प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । उहाँले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “राष्ट्रपतिको आह्वानअनुसार हामीले सरकार गठनका लागि बहुमत सदस्यको हस्ताक्षरसहित निवेदन दिएका थियौँ, सोहीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिन्थ्यो तर राष्ट्रपतिबाट त्यो भएन ।” संविधानसभाका तत्कालीन अध्यक्षले अदालतको फैसलाबाट दलको चुनाव चिह्न र टिकटबाट उम्मेदवार भई जितेका सांसदलाई ह्विप नलाग्ने अवस्था हुन्छ र भनी राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री देउवाले प्रतिप्रश्न गर्दै भन्नुभयो, “विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको हो, ह्विप लगाएको होइन ।” उहाँले ठूलो सङ्ख्याका सांसदको साथ पाएर प्रधानमन्त्री बनेकोमा उहाँहरुलाई धन्यवादसमेत दिनुभयो ।
यो पनि -प्रधानमन्त्री देउवालाई बधाई
काठमाडौँ, ८ साउन । जनता समाज पार्टी नेपाल (जसपा) का महेन्द्रप्रसाद यादवले प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकारलाई मुलुकमा शान्ति र स्थिरता कायम गर्न, कोरोनाविरुद्धको खोप व्यवस्थापन एवं सङ्घीयता कार्यान्वयनका लागि कानून बनाउने ठूलो कार्यभार रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवालाई प्रतिनिधिभसाको आजको बैठकमा बधाई तथा शुभकामना दिँदै उहाँले ‘‘अदालतको ऐतिहासिक फैसलाबाट आगामी राजनीति र लोकतन्त्रलाई स्थायीत्व प्रदान गर्दै अघि बढ्न सफलता मिल्ने छ भन्नुभएको थियो । ’’
सोही पार्टीका नेता अनिलकुमार झाले प्रधानमन्त्री देउवाले आफनो कार्यकालमा मधेसका मुद्दालाई सम्वोधन गर्न, विकास र समृद्धिका कार्यक्रमलाई अघि बढाउन सफलता मिलोस भनी शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ सरकारले सबै नागरिकलाई कोरानाविरुद्धको खोप व्यवस्थितरुपबाट अघि बढाउन ठोस पहल हुनेछ । देश र जनताका पक्षमा राम्रा कार्यक्रम अघि बढने छ ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङदेनले मुलुकले अनुभवी नेता प्रधानमन्त्री पाएकाले स–साना कामबाटै असल शुरुआत गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “जनताले एकै पटक ठूलो परिवर्तनको आशा यो सरकारबाट गरेका छैनन्, तर जति काम गर्नुहुन्छ, त्यो जनताले महसूस गर्ने खाले हुन् ।” राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले पटक पटक प्रतिनिधिसभा विघटन गरी अघि बढ्न खोज्ने प्रतिगमनकारी प्रयासलाई जितेर बनेको सरकारप्रति जनताको ठूलो आशा र भरोसा रहेकाले सुझबुझपूर्ण तरिकाले जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “असल र राम्रा कामतर्फ सरकारको ध्यान जाओस्, सरकारलाई सफलताको शुभ कामना छ ।” नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विशिष्ट व्यक्तिका नाममा राजसी ठाँट देखिएको प्रसङ्ग उल्लेख गर्दै असारे विकासे बजेट अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि वैज्ञानिकलाई अनुसन्धान गर्न प्रोत्साहन गर्नुपर्ने भन्दै राजनीतिक कार्यकर्तालाई अनुशासित तुल्याउन आवश्यक रहेको बताउनुभयो । रासस
प्रतिक्रिया