सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो । सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ ।
सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी दिनुभयो । उहाँले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितका नाममा सर्वसाधारणबाट सङ्कलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताउनुभयो । यस वर्ष मनसुनको शुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुवै जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत वर्ष पनि बाढी पहिराका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको थियो । रासस
यो पनि – विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पु¥याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्नुभएको हो ।
“विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्ने भए पनि क्याम्पसभित्र नै विद्यार्थीहरु असुरक्षित हुनु दुःखद कुरा हो”, अध्यक्ष ढुङ्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ । घाइते उप्रेतीको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । नेविसङ्घले घाइते उप्रेतीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रतिक्रिया