रासायनिक मल नपाउँदा किसान चिन्तित

रासायनिक मल नपाउँदा किसान चिन्तित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको मलखाद उपलब्ध गराउन नसकेको बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख बलबहादुर शाहले किसान मलखादका लागि आउने गरेका भए पनि रित्तै फर्काउनु परेको जानकारी दिनुभयो ।

“मात्रै मलखाद चाहियो भनेर किसानले कार्यालय नै घेराउ गर्नसमेत पछि पर्दैनन्”, कार्यालय प्रमुख शाहले भन्नुभयो, “माथिबाटै थोरै मलखाद आउँछ, सबैतिर दिँदासमेत पुग्दैन ।” उहाँले यहाँका नौ वटै पालिकामा मल आपूर्ति समिति रहेको उल्लेख गर्दै स्थानीय समितिले सहकारीमार्फत वितरण गर्ने जानकारी दिनुभयो । शाहका अनुसार हाल ८३ मेट्रिक टन युरिया मौज्दात रहे पनि अपुग छ । यहाँ मलखाद भारतबाट अवैध रुपमा आयात गरेर महँगोमा बिक्री गर्ने गरेको किसानको दुखेसो छ । यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका सञ्जय रानाले मलखादका लागि पटकपटक कृषि सामग्रीमा धाउदा पनि नपाएको पीडा सुनाउनुभयो ।

“भारतबाट ल्याउ प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्छ”, रानाले भन्नुभयो, “यहाँ सरकारीले पनि मनमर्जी दररेटमा मलखाद बिक्री गर्दैछन् ।” कृषि सामग्रीले मलखाद अनुदानमा बिक्रीवितरण गरिरहेको भए पनि यहाँ लामो समयदेखि मलखादको अभाव हँुदै आएको छ । यस वर्ष धानखेतीको समयमा कृषिबाट एक हजार ३५ मेट्रिक टन युरिया, एक हजार १८६ मेट्रिक टन डिएपी र ४३.६ मेट्रिक टन पोटास बिक्री भएको कार्यालय प्रमुख शाहले बताउनुभयो । बेदकोटस्थित इन्दे्र्रणी कृषि सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले पहिलो चरणमा सहकारीमा ४३ बोरा युरिया आए पनि सकिएको बताउनुभयो ।

यो पनि – मेलको रुखमा नास्पाती फलेपछि…

मेलका रुखमा नास्पाती फल्न थालेको कुरा सुन्दा पनि अचम्म लाग्ला तर जिल्लाको पूर्वीचौकी गाउँपालिका सानागाउँमा यस्तै वस्तुस्थिति देखिन्छ । सानागाउँमा केही वर्ष पहिले कलमी गरेको मेलका रुखमा लटरम्म नास्पाती फल्न थालेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । अहिले कलमी गरिएका रुखमा फलेका नास्पातीका दाना हेर्न लायकका बनेका छन् । दश वर्ष पहिले तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा नास्पातीको हाँगा जोडी कलमी गरेकोे थियो ।

पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले भन्नुभयो, “केही काम नलाग्ने मेलका रुख काटेर किसानले फाल्ने गरेका थिए, कृषि कार्यालयको सहयोगमा कलमी गरी नास्पाती लगाएपछि अहिले फलेर लटरम्म भएको छ, किसान खुशी भएका छन् ।” खाना पकाउने दाउरासमेत नहुने उक्त रुखलाई केही वर्ष पहिले यहाँका किसानले जरैदेखि उखेलेर फाल्ने गरेका थिए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयका प्रमुख यज्ञराज जोशीको पहलमा उक्त क्षेत्रमा मेलका रुखमा कलमी गरी नास्पाती लगाइएको थियो । यसरी नास्पाती फल्न थालकाले त्यहाँका किसानको आयआर्जनमा निकै वृद्धि हुने हाल दिपायल राजपुरस्थित सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक बन्नुभएका उहाँले भन्नुभयो, “बिनाकामका खेर गएका रुखलाई मेरै योजनामा कलमी गरी नास्पाती बनाएका थियौँ, अहिले मेहेनतको फल फल्न शुरु भएको छ, अब किसानका आयआर्जन बढ्नेछ ।”

अहिले अन्य वडाका किसानले पनि भएका मेलमा रुखमा कलमी गरी नास्पातीका बिरुवा लगाइदिन आग्रह गर्दै आएको उक्त निर्देशनालयले जनाएको छ । सानागाउँमा फलेका नास्पाती बिक्रीवितरणका लागि केही दिनमै यहाँका साझघाट, दिपायल, राजपुर, सिलगढी तथा पिपल्ला बजारमा लैजाने तयारी भइरहेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउदले बताउनुभयो ।

“हामीले जिल्लाका सानागाउँ र बुडरमा मेलका रुखलाई कलमी गरी नास्पाती बनाएका थियौँ, सानागाउँमा नास्पाती फल्न शुरु भएको छ, बुडरमा पनि फल्ने तयारीमा छ, अब जिल्लाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विकास गर्ने तयारीमा छौँ ।” निर्देशक जोशीले भन्नुभयो । रासस