दुई करोडभन्दा बढी खर्चेर बनेको मोटरेबल पुल प्रयोगविहीन

दुई करोडभन्दा बढी खर्चेर बनेको मोटरेबल पुल प्रयोगविहीन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ११ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले बताउनुभयो । “जोखिम मोलेर खोलामा जङ्घार तरेर आवतजावत गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ ।” शिख, किन्दु, स्वाँत, पाउद्वारका ३०० भन्दा बढी घरधुरी प्रभावित भएका छन् ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालयले विसं २०७३ मा शुरु गरेको ३० मिटर लामो यो पुलको निर्माणलाई विसं २०७६ मा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले पूर्णता दिएको थियो । स्वच्छन्द–गौचन जेभीले रु दुई करोड २५ लाखमा यो पुल निर्माणका लागि ठेक्का लिएको थियो । लक्ष्यभन्दा दुई वर्ष ढिला गरी निर्माण सकिएको पुल दुई वर्ष पनि प्रयोग गर्न नपाउँदै पहुँचमार्ग बगाएपछि स्थानीयवासी चिन्तित भएका छन् । पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारी साधन खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता छ । खोलामा बाढी आउँदा स्थानीयवासीलाई आवातजावत र ढुवानीमा समस्या भएको छ ।

हालै स्वाँताखोलामा आएको बाढीले शिखतर्फबाट पुलसम्म पुग्ने सडक जगदेखिनै बगाएको थियो । निरन्तर पहिरो खसिरहने भएकाले पैदल हिँडेर आवतजावत गर्न पनि जोखिम र कठिनाइ भएको छ । बर्खा सकिएपछि पहिरो नियन्त्रण र वैकल्पिक सडक निर्माणको पहल गरिने शिखका कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताउनुभयो । रासस

यो पनि– नेपाल एयरलाइन्सको जहाजले हरेक महिना मलेसियाबाट शव ल्याउने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस्थित नेपाली राजदूतावासको आग्रहमा महिनामा एक उडानबाट शव ल्याउन निगमको जहाज प्रयोग हुँदै आएको हो ।त्यसका लागि कार्गो उडान जटिल र संवेदनशील हुने भएकाले निजी क्षेत्रका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले शव ल्याउन आनाकानी गर्ने गर्छन् । राष्ट्रिय ध्वजाबाहक भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि मलेसियालगायत अन्य गन्तव्य मुलुकबाट निगमले नेपालीको शव ल्याएकोे थियो।

निगमका एक उच्च अधिकारीका अनुसार हरेक महिनाको कम्तीमा एक उडानबाट शव ल्याउन त्यहाँस्थित नेपाली दूतावासले पत्राचार गर्दै आएको छ । निगमले सबैभन्दा बढी मलेसियाबाट र अन्य खाडी मुलुकबाट पनि शव ल्याएको थियो । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको मलेसियामा हाल साढे तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ ।

निगमको जहाजले गत शनिबार एकै उडानमार्फत २४ शव र तीन अस्तु नेपाल ल्याएको थियो भने गत २०७७ माघ १० मा एकैपटक १८ शव ल्याइएको थियो । कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपालमा जारी निषेधाज्ञाका बेला निगमले हरेक महिना शव ल्याइरहेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नेपालीको मृत्यु भएपछि त्यहाँ शव अलपत्र अवस्थामा थियो ।

निगमको क्वालालम्पुरमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएकामा नेपाली कामदारको शव लिनाकै लागि वाइडबडी जहाज प्रयोग गर्ने गरिएको हो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए ३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । रासस

यो पनि – नेपाल एयरलाइन्स जहाजमार्फत मलेसियाबाट २४ जना नेपालीको शव नेपाल ल्याइयो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ । निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ । गत असार २५ गते पहिलो उडानमार्फत आठ लाख मात्र खोप नेपाल ल्याइएको थियो । त्यस्तै साउन १ गते थप मात्राको खोप ल्याइएको थियो ।