काठमाडौँ, ९ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा आजदेखि पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभयो ।
उहाँले शुक्रराज अस्पतालमा खोप कार्ड प्रमाणीकरणका लागि भीड भएकाले थप तीन अस्पतालबाट पनि प्रमाणीकरण आजैदेखि गरिएको जानकारी दिनुभयो । थप तीन अस्पतालबाट खोप प्रमाणीकरण गर्न थालेपछि शुक्रराज अस्पतालमा भीड कम भएको छ । यसअघि शुक्रराज अस्पतालबाट मात्र खोप प्रमाणीकरण हुने भएपछि विदेश जानेको भीड रहेको थियो । खोप लगाइसकेपछि वैदेशिक रोजगारमा जाने र विदेशमा अध्ययन भ्रमणमा जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् । उहाँले चाँडै नै अनलाइनबाट खोप कार्ड प्रमाणीकरण गर्र्ने तयारीसमेत गरिएको जानकारी दिनुभयो । रासस
यो पनि –रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात
नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो ।
रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८/७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई वटा ठूलो क्रेन आयात भएको हो । भन्सार हातामा प्रवेश भएका दुईवटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ । चिनियाँ मोडेलको उक्त मेसिन प्रतिवटा ९० हजार अमेरिकी डलर बराबर हुन आउने रकम भन्सार मूल्य कायम भएको सूचना अधिकारी चौधरीले बताउनुभयो ।
नेपालको उत्तरी नाका रसुवागढीबाट आयात भएको जुम क्रेन । रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान जलविद्युत निर्माणका लागि यो क्रेन प्रयोग गरिने छ भने यसको मूल्य करीब ९० हजार यूएस डलर पर्छ । तस्वीरः ज्ञानेन्द्र न्यौपाने, रासस
रसुवागढी नाका सञ्चालन भएयता यस्ताखाले मेसिन सीमाक्षेत्रको लेहेन्दे खोला मितेरी पुलबाट पहिलो पटक नेपाल भित्रिएको भन्सार कर्मचारीले बताएका छन् । यस्तै धेरै वर्ष प्रक्रियागत रूपमै अलमल परिरहेको रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणको आयात एवं प्राविधिक तथा कामदार बस्ने पूर्वाधार निर्माणले विद्युत् उत्पादनका लागि छिट्टै सुरुङ मार्गको काम अगाडि बढ्नेमा आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् ।
रु ५० अर्बभन्दा बढीको लागतमा निर्माण हुने उक्त आयोजनामा कोरियाको लगानी रहेको र सुरुङलगायत पूर्वाधार निर्माणका लागि चाइना पावर नामक चिनियाँ कम्पनीले जिम्मा पाएको आयोजनाका प्राविधिकले बताएका छन् । निर्माण कार्यका लागि आवश्यक पर्ने उपकरण तथा औजार चीनबाट आयात भइरहेको र धुञ्चे पुछारको ड्याम साइट, हाकुबेँसी, मैलुङ दोभानका तीन स्थानमा आवासका साथै काम गर्ने स्थलमा जाने सहजताका लागि मैलुङ नजिक त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।
बाहिरी सतहको पूर्वाधार निर्माण सम्पन्न हुन लागेकाले आगामी अक्टोबरको पहिलो हप्ताबाट सुरुङको काम अगाडि बढाउने कार्य तालिका रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले जनाएको छ ।
प्रतिक्रिया