका प्रशासन कार्यालयले अघिल्ला वर्षभन्दा गत वर्ष करीब दोब्बर नागरिकता वितरण गरेको छ । कार्यालयका अधिकृत सूर्यमान बानियाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत वर्ष २०७७÷७८ को अवधिमा दुई हजार ४६२ बढी नयाँ नागरिकता वितरण गरिएको छ । कार्यालयको तथ्याङ्कमा २०७७÷७८ मा पाँच हजार ५७३ नयाँ नागरिकता वितरण गरेको थियो भने २०७६÷७७ मा तीन हजार १११ नयाँ नागरिकता वितरण गरिएको उल्लेख छ ।

आव २०७७÷७८ को अवधिमा वैवाहिक अङ्गिकृत ३०, प्रतिलिपी चार हजार ८७१ र नाबालाक परिचयपत्र ८३ जारी गरिएको अधिकृत बानियाँले जानकारी दिनुभयो । सोही अवधिमा राहदानी नियमिततर्फ दुई हजार २९१, द्रुतसेवा ६१८, ठाडो उजूरी ६६, सङ्घ संस्थान विकरण १५८ र चार हातहतियार इजाजत वितरण गरिएको उल्लेख छ ।

रु एक करोड २२ लाख बढी राजश्व सङ्कलन

सोही वर्ष राहदानीबापत रु एक करोड २२ लाख ५२ हजार ५००, अन्य प्रशासनिक सेवाबापत रु एक लाख ५७ हजार ८५०, बेरुजु रु आठ हजार १५१ गरी कूल रु एक करोड २२ लाख ५२ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाको माइपश्चिम क्षेत्रको दमकसहित कमल, शिवसताक्षी, गौरादहका बासिन्दालाई सरकारी सेवा उपलब्ध गराउदै आएको छ । रासस

यो पनि – गुर्जामा उच्च घनत्वको स्याउखेती

म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको व्यावसायिक खेती गरिएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा उच्च घनत्वको स्याउखेती गरिएको हो । इटलीबाट उच्च घनत्व जातका स्याउका कलमी बिरुवा ल्याएर गुर्जामा खेती गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

“गुर्जामा म्याग्दी जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती भएको हो”, उहाँले भन्नुभयो, “१० रोपनी जग्गामा गत हिउँदमा रोपेको स्याउको बिरुवाले रोपेकै वर्षदेखि फल्न थालेकाले गुर्जामा सफल हुने देखिएको छ ।” कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५९२ बिरुवा खरीद गरिएको थियो । गुर्जामा स्याउखेतीका लागि गतवर्ष कृषि ज्ञान केन्द्रले रु एक लाख ५० हजार र गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको थियो ।

गुर्जाको नाइलीबाङमा २६ किसानले दश रोपनी पाखोबारीमा स्याउका बिरुवा लगाएका छन् । गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि दुई हजार ७०० मिटर छ । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती भित्र्याइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने भएकाले उच्च घनत्वको स्याउखेतीप्रति किसानको आकर्षण बढेको छ । किसानले परीक्षण उत्पादन सफल भए स्याउखेती विस्तार गर्ने योजना बनाएका छन् । यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन् । कृषि ज्ञान केन्द्रका कृषिप्रसार अधिकृत गोविन्द पाण्डेले गुर्जामा परीक्षणका लागि उच्च घनत्वको स्याउखेती गर्न इटलीबाट बिरुवा ल्याइएको बताउनुभयो ।

“पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटोे फल्ने उच्चघनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो”, उहाँले भन्नुभयो “गुर्जामा उच्च घनत्वको स्याउखेती सफल भएमा खेर गइरहेको बाँझो जमीनलाई सदुपयोग गर्न र किसानको आम्दानी बढाउन सकिने सम्भावना छ ।”