काठमाडौँ, ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताउनुुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उहाँले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति अहिले जबर्जस्त रूपमा विकास भएको उहाँको भनाइ छ । नेकपाका संस्थापक कर्माचार्य कहिल्यै पनि पदका पछाडि नलागेको सन्दर्भ कोट्याउँदै उहाँले कम्युनिष्ट नेता कार्यकर्ताले कर्माचार्यको जस्तै आचरण देखाउन सक्नुपर्ने बताउनुुभयो ।
पद र शक्तिका लागि नेता कार्यकर्ताको होडबाजी चल्ने गरेको उल्लेख गर्दै उहाँले त्यसले कम्युनिष्ट आन्दोलनलाई नै क्षति पुुग्ने सुनाउनुुभयो । “अहिले मलाई यति सकस परेका छ, माओवादीका ४९ सांसदलाई मन्त्री पद चाहिएको छ”, उहाँले भन्नुुभयो, “हामीले धेरै पायाँै भने सात मन्त्रालय पाउने अवस्था हो, मन्त्री बनाउन चौतर्फी दबाब छ, त्यसकारण म तनावमा छु ।” उहाँले मुलुकलाई असफल बनाउने प्रयासविरुद्ध एक भएर लडेको गठबन्धलाई कमजोर बनाउन प्रयास भइरहेको बताउनुुभयो । पद पाए सो अवसरमा अध्यक्ष दाहालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई कुनै लापरबाही गर्ने छुट नभएको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेर जनपक्षीय काम गर्न पनि निर्देशन दिनुुभयो । रासस
यो पनि – मनाङको अनुगमनमा पुगे सेनाको प्राविधिक टोली
गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको हिमाली जिल्ला मनाङको सडक सञ्जाल पूर्णरूपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको मनाङको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानसमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै मनाङका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरूपमा बाढीपहिरोले बगाएको छ ।
त्यस्ता स्थानमा नयाँ ट्र्याक निर्माण गर्न मिल्ने नमिल्नेबारे जानकारी लिन तथा सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सैनिक प्राविधिकको टोलीसहित मनाङ पुग्नुभएको छ । पूर्वमन्त्री गुरुङ नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधिक टोली, गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का र समाजसेवी खामसुङ गुरुङ नेपाली सेनाको हेलिकप्टरमार्फत अध्ययन तथा अवलोकनका लागि पुग्नुभएको हो ।
गुरुङले सदरमुकाम चामेमा मस्र्याङ्दी नदीले क्षति पु¥याएको मोटरेबल पुल, झोलुङ्गे पुल तथा नदी कटान गरेको लोकप्रिय माध्यमिक विद्यालयको निरीक्षण गर्नुभएको छ । साथै मोटरेबल पुल र विद्यालय भवनको संरक्षणका विषयमा प्राविधिकसँग छलफलसमेत गर्नुभएको छ । सदरमुकाम चामेको एक मात्र सामुदायिक आवासीय लोकप्रिय माध्यमिक विद्यालयको संरक्षणमा विशेष चासोको विषय बनेको छ ।
प्राविधिकसहितको टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको स्थानीयवासी थुदेन लामाले जानकारी दिनुभयो । साथै टोलीले विभिन्न समयमा आएको बाढीपहिरोले अवरुद्ध रहेको बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।
प्राविधिक टोलीको नेतृत्व गर्नुभएका नेपाली सेनाका मिलिटेरी इञ्जिनीयर सेवाका प्रमुख महासेनानी गुरुङकै टोलीले बेँसीशहर–चामे सडकको नयाँ ट्र्याक खोल्ने कार्य गर्नेसमेत प्रजिअ लामिछानेले बताउनुभयो । “लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्र्याक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माण गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ”, उहाँले भन्नुभयो ।
माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेँसीशहर–चामे सडकखण्डको नयाँ ट्र्याक खोल्न खटिने जनाइएको छ । नयाँ ट्र्याक खोल्न सकिएमा छिट्टै मनाङवासीले सहजरूपमा सडक सञ्जालमार्फत आवतजावत गर्न पाउने छन् । रासस
प्रतिक्रिया