सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

सीमा समस्या कूटनीतिक तरिकाबाट समाधान गरिनुपर्छ : मुख्यमन्त्री भट्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताउनुभएको छ । बेलौरी नगरपालिकामा आज आयोजित छलफल कार्यक्रममा उहाँले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनुभयो । “अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन”, उहाँले भन्नुभयो, “समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको छ ।” सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्नुहँुदै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको बताउनुभयो । बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उहाँले बताउनुभयो  यसैबीच, आजै कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“सरकारी विद्यालय खोल्न जति जोड गर्दछौँ । विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन”, उहाँले भन्नुभयो, “त्यसको समीक्षा हुनु जरुरी छ ।” सरकारको विद्यालयमा लगानी धेरै छ, लगानीअनुरुपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । “म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेका छन् । आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ यसको खोजी गरिनुपर्छ ।”

मुख्यमन्त्री भट्टले घरपछिको शिक्षा दिने ठाउँ विद्यालय रहेको चर्चा गर्नुहँुदै विद्यार्थीमा नैतिकताको पाठ सिकाइनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले नयाँ नीति ल्याउन लागेको जानकारी पनि उहाँले दिनुभयो । सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य र खेलकूदलगायतका क्षेत्रमा देखिने गरी प्रगति भइरहेको बताउनुभयो । मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री खड्का तथा प्रदेशसभा सदस्यद्वय महेशदत्त जोशी र कुलवीर चौधरीसहितको टोलीले आज बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल–बुडर सडकखण्ड र दैजी–लिप्ना सडकखण्डको स्थलगत अवलोकन गरेको छ ।रासस

यो पनि – संविधानको रक्षा, कानूनको पालनामा जोड दिन्छौँ : महास

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताउनुभयो ।

उहाँले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राख्नुभयो । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो युथफोर्सले त्यसविरुद्धमा खबरदारी गर्नेछ”, उहाँले भन्नुभयो । हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्ने उहाँको भनाइ छ ।

युथफोर्स कानून र राज्यको संरचनालाई तोडमोड र जनताका जनादेशलाई लत्याउन खोजिए त्यो सह्य नभएको बताउनुभयो । उहाँले एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्स रहेको भन्दै कहीँकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथफोर्सले गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका कुरा, जनतालाई उत्पादन काममा सहयोग र रोजगारीका पक्षमा अभियान चलाउनु पर्दछ ।”

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको बताउनुभयो । “सरकारका राम्रो काममा हामी सहकार्य गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “पूरक बजेट ल्याउने, संविधान संशोधन गरेर मन्त्रिमण्डलको सङ्ख्या थप्नेजस्ता कुरा स्वीकार्य छैन ।” उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले पार्टी फुटाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।