निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत : महासचिव पोखरेल

निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रै रहेर आफ्नै प्रधानमन्त्री र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलत कार्य हुने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ५ को धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले भन्नुभयो, “पार्टीभित्र अन्तरसङ्घर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत हो । गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन सक्दैन, एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो ।” उहाँले पार्टीभित्रको खराब आचारण भएका तत्वहरुलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो ।

बागमती प्रदेशसभा सदस्य नारायण सिलवालले पार्टी र स्वतन्त्र रुपमा बस्नु बेग्लै रहेको बताउँदै अनुशासनलाई प्राथमिकता दिएर पार्टी काममा लाग्न आग्रह गर्नुभयो । काठमाडौँ महानगरपालिका–४ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत विभिन्न पार्टीबाट आएका करिब ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कामनपा–४ का अध्यक्ष मोहनबहादुर विष्टले एमाले प्रवेश गर्ने युवाहरुलाई विकास निर्माण र समाज परिवर्तनमा लाग्न आग्रह गर्नुभयो ।

यो पनि – सबै क्षेत्र खुकुलो बनाउँदै २० गतेसम्म निषेधाज्ञा थप

सबै क्षेत्र खुकुलो बनाउँदै तनहुँमा साउन २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नवौ पटक निषेधाज्ञा थप गर्दै साउन २० गतेसम्म लम्ब्याएको हो । पछिल्लो पटक थपिएको निषेधाज्ञा साउन १० गतेसम्म कायम छ । छिमेकी जिल्लामा डेल्टा भेरियन्टको सङ्क्रमण देखिएको र तनहुँमा पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

निषेधाज्ञा थपिए पनि सबै क्षेत्र खुकुलो बनाइएको छ । यसअघि बिहान ०९ बजेदेखि ३ बजेसम्म खुल्दै आएका सबै सेवा र व्यवसाय बिहान ०५ बजेदेखि साँझ ४ बजेसम्म खोल्ने निर्णय भएको छ । साथै लामो तथा मध्यमदूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहान ०६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय बैठकले गरेको छ ।

स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजाघर बिहान ०५ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य र सुरक्षाको पर्याप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिने निर्णयसमेत भएको बरालले बताउनुभयो ।

सबै परीक्षा सञ्चालन

यस्तै कोरोना कहरले रोकिएका सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको छ । परीक्षा सञ्चालन गर्दा कम्तीमा दुई मिटरको दूरी कायम गरी ‘जेड’ आकारमा परीक्षार्थी राख्ने गरी सिट व्यवस्थापन गर्नुपर्ने छ । परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समयभन्दा एक घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु गराई लाइनमा हुनसक्ने भीड न्यूनीकरण गर्ने निर्णयसमेत बैठकले गरेको छ । कोभिड सङ्क्रमित परीक्षार्थीको सहजताका लागि प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन बिरामी सिआइसिटी परीक्षा फारम भर्न लगाई सङ्क्रमित फारम समितिलाई उपलब्ध गराउनुपर्नेछ ।

कोभिड–१९ सङ्क्रमित परीक्षार्थीको हकमा अरु सामान्य परीक्षार्थीको परीक्षा शुरु भएको ३० मिनेट पछि मात्र प्रवेश गराई अरुको परीक्षा सकिएको ३० मिनेटपछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने निर्णय भएको बरालले बताउनुभयो । “त्यस्ता परीक्षार्थीलाई बेग्लै कोठा तथा बेग्लै शौचालयको व्यवस्थापन गर्ने र सङ्क्रमित परीक्षार्थीले प्रयोग गरेको सामग्री स्वास्थ्य कार्यालयको समन्वयमा सावधानीका साथ सङ्कलनको व्यवस्था मिलाउनेछ,” उहाँले भन्नुभयो । रासस