झापाका कृषकलाई दुई करोड रकम अनुदान

झापाका कृषकलाई दुई करोड रकम अनुदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका कृषकलाई करिब रु दुई करोड अनुदान उपलब्ध गराएको छ । केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई रु एक करोड ९९ लाख ५४ हजार ९०० अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिनुभयो ।

मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच पालिकाका किसानलाई रु दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फार्मलाई रु २१ लाख २३ हजार ३००, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार पालिकाका पाँच फार्मलाई रु नौ लाख एक हजार १०० अनुदान उपलब्ध गराइएको छ । त्यस्तै बीउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन पालिकाका चार फार्मलाई रु तीन लाख ९६ हजार ८००, बगरखेती प्रवद्र्धनका लागि छ पालिकाका १० फार्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत छ पालिकाका फार्मलाई रु छ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ पालिकाका १० फार्मलाई रु १० लाख अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताउनुभयो ।

कृषि हाटबजार तथा सङ्कलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई रु ४० लाख अनुदान उपलब्ध गराइएको छ । गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई रु १०÷१० लाखका दरले दिइएको कार्यालयले जनाएको छ ।

रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई रु एक लाख दिइएको छ । नमूना कृषि फार्म स्थापनाका लागि आठ पालिकाका १० फार्मलाई रु २६ लाख ६९ लाख ३०० र कृषि यान्त्रिकीकरण, औजार खरिदका लागि ८२ व्यक्ति÷समूहलाई रु ७० लाख १३ हजार ४०० अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । कार्यालयले न्यूनतम रु १८ हजार ७०० देखि अधिकतम रु एक लाख २७ हजार ७०० अनुदान दिइएको बताएको छ । रासस

यो पनि – बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा रु एक अनुदान दिने व्यवस्था गरेको हो । गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो । उक्त सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान दिँदा कूल रु एक लाख ६२ हजार वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन ग¥यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उहाँले बताउनुभयो । गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ । उक्त सहकारीमा आबद्ध किसानलाई रु एकका दरले १०० किसानलाई अनुदान दिँदा रु नौ लाख ५२ हजार वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिनुभयो ।

“उक्त सहकारीलाई छिट्टै रकम वितरण गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “दूधमा रु पाँच हजारदेखि बढीमा ३६ हजारसम्म अनुदान पाउने किसान रहेका छन् ।” गाउँपालिकाले दूध र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई विशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । दुग्ध उत्पादक किसानलाई मात्रै कूल रु ११ लाख १२ हजार अनुदान वितरण गरिने उहाँले बताउनुभयो । रासस

यो पनि – फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयवासी असन्तुष्ट

फुकोट कर्णाली जलविद्युत् आयोजनामा प्रभावित क्षेत्रका स्थानीयवासीले मुआब्जा निर्धारणमा असन्तुष्टि जनाएका छन् । जिल्लाको दरभन्दा प्रभावित क्षेत्रका जग्गा धनीहरुले मुआब्जा कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् । जिल्ला दररेट निर्धारण समितिले हचुवाका भरमा निर्णय गरेको रास्कोट–८ का अनन्त बरालले बताउनुभयो । “ग्रामीण सडक आसपासका जग्गा प्रतिवर्गमिटर रु तीन हजार ६०० देखि पाँच हजार ७०० कायम गरिएको छ”, उहाँले भन्नुभयो, “कर्णाली करिडोर आसपास प्रतिवर्गमिटर रु एक हजार ५० तोकिएको छ ।”

मुआब्जा निर्धारण गर्दा ग्रामीण सडक र कर्णाली करिडोर क्षेत्रको जग्गा कसरी फरक मूल्य निर्धारण गरियो यसमा सच्याउने आशा गरेको बरालको भनाइ थियो । “पुनः मूल्याङ्कन गर्नका लागि हामीले जिल्ला दररेट निर्धारण समितिलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “यो पूर्णरूपमा सच्चिने आशा गरेका छौँ ।” कर्णाली नदीको पानीलाई टनेलमार्फत सान्नीत्रिवेणी–३ सिस्नेगडामा बाँध बनाएर सुरुङमार्फत भौरेकुनामा झार्ने आयोजनाको योजना छ । आयोजनाले रास्कोट, सान्नीत्रिवेणी र पचालझरनाको एक हजार २९४ कित्ता जग्गा अधिग्रहण गर्न लागेको हो ।

जिल्ला दररेट समितिले निर्धारण गरेको मुआब्जाका दिन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयवासी र सरोकारवाला निकायको समन्वयमा जग्गाको मुआब्जा निर्धारण गरिएको आयोजना प्रमुख हीरामान वाइवाले बताउनुभयो । “प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गाको मूल्य निर्धारण गरिएको हो”, उहाँले भन्नुभयो, “यसमा कसैलाई अन्याय गरिएको छैन ।”

जग्गाको मुआब्जाका लागि यस वर्ष रु ३६ करोड बजेट छुट्याइएको र नपुग बजेट पुनः माग गरी वितरण गरिने आयोजना प्रमुख वाइवाले बताउनुभयो । झण्डै रु एक खर्ब लागत अनुमान गरिएको आयोजनाले साढे एक किमी लामो र ११ मिटर व्यासको डाइभर्सन टनेलमार्फत कर्णाली नदीको पानी फर्काएर मुख्य बाँध निर्माण गर्नेछ । त्यसका लागि रास्कोटको शान्तिघाट, नडी, भात्तडी, पचाल झरनाको भुराबगर, घाटज्युला, शान्नित्रिवेणीको कोट, रेगिङ्ल र जाइकोटको जग्गा अधिग्रहण गरिनेछ आयोजना जनाएको छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनाका लागि ४९ प्रतिशत स्थानीय जनताको र ५१ प्रतिशत नेपाल सरकारको लगानी रहने आयोजना प्रमुख वाइवाले जानकारी दिनुभयो । त्यसमध्ये आयोजना क्षेत्रका बासिन्दालाई १० प्रतिशत शेयर दिने र प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारी दिने आयोजनाको उद्देश्य रहेको उहाँको भनाइ छ ।

जिल्लामा बन्न लागेको आयोजनाका विषयमा कसैले विवाद गर्न आवश्यक नरहेको भन्दै जिल्ला मालपोत कार्यालय कालिकोटका प्रमुख नेत्रबहादुर शाहीले खेती उत्पादन हुने जग्गा, बाँझो जग्गा, पाखो जग्गा गरेर मुआब्जाको मूल्य निर्धारण गरिएको बताउनुभयो । “जिल्लामा बन्न लागेको आयोजनाको कसैले विवाद गर्न जरुरी छैन”, उहाँले भन्नुभयो, “जिल्लाको दररेट जग्गाको मूल्याङ्कन गरेर नै मुआब्जाका लागि जग्गाको मूल्य तोकिएको हो ।” रासस