सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारले पाए पक्की भवन

सिरहा र सप्तरीका पाँच हजार दलित विपन्न परिवारले पाए पक्की भवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करीब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३७७ र सप्तरीका दुई हजार ५८६ गरी दुवै जिल्लाका चार हजार ९६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् ।

फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन् । सङ्घीय सरकारको बजेटबाट गत आर्थिक वर्ष २०७६/०७७ मा मात्र सिरहाका २०० र सप्तरीका २८५ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिनुभयो ।

प्रमुख झाका अनुसार सिरहामा ३१५ आवास भवन बनाउने योजना रहेकोमा २०० भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको र ११५ भवन निर्माणाधीन अवस्थामा छ भने सप्तरीमा ५०३ आवास भवन निर्माण गर्नुपर्नेमा २८५ भवन निर्माण सम्पन्न भइसकेको र बाँकी २१८ भवन निर्माणाधीन अवस्थामा छ ।  बजेट अभावका कारण आर्थिक वर्ष ०७७/०७८ मा सिरहाको औरही गाउँपालिकामा ५०० आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन । सिरहाको औरही–१ देखि ५ सम्ममा ५०० घर आवास भवन बनाउन सम्झौता भएर निर्माण कार्य शुरु भएको र त्यसबाहेक सिरहा र सप्तरीमा कुनै आवास भवन बनाउने योजना नआएको प्रमुख झाको कथन छ ।

बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५०० का दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताउनुभयो । अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६/०६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ । आव ०७३÷०७४ सम्म जनता आवास कार्यक्रम सङ्घीय सरकारले सञ्चालन गर्दै आएकामा आर्थिक वर्ष ०७४/०७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । रासस

यो पनि – मुख्यमन्त्री रोजगार कार्यक्रम : सीपसँगै स्वरोजगार

लुम्बिनी ग्रामीण रोजगार कार्यक्रमले नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा गत आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालित छ । सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरुप यो कार्यक्रम सञ्चालित रहेको कार्यक्रमका विज्ञ सदस्य विनोद शर्माले बताउनुभयो ।

“हामीले रोजगारी सिर्जना गर्न शुरुमा तालीम प्रदान गर्छौं”, उहाँले भन्नुभयो “तालीमपश्चात् हामीले आवश्यक सामग्री पनि प्रदान गर्छौं ।” यसरी सामग्री प्रदान गर्दा व्यावसायिकरुपमा अघि बढ्न प्रेरणा मिल्ने गरेको तालीममा सहभागीको भनाइ छ । “हामीले सीप मात्रै सिकेनौँ, सीप सिकेपछि सामग्री पनि पायौँ”, तुलसीपुर–१२ निवासी नेत्राकुमारी ओलीले भन्नुभयो, “अहिले हामीलाई काम गर्न निकै सजिलो भएको छ ।” उहाँले च्याउखेती तालीम पाउनु भएको थियो । त्यस्तै च्याउ खेती तालीम लिएकी लक्ष्मी घर्तीले सामग्री पाएपछि खुशी भएको बताउनुभयो । उहाँलाई पराल काट्ने मेसिनदेखि लिएर च्याउका लागि आवश्यकपर्ने सामग्री प्रदान गरिएको हो ।

तुलसीपुर– १६ का युवा खगेन्द्र डाँगीले कलमी बिरुवा उत्पादन गर्ने तालीम लिने अवसर प्रदान गर्नुभयो । त्यो तालीममा व्यावहारिकभन्दा पनि बढी सैद्धान्तिक ज्ञान प्रदान गरिएकाले कृषिखेतीमा थप उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । “अब कृषिखेतीमा युवा सक्रिय हुनुपर्छ, यसरी हामीले ठूलो क्षेत्रफलमा लगाएको कागती खेती देख्दा निकै खुशी भएका छौँ, अझ हामीले यही आएर कागतीका बेर्ना उत्पादन गर्न सिक्यौँ”, उहाँले भन्नुभयो, “यसले हामीलाई हौसला प्रदान गरेको छ ।”

त्यस्तै अर्का युवा झक्कुप्रसाद जैसी पनि निकै खुशी देखिनु हुन्छ । कागती उत्पादनको ठूलो क्षेत्रमा आएर कलमी बिरुवा उत्पादन गर्न पाउँदा खुशी भएको उहाँले बताउनुभयो । तुलसीपुर– १३ मा कुटानी पिसानीको मिल थिएन । त्यहाँका नागरिकलाई रोजगारी पनि हुने र कुटानी पिसानीका लागि पनि सहज होस्, भनि कुटानी पिसानी मिल उपलब्ध गराइएको छ । यसले आफूहरुलाई स्वरोजगार बनाएको स्थानीयवासी गोविन्द नेपालीले बताउनुभयो ।

यति मात्रै होइन, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमले मोटरसाइकल मर्मत तालीम प्रदान गरेर मर्मतका लागि आवश्यक सामग्री प्रदान गरेको थियो । त्यस्तै कपाल काट्ने तालीम, पलम्बिङ, दूधका परिकार बनाउने, टनेल निर्माण तालीम, बाँसका सामग्री बनाउने तालीम, व्युटीपार्लर तालीम, चप्पल निर्माणलगायतका जीवन उपयोगी तालीम प्रदान गरिएको थियो । सामाजिक, आर्थिक तथा शैक्षिकरुपमा पछि परेका वर्गलाई रोजगारमा जोड्नका लागि यस्तो खालका कार्यक्रम सञ्चालन गरिएको विज्ञ सदस्य शर्माले बताउनुभयो । साथै शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिलाई पनि उक्त तालीम प्रदान गरिएको हो ।

उहाँले सीप सिकेर मात्रै नहुने भएकाले व्यावहारिक प्रयोग आवश्यक रहने हुँदा तालीमपश्चात् यसरी सामग्री वितरण गर्दा सीपको सदुपयोग हुने बताउनुभयो । “अहिले धेरैको सीप सिक्ने तर, व्यवहारमा नउतार्ने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “यसरी सीप प्रदानपछि सामग्री वितरण गर्दा उहाँहरुले आफैँ पनि सीपलाई प्रयोग गर्नुहुन्छ, यसले सकारात्मक प्रभाव पार्छ ।” रासस