अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीबीच छलफल

अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीबीच छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौती र त्यसको समाधानका लागि चाल्नुपर्ने उपायबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । अर्थमन्त्री शर्माले आज पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शङ्करप्रसाद कोइरालासँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका आधारमा उपलब्ध स्रोत तथा विद्यमान जनशक्तिको उचित संयोजन गरेर कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आफूले इमान्दार प्रयास गर्ने बताउनुभयो । उहाँले कोरोनाबाट सिर्जित समस्याले प्रतिकूल प्रभाव पारेको भन्दै सबैको साथ र सहयोगबाट नै चुनौतीलाई छिचोल्न सकिने उल्लेख गर्नुभयो ।

कोरोना महामारीका कारण अर्थतन्त्रको परिदृश्य गतिलो नदेखिएकाले सरकारले सोही बमोजिम आर्थिक नीति तय गर्नुपर्ने पूर्वअर्थमन्त्रीहरुको सुझाव थियो । यस्तै, पूँजीगत खर्चमा हुनु नसक्नु अर्थतन्त्रको अर्को चुनौती भएकाले यसमा विशेष ध्यान दिन आग्रह गर्दै उहाँहरूले त्यसका पछाडि मन्त्रालयगत समस्या हो वा अर्थमन्त्रालयको कमजोरी हो भन्नेबारे समीक्षा गर्न आग्रह गर्नुभयो । उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न तथा अनुत्पादक क्षेत्रमा हुने सार्वजनिक खर्च कटौतीमा ध्यान केन्द्रित गर्नसमेत उहाँहरूको जोड थियो ।

यो पनि-नेपाल वायुसेवा निगम निजीकरण गर्ने कार्य यथास्थितिमा राख्न आदेश

काठमाडौँ, १० साउन: सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरण गर्ने सम्पूर्ण कार्य यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज निगमलाई निजीकरणसम्बन्धी निर्णयहरू यथास्थितिमा राख्न उक्त आदेश जारी गरेको हो । “नेपाल वायु सेवा निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नू”, आदेशमा भनिएको छ, “निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्नू नगराउनू ।”

नेपालका लागि नेपाली पार्टीका तर्फबाट आतिस कार्कीले दायर नेपाल वायु सेवा निगमको निजीकरण गर्ने कार्य रोक्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि यही साउन २५ गते दुवै पक्षलाई बोलाएको छ । छलफलपछि अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा अदालतले आदेश दिनेछ । रासस

यो पनि– नेपाल एयरलाइन्सको जहाजले हरेक महिना मलेसियाबाट शव ल्याउने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो ।त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएकोे थियो।

निगमका एक उच्च अधिकारीका अनुसार हरेक महिनाको कम्तीमा एक उडानबाट शव ल्याउन त्यहाँस्थित नेपाली दूतावासले पत्राचार गर्दै आएको छ । निगमले सबैभन्दा बढी मलेसियाबाट र अन्य खाडी मुलुकबाट पनि शव ल्याएको थियो । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा हाल साढे तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ ।

निगमको जहाजले गत शनिबार एकै उडानमार्फत २४ शव र तीन अस्तु नेपाल ल्याएको थियो भने गत २०७७ माघ १० मा एकैपटक १८ शव ल्याइएको थियो । कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपालमा जारी निषेधाज्ञाका बेला निगमले हरेक महिना शव ल्याइरहेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नेपालीको मृत्यु भएपछि त्यहाँ शव अलपत्र अवस्थामा थियो ।

निगमको क्वालालम्पुरमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएकामा नेपाली कामदारको शव लिनाकै लागि वाइडबडी जहाज प्रयोग गर्ने गरिएको हो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । रासस

यो पनि – नेपाल एयरलाइन्स जहाजमार्फत मलेसियाबाट २४ जना नेपालीको शव नेपाल ल्याइयो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ । गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।

यो पनि – ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा गत माघबाट खोप अभियान सञ्चालन भएको हो । शुरुमा कोभिसिल्ड खोप लगाइएको थियो । पहिलो डोज ३९ हजार ८७९ ले लगाएकोमा दोस्रो डोज १३ हजार १७२ ले मात्रै लगाएका छन् । कोभिडसिल्ड अन्यलाई बाँकी रहेको छ ।

त्यस्तै भेरोसेल ५३ हजार ४९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले जानकारी दिनुभयो । हालसम्म चितवनको जनसङ्ख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकिएको छ । जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ९७ हजार रहेको छ । समग्र देशको तुलनामा चितवनको खोप कभरेज बढी भएको तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “समग्र देशको सात प्रतिशत हाराहारीलाई खोप लगाउँदा चितवनमा १३.५ प्रतिशतलाई खोप लगाइएको छ ।”

जिल्लामा खोप अभियान निरन्तर हुने भएको छ । यही साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जन्सनको खोप अभियान सञ्चालन हुन लागेको छ । यी दुवै अभियान सम्पन्न भएपछि ५० वर्षभन्दा कम उमेर समूहका लागि अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले भन्नुभयो, “खोप अब नियमित हुन्छ, सबैले खोप पाउने अवस्था सिर्जना भएको छ ।” उहाँले अगाडि भन्नुभयो, “आफ्नो समूहको पालो कुर्नुहोस्, धैर्य गर्नहोस्, सबैले खोप पाउनुहुन्छ ।” राज्यले नै प्राथमिकता तोकेर खोप वितरण गरिरहेको भन्दै उहाँले आ–आफ्नो समूहमा खोप लगाउन सबैसँग आग्रह गर्नुभयो ।

यसैबीच साउन ४ गतेदेखि सञ्चालित खोप अभियानमा मौज्दात सकिएका कारण स्थगन भएर भेरोसेल खोपको पहिलो मात्रा बाँकी रहेकालाई साउन ११ गतेबाट १३ गतेसम्म खोप लगाइने भएको छ । प्रमुख तिवारीका अनुसार ५५ वर्ष र सोभन्दा बढी उमेर समूहका, विद्यालय र विश्वविद्यालयका शिक्षक, कर्मचारी र प्राध्यापक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक र सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिलाई यो खोप लगाइने छ ।

यस्तै साउन १४ गतेदेखि जन्सनको खोप लगाउन शुरु गरिने तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जन्सन खोप लगाइने छ । अबका दिनमा खोप अभियान नियमित हुने भएकाले खोप तालिकाको प्रचारप्रसार र खोप केन्द्रको व्यवस्थापन सम्बन्धित पालिकामा रहेको नगर खोप समन्वय समिति नै गर्ने छ । यस्तै वडा खोप समन्वय समितिले सम्बन्धित वडाको खोपको व्यवस्थापन र प्रचारप्रसार गर्ने तिवारीले बताउनुभयो । ––– रासस