निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यको आज लिएको सनाखतअनुरुप यादव पक्षको बहुमत रहेकाले सोही पक्षलाई दलको आधिकारिकताको फैसला सुनाएको हो ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यमध्ये यादवको पक्षमा ३४ र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गर्नुभएको थियो । एक सदस्य तटस्थ रहनुभएको छ । जसपाको विवाद निरुपणका लागि आयोगले आज पार्टीका सबै कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराएको थियो । जसपाको आधिकारिकताबारे निर्णय लिन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । उक्त इजलासले यही साउन ३ देखि ६ गतेसम्म कानूनी बहस सकेर आज आयोगमा कागजातसहित उपस्थित हुन कार्यकारिणी समितिका सम्पूर्ण सदस्यलाई आग्रह गरेको थियो । आयोगको निर्णयपछि जसपाको अर्को पक्षलाई नयाँ दल दर्ताका लागि बाटो खुलेको छ । एक वर्षअघि पार्टी एकीकरण भएको जसपा सत्ता समीकरणको विषयलाई लिएर अध्यक्ष यादव र अर्का अध्यक्ष ठाकुर पक्षबीच विवाद देखिएको थियो । जसपाको सङ्घीय संसद्को दुवै सदनमा सांसदको सङ्ख्या ३५ छ । सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद हुनुहुन्छ ।
यो पनि – जसपा विवाद : उपेन्द्र यादव पक्षको बहुमत
काठमाडौँ, ११ साउन (रासस) : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गर्नुभएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गर्नुभएको छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गर्नुभएको छ । हाल जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बस्नुभएको छ ।
जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ । जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरुका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पु¥याउनसक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ ।
जसपा विभाजन नभई जसपामा आउन नचाहने नेताहरुले नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ । यद्यपि आयोगले पार्टी आधिकारिकताको निर्णय सुनाइसकेको छैन । आयोगले जसपाको आधिकारिकता विवाद निरुपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानूनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेश भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।
जसपा सरकारका जान्छ : यादव
निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ । उहाँले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताउनुभएको हो । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।
जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि जनताको साथ लिएर अघि बढ्ने बताउनुभयो ।



प्रतिक्रिया