प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थाल्नुभएको छ । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थाल्नुभएको हो । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले प्रयास थाल्नुभएको हो । प्रदेशसभाको बजेट तथा आठौँ अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ भने यही सेरोफेरोमा सर्वसम्मति एवं सहमति जुटाउन मुख्यमन्त्री राई प्रदेशको नामकरणका लागि छलफल शुरु गर्नुभएको हो ।
मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नुपर्ने भन्दै छलफललाई तीव्रता दिनुभएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गर्नुभएको हो । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताउनुभएको छ ।
यो पनि – नयाँ प्रदेश प्रमुख सिफारिससहित मन्त्रिपरिषद्का विभिन्न निर्णय
सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख हुनुहुन्थ्यो । अघिल्लो सरकारले उहाँलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका शेरचनलाई नेकपा९माओवादी केन्द्र० ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुनुहुन्थ्यो ।
बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदै हुनुहुन्छ । यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्बाट भएको उहाँले बताउनुभयो ।



प्रतिक्रिया