सिमकोट, ८ साउन । हुम्लाको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थालाई चार वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना जोखिमका बीच ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अक्सिजन अभावको समस्या नहोस् भनेर अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष पद्मबहादुर लामा, स्वास्थ्य संयोजक दानबहादुर बोहरा र ध्रुव सिंहको पहलमा अक्सिजन कन्सनट्रेटरसहित रु नौ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
राष्ट्रिय आविष्कार केन्द्रबाट तीन र बौद्धिष्ट विहार बूढानीलकण्ठ काठमाडौँबाट एक गरी प्राप्त कूल चार वटा अक्सिजन कन्सन्ट्रेटर गाउँपालिकाभित्रका ठेहे, बरगाउँ, डाडाफयाँ र स्याडा स्वास्थ्यचौकीमा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दानबहादुर बोहराले जानकारी दिनुभयो । आवश्यकताको पहिचान गरी ती स्वास्थ्य सामग्री उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । रासस
यो पनि — वालिङका कृषकलाई भैँसी वितरण
स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकलाई भैँसी वितरण गरेको छ । नगरभित्रका वडा नं ९, १३ र १४ का ३३ कृषकलाई व्यावसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ६२ भैँसी वितरण गरेको हो ।
उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारीअन्तर्गत रु २६ लाख ४५ हजार र कृषकको ५० प्रतिशत लागत साझेदारीमा करिब रु ५३ लाख लागेको हो । भैँसीपालनका लागि सम्भावित ठाउँ तथा कृषकको मागका आधारमा तीन वडा छनोट गरी माउ भैँसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । परम्परागतरुपमा भैँसीपालन गर्दै आउनुभएका कृषकलाई आधुनिक तरिकाले उन्नत जातका भैँसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैँसी प्रवद्र्धन कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।
“परम्परागतरुपमा भैँसीपालन गर्दा फाइदा नहुने भएकाले व्यावसायिकतामा जोड दिँदै कृषकको आर्थिकस्तर सुधार्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “पशुपालनमा व्यावसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकमा थप व्यावसायिकतातर्फ ऊर्जा तथा उत्प्रेरणा थपिनेछ ।” नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैँसी खरिद गरेको पशु शाखाका प्रमुख डा वसन्तकुमार अधिकारीले बताउनुभयो । हाल तीन वडामा सञ्चालन भएको भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत केही कृषकले दुई र केही कृषकले एउटाका दरले भैँसी खरिद गरेका डा अधिकारीले जानकारी दिनुभयो । परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकलाई व्यावसायिकतामा जोड दिन नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार कार्य अगाडि बढाएको हो ।
“कृषकको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएका छौँ”, डा अधिकारीले भन्नुभयो, “यसका अलावा समयानुसार तालिम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरण सहयोग गरिएको छ ।” रासस
प्रतिक्रिया