नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ कार्यक्रमका सहभागीले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिनुभएको हो ।
नेकपा ९एमाले०का वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई सिङ्गो कम्युनिष्ट पार्टीमा एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याउनुभयोे । उहाँले कम्युनिष्ट पार्टीबीच एकता भएमात्र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिने धारणा राख्नुभयो । “सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन नसके पनि कार्यगत एकता गरौँ” उहाँले भन्नुभयो, “एकता नभए पनि जनता र राष्ट्रका साझा विषयमा एकताबद्ध भएर मिलेर जान सकिन्छ ।”
पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेता नेपालले लोकतन्त्र, सुशासन, विकास निर्माण, जनताका पीरमर्कामा सबै कम्युनिष्ट पार्टीबीच मिलेर जान सकिने अवस्था रहेको भनाइ राख्नुभयो । कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का स्थायी कमिटी सदस्य गणेश साहले कम्युनिष्ट पार्टीबीच एकता गर्न नसके पनि कार्यगत एकता गर्नुपर्ने बताउनुभयो । उहाँले पुष्पलाल श्रेष्ठ हुँदा नेपालमा एउटै कम्युनिष्ट पार्टी भएको भन्दै साँचो अर्थमा पुष्पलाललाई आदर गर्ने हो भने एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताउनुभयो ।
नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्यले विचार र सिद्धान्तभन्दा व्यक्तिगत कारणले कम्युनिष्टबीच बेमेल भएको बताउनुभयो । उहाँले अहिले छरिएर रहेका कम्युनिष्टबीच एकता गर्नसके पुष्पलाल प्रति सम्मान हुने उल्लेख गर्नुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कम्युनिष्ट प्रति विश्वास गरे पनि कम्युनिष्टले त्यसलाई सही सदुपयोग गर्न नसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पटकपटक सरकारमा पुगे पनि जनताको अवस्था फेर्न नसकेको बताउनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनका कमीकमजोरीबारे छलफल गर्नुपर्ने बताउनुभयो । नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्टभित्र रहेका समस्याबारे छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एकढिक्का बनाउन सकिने धारणा राख्नुभयो । रासस
यो पनि – राष्ट्रियसभाको बैठक किसानका मुद्दा र कोरोना खोपमा केन्द्रित
राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिनुभयो ।
नेपाली कांग्रेसका प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्षित गर्न, मजदूर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानविन गर्न माग गर्नुभयो । नेकपा (एमाले) का खिमलाल भट्टराईले मुलुकको राजनीतिक परिवर्तनका अग्रणी बिपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो की भन्ने आशङ्का बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अदालतको फैसलाबाट सरकार गठन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य छ, केपी ओलीको विरोध गरेर यो सरकारले सुख पाउँछ ?” उहाँले संसद्मा एमालेले रचनात्मक भूमिका खेल्ने सुनाउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माले परमादेश र जनादेशको बहस मात्र केन्द्रित नहुन सबैमा आग्रह गर्नुभयो । उहाँले ओली सरकार आफ्नै कारणले ढलेको स्पष्ट पार्नुभयो । “देउवा सरकारले कसरी विश्वासको मत प्राप्त ग¥यो भन्ने कुरा एमालेले बुझ्नु जरुरी छ”, सांसद शर्माले भन्नुभयो ।
यस्तै नेकपा एमालेका भगवती न्यौपानेले एमालेले न्यायालयको फैसलाको सम्मान गरेपनि सो फैसलाप्रति असहमति रहेको उल्लेख गर्नुभयो । “अदालतको फैसला निर्दलीयताको पक्षमा छ, सिधै प्रधानमन्त्री तोक्नु गलत हो, यसमा तार्किक ढङ्गले बहस गरिनुपर्छ”, सांसद न्यौपानेले भन्नुभयो । यसैगरी नेकपा एमालेका रामचन्द्र राईले प्रधानमन्त्री देउवाले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताउनुभयो । ओली सरकारले पहल गरेको खोपको सुनिश्चितता गर्दै सबैलाई खोप उपलब्ध गराउन उहाँले माग गर्नुभयो ।
यस्तै नेकपा (एमाले) का सांसद शेरबहादुर कुँवरले रोजगारका लागि दक्षिण कोरिया जान खोजेका युवा अलपत्र परेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । “यो विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो । विदेशबाट फर्किएका युवालाई वैकल्पिक रोजगारको व्यवस्था गर्न सांसद कुँवरले सरकारसँग माग गर्नुभयो ।यस्तै नेकपा माओवादी केन्द्रका सांसद विना पोखरेलले कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभयो । यसैगरी नेकपा एमालेका सांसद दिलकुमारी थापा रावलले सर्वाेच्चको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सो फैसलाले अराजकता फैलाउने आशङ्का छ भन्नुभयो । कोरोना सङ्क्रमण बढिरहेका अवस्थामा सरकारको त्यसतर्फ ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । “ज्येष्ठ नागरिकलाई सहजै खोपको व्यवस्था गर्नुपर्छ”, सांसद रावलले भन्नुभयो ।
यस्तै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताउनुभयो । उहाँले ओलीले आफूले गरेको गल्तीको आत्मआलोचना गर्नुपर्नेमा जोड दिनुभयो । सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद देवको भनाइ थियो । रासस
प्रतिक्रिया