बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ ।अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहँुदै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नुभएको थियो ।

“बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।”

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताउनुभयो । “एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै”, उहाँले भन्नुभयो, “न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगत्ले ठूलो सहयोग जरुरी छ ।”

उहाँले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्र्दै लैजानुपर्नेमा जोड दिनुभयो । सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । रासस

यो पनि – नेपालकै लामो झोलुङ्गे पुलमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको बागलुङ नगरपालिकाले उक्त पुल विश्वकै लामो भएको दाबी गर्दै गिनिजबुकमा नाम लेखाउन निवेदनसमेत दिइसकेको छ । गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर नजिकै २५ रोपनी क्षेत्रफलमा फैलिएको सुन्दर शहीद उद्यानभित्रबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने पुलमा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ । कोरोनाको पहिलो लहरपछि सर्वसाधारणका लागि खुला गरिएको उक्त पुल दोस्रो लहरमा बन्द थियो ।

अत्यावश्यक कामबाहेक पर्यटकका लागि बन्द गरिएको पुल निषेधाज्ञा खुकुलो भएसँगै पर्यटकको चहलपहल पुनः बढ्न थालको छ । निषेधाज्ञाले घर र कार्यालयमा मात्रै सीमित बागलुङ बजारका अमिट कार्की एक हप्तादेखि साँझपख लामो पुलमा घुम्न आउने गरेको बताउनुहुन्छ । अहिले बागलुङ बजारवासी पुल तरेर पर्वतको कुश्मा–१ अदुवाबारीमा घुम्न जाने, रेष्टुराँमा खाजा खाने र कालीगण्डकी किनारामा रमाउने गर्न थालेका हुन् । अदुवाबारीमा रहेका आधा दर्जन रेष्टुराँ तथा पसल पर्यटकले भरिभराउ हुने गरेका छन् । कोरोना जोखिम कायमै रहेको हुँदा पुलमा बागलुङ र पर्वत बाहिरका पर्यटक भने खासै आउने गरेका छैनन् ।

कोरोनाका कारण घरभित्रै सीमित रहेका बागलुङ र पर्वतवासी निषेधाज्ञा खुकुलो भएसँगै पुलमा घुम्न आउन थालेपछि सुरक्षाका लागि प्रहरीसमेत तैनाथ गरिएको छ । गर्मी मौसममा साँझपख कालीगण्डकी नदीमाथिको पुलमा चिसो हावा खान आउने गरेको आन्तरिक पर्यटक सुमन सुवेदीले बताउनुभयो । पुल निर्माण गर्दा अस्तव्यस्त बनेको शहीद उद्यान बागलुङ नगरपालिका र वन विभागको साझेदारीमा सौन्दर्य अभिवृद्धि गरेपछि उद्यानमा समेत पर्यटक बढ्न थालेका छन् ।साविक धवलागिरि अञ्चलकै ठूलो जनघनत्व भएको बागलुङ बजार नजिकै शहीद उद्यान र लामो पुल भएकाले पर्यटकहरुको भीड नै लाग्ने गरेको छ । नियमितरूपमा प्रातः तथा सायमकालीन पैदल भ्रमण गर्नेले समेत पुल र उद्यान भरिन थालेको छ ।

रु ४० लाखमा गत असारमा उद्यानलाई थप सुन्दर बनाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “पुल निर्माण गर्दा उद्यानमा क्षति पुगेकाले आलोचनासमेत खेप्नुपरेको स्मरण गर्दै हामीले पुल निर्माण भएपछि उद्यानलाई पुनः व्यवस्थित गरेका छौँ”, नगरप्रमुख पौडेलले भन्नुभयो, “हराभरा उद्यानको बीचमा लामो झोलुङ्गे पुल भएकाले पर्यटकीय दृष्टिले निकै आकर्षक भएकाले थप पूर्वाधारसमेत बनाउँदै लैजाने छौँ ।” अहिले नगरपालिकाले उद्यानमा एक जना हेरालुसमेत राखेको छ । पुलमा दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक पुग्ने गरेका छन् । रासस