देउखुरी, ११ साउन (रासस) : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले अक्सिजन उत्पादन थालेको छ । कोरोना महामारीको समयमा सङ्घ सरकारले उपलब्ध गराएको रु दुई करोड ५० लाख बजेटबाट अक्सिजन प्लान्ट स्थापना गरिएको हो । दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन थालिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको तेस्रो लहरसँगै अस्पतालमा अन्य बिरामीका लािग अक्सिजन आवश्यकपर्ने भएकाले प्रतिष्ठानले प्लान्ट निर्माण गरेको छ । कोरोनाका अधिकांश बिरामीलाई अक्सिजन आवश्यकपर्ने अवस्था देखिएकाले पनि दीर्घकालका लागि नै प्लान्ट निर्माण गरिएको प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीले जानकारी दिनुभयो ।
यसअघि दाङमा दाङ अक्सिजन उद्योग प्राली भिङनीले अक्सिजन उत्पादन गर्दै आएको छ । उक्त उद्योगले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गदै आएको छ । अस्पतालको पछिल्लो प्रगतिका बारेमा जानकारी लिँदै उपकुलपति भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा ल्याएएको जानकारी दिनुभयो ।
तेस्रो लहरको सङ्क्रमणको उपचारका लागि पूर्व तयारीका लागि २० शय्याको सघन उपचार कक्ष, ५० श्ययाको हाई डिपेन्डेन्सी युनिट(एचडीयू) र ३० शय्याको आइसोलेशन गरेर १०० शय्या कोरोना सङ्क्रमितका लागि व्यवस्थापन गरिएको डा भण्डारीले जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक डा प्रज्ञासिंह बस्नेतले बालबालिकालाई लक्षित गरेर सघन उपचार केन्द्रका शय्या थप्ने काम जारी रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा ट्रान्समिटर जडान र फिडरलाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह गर्नुभयो । प्रजिअ कुरुम्बाङले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्णरुपमा सहयोग रहने बताउनुभयो ।
यो पनि – आफ्नै पाठ्यक्रम बनाउँदै बागलुङ नगरपालिका
बलेवा, ११ साउन (रासस) : बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगरशिक्षा शाखाले चालू शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्नेगरी तयारी थालेको नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताउनुभयो ।
नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म अभ्यास भएको थिएन । शिक्षा ऐन बनेको धेरै समयपछि नगरपालिकाले पाठ्यक्रमको मस्यौदा निर्माण समिति बनाएको छ ।
समितिको संयोजकमा नगरशिक्षा अधिकारी पोखरेल रहनुभएको छ । उहाँको संयोजकत्वमा गठित समितिमा सिगाना मावि तित्याङका प्रअ गोपालकुमार शर्मा, पूर्वआरपी उमानाथ शर्मा, जनताधन माविका प्रअ कुमार पौडेल, पूर्वप्रअ टीकाराम सापकोटा, कालिका कन्या माविका शिक्षक हुमा रिजाल र संस्थागत विद्यालयका प्रतिनिधिका रुपमा महेशचन्द्र प्रधान रहनुभएको छ ।
यो समितिले कक्षा ३ सम्मको पाठ्यक्रम बनाएर लागू गर्ने योजना बनाएको छ । आइतबार बसेको समितिको बैठकले आगामी भदौ १५ गतेसम्म पाठ्यक्रम तयार पार्ने निर्णय गरेको पोखरेलले जानकारी दिनुभयो । “हामीले कम्तीमा भदौ १५ गतेसम्म मस्यौदा बनाइसक्ने र शैक्षिकसत्रभरिमा पाठ्यक्रम बनाएर पुस्तकसमेत छाप्ने योजनामा छौँ”, पोखरेलले भन्नुभयो, “यो पाठ्यक्रम आएपछि नगरपालिकको मौलिकपना पनि बढ्ने छ ।”
पाठ्यक्रममा नगरभित्रका धार्मिक क्षेत्र, ऐतिहासिक पक्ष, जनजीवन, भाषा र संस्कृति, भूगोल तथा कृषि क्षेत्र पनि समावेश गरिने बताइएको छ । यसअघि तमानखोलाले आफ्नो पाठ्यक्रम बनाइसकेको छ ।
प्रतिक्रिया