नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम

नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ९ साउन । पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा रु. छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बङ्गलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बताउनुभयो । उहाँका अनुसार आव २०७६÷०७७ मा रु ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा रु चार अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । व्यापार घाटा रु तीन अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्याङ्कले देखाएको छ । आव २०७१÷०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बङ्गलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको उहाँको भनाइ छ ।

नेपालबाट बङ्गलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बङ्गलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।

मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्याङ्की–फूलबारीबाट बङ्गलादेशको बङ्गलाबन्धबाट व्यापार हुँदै आएको छ । भारतले फूलबारी–बङ्गलाबन्ध नाका नेपाल–बङ्गलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बङ्गलादेश रहेको छ । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले नेपालका कृषिजन्य वस्तुमा बङ्गलादेशले बढी लगाएको करको विषयमा नेपाल सरकारले नै पहल गरेर घटाउनुपर्ने बताउनुहुन्छ । रासस

यो पनि – पोखरा–नेपालगञ्ज सिधा उडान

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ ।  काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो । शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने योजना बनाएको छ ।

पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लभान्वित हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताउनुभयो । उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ । नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृङ्खलाको आनन्द लिन सक्छन् । यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ । बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ ।

कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले सङ्क्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जनाएको छ । पछिल्ला दिनमा हवाई यात्रुको सङ्ख्या पनि क्रमशः बढिरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन् । रासस

यो पनि – सवारी धनीबाट राजस्व भुक्तानी अनलाइन सेवाको शुभारम्भ

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित प्रदेशमा सवारी साधनको राजस्व अनलाइन भुक्तानी गर्ने सूचना प्रणालीको उद्घाटन गर्नुभयो ।  उहाँले हेटौँडा निवासी सवारी धनी चिन्तामणि फुयाँलले राजस्वबापत रु पाँच हजार अनलाइनमार्फत भुक्तानी गर्ने प्रविधिलाई क्लिक गरी शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नो कार्य सम्पादनमा पारदर्शी ल्याई जनतालाई आर्थिक समृद्धितर्फ जोड्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

उहाँले प्रदेशका करिब २० लाख सवारी धनीलाई कम समयभित्र झण्झट व्यहोर्न नपर्ने गरी अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने प्रविधिलाई शुभारम्भ गर्न पाएकामा प्रशन्नता व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले सङ्घीय राजधानी काठमाडौँलाई अब आर्थिक क्रान्तिका रुपमा जोड्ने कार्यमा भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र केही हप्ताभित्रै निर्माणका लागि अन्तरराष्ट्रिय बोलपत्रको स्वीकृति प्रदान गरिने उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले इन्धनको प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रथम चरणमा काठमाडौँ उपत्यकालगायत सात स्थानमा विद्युत् बस खरिद गरी सञ्चालन गर्ने निधो गरिसकिएको र आगामी जेठ मसान्तसम्ममा विद्युतीय बस सञ्चालन गर्ने मन्त्रिपरिषद्को अठोट रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको प्रमुख स्रोतका रुपमा रहेको यातायात राजस्वलाई असुलीमा थप तीव्रता ल्याई गत आर्थिक वर्ष २०७७÷७८ मा रु नौ अर्बभन्दा बढी अर्थात् चालू आवमा करिब रु २० अर्ब राजस्व असुली गर्ने लक्ष्य रहेको र सो लक्ष्यलाई सार्थकता तुल्याउन सवारीसाधन दर्ता प्रक्रियालाई नयाँ प्रविधिबाट शुरुआत गरिएकामा प्रदेश सरकारको थप उपलब्धि भएको जानकारी गराउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री कैलासप्रसाद ढुङ्गेलले सरकारले प्रदेशका सबै यातायात व्यवसायी र सवारी धनीलाई राजस्व तिर्ने प्रक्रियालाई अब आफ्नो घरबाट अनलाइनबाट तिर्न सकिने भएका कारणबाट राजस्व थप असुलीको प्रतिशतमा वृद्धि हुने उल्लेख गर्दै व्यवसायीले पनि समयभित्र यातायात व्यवस्थापन कार्यालयमा सहजीकरण गरेर जरिवानाबाट मुक्त हुने प्रयास गर्नुपने बताउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा आफ्नो घरमै बसेर सवारी साधनको राजस्व अनलाइनमार्फत तिर्ने र सवारी दर्ता प्रक्रियालाई सहजीकरण गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।प्रदेशका मुख्य सचिव डा मुकुन्दप्रसाद पौड्यालले प्रदेश सरकारले अब यातायात क्षेत्रको व्यवसायीलाई नयाँ मार्गदर्शनका साथ सञ्चालनमा ल्याउन अनलाइन सेवामार्फत राजस्व भुक्तानी र सूचना प्रणालीलाई शुभारम्भ गरिएको उल्लेख गर्दै व्यवसायीलाई पनि आआफ्नो व्यवसाय सञ्चालन गर्न सरकारले सेवासुविधा उपलब्ध गराउनेतर्फ छिट्टै पहल गरिने बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल र उक्त मन्त्रालयका महाशाखा प्रमुख नवीनकुमार सिंहले यातायात क्षेलाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउनाका साथै अनलाइन सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सेवाग्राहीमैत्री बनाउने सरकारको नीतिअनुरुप सवारी साधनको राजस्व भुक्तानी अनलाइनमार्फत तिर्न ‘विद्युतीय माध्ययमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजश्व भुक्तानी नियमावली २०७८’ लाई कार्यान्वयनमा ल्याइने बताउनुभयो । रासस