कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले गरेको कामका बारेमा जानकारी लिनुका साथै पार्टीको आगामी १४औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

बैठक अहिले बिहान ९ः०० बजे बस्नेछ । कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।

यो पनि – मुख्यमन्त्री पोखरेलद्वारा सङ्क्रामक रोग अस्पताल निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । प्रदेश मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालको बिहीबार निरीक्षणपछि उहाँले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताउनुभयो । कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई सङ्घले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले आइसोलेशनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङले गण्डकी सरकारको सम्पत्ति सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई मुलुकभरकै नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गण्डकीका प्रमुख सचिव डा दामोदर रेग्मीले कमजोर आर्थिक अवस्था भएको हाम्रो मुलुकले कोरोना नियन्त्रण र रोकथामका लागि गरेको काम अनुकरणीय भएको बताउनभयो । अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले सीमित स्रोत र साधनका बीच पनि अस्पतालले छोटो अवधिमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गर्दै गत आर्थिक वर्षमा ८२१ जना कोभिड बिरामीको उपचार गरेको जानकारी दिनुभयो ।