अटो चलाएर जीविका धान्छन् ‘चौधरी दम्पती’

अटो चलाएर जीविका धान्छन् ‘चौधरी दम्पती’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरको बेदकोट नगरपालिका–७ का ३५ वर्षीया प्रमिला चौधरी घर निर्माणको काममा मजदूरी गर्नुहुन्थ्यो । हरेक दिन महेन्द्रनगर बजार आएर श्रीमान् सीताराम चौधरीसँगै अटो चलाउनु उहाँको दैनिकी नै बनेको छ । “ हरेक दिन बिहान घरमा छोराछोरीलाई खाना खुवाएर दुवैजना आ–आफ्नो अटो लिएर बजारमा यात्रु बोक्दै दिनजान्छ”, प्रमिलाले रासससित भन्नुभयो,“अटो चलाएन भने घरको छाक टार्न समस्या भइहाल्छ ।” विगत तीन वर्षदेखि महेन्द्रनगरमा अटो चलाएर दैनिक रु ५०० देखि एक हजारसम्म कमाउने गर्नुभएकी प्रमिलाले अटो किन्दा लिएको रु दुई लाख ऋण चुक्ता गरिसकेको बताउनुभयो ।

उहाँका श्रीमान् सीताराम सात वर्षदेखि यहाँ अटो चलाउँदै आउनुभएको छ । “मैल पनि अटो चलाउनुभन्दा पहिले सिलाइकटाइको काम गर्थें”, सीतारामले भन्नुभयो,“ सिलाइ मेसिन बिक्री गरेर अटो खरीद गरेर यात्रु ओसार्न थाल्यौँ ।” चौधरी दम्पतीले अटो सञ्चालन गरेर कमाएको रकमबाट आधा कठ्ठा घडेरी किनेर टिनको छानो हालेर घरसमेत बनाएका छन् ।

“रु नौ लाखमा घडेरी किनेर दुई वर्षअघि घर पनि बनायौं”, उहाँले भन्नुभयो,“ खेतबारीका लागि जग्गा छैन, जीविका चल्ने नै अटोको कमाइले हो ।” कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सर्वसाधारणको हिँडडुल बन्द हु्ँदा आफूहरुलाई छाक टार्न समस्या भएको प्रमिलाले बताउनुभयो । “पहिलो पटक लकडाउन हुँदा हामीलाई पनि खाद्य सामग्री मिलेको थियो”, उहाँले भन्नुभयो,“ दोस्रो लहरका बेला त रासन नभएर निकै समस्या भयो ।” चौधरी दम्पती यतिबेला फेरि कोरोना भाइरस सङ्क्रमण फैलिए जीविका चलाउन समस्या हुने भन्दै चिन्तित हुनुहुन्छ ।

त्यसैगरी कैलालीको गदरियाका विक्की चौधरी महेन्द्रनगरमा अटोमा मालसमान ढुवानी गर्नुहुन्छ । भारतमा मजदूरी गर्न जानुभन्दा आफ्नै मुलुकभित्र मजदूरी गर्ने भन्दै दुई वर्षअघि चौधरी परिवारसहित यहाँ आएका हुन् । यहाँ अटोमा सरिया, सिमेन्टलगायतका निर्माण सामग्री ढुवानीबाट दैनिक रु ६÷७०० कमाउने गरेको उहाँको भनाइ छ ।“ यहाँ डेरा भाडा र परिवारको खर्च अटोबाटै चल्छ”, उहाँले भन्नु्भयो,“ढुवानीको काम दैनिकजसो पाएकै हुन्छ ।”

पछिल्लो समय ग्रामीण भेगसमम अटो÷टुकटुके सञ्चालनमा आउँदा स्थानीयवासीलाई आवागमनमा निकै सहज भएको छ । बस्तीका कुना कन्दरासम्म सहज रुपमा पुगेर यात्रु ओसारपसार गर्दै आएका अटो चालक लामो समय लकडाउन हुँदा निकै समस्या व्यहोर्नु परेको उनीहरुको भनाइ छ ।