एमाले सङ्गठित भएर अघि बढ्छ – निवर्तमान मुख्यमन्त्री गुरुङ

एमाले सङ्गठित भएर अघि बढ्छ – निवर्तमान मुख्यमन्त्री गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा (एमाले) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले निकट भविष्यमै पार्टी सङ्गठित भएर अघि बढ्ने बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशन कास्कीद्वारा आज पोखरामा आयोजित ‘पार्टीभित्रको समस्या समाधानमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले आगामी एक–दुई दिनभित्रै पार्टी एकीकरणको टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

“पार्टीलाई एक ढिक्का बनाउन दोस्रो पुस्ताको नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पार्टी एकताका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको प्रत्यक्ष वार्ताको तयारी भएको छ ।” नेकपा एमाले केन्द्रीय सचिवसमेत रहनुभएका गुरुङले सङ्गठित पार्टी निर्माणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पार्टीको आगामी महाधिवेशनले अहिले देखिएका असन्तुष्टिको अन्त्यका लागि आवश्यक नीति निर्माण गर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेशका पूर्वमन्त्री किरण गुरुङले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुको विकल्प नभएको बताउँदै त्यसका लागि मिडियाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । फाउण्डेशन कास्कीका अध्यक्ष माधव बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष अर्जुन गिरी, फाउण्डेशनका महिला संयोजक हिरा गिरी लगायतले समृद्ध नेपाल निर्माणका लागि पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।

यो पनि – मुख्यमन्त्री पौडेल र दुई मन्त्रीबीच कार्यसम्पादन करार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८÷७९ का लागि कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले आज आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो ।

कार्यसम्पादन करार सम्झौता आदानप्रदान गर्दै मुख्यमन्त्री पौडेलले सम्झौतानुसारको कार्य गर्न मन्त्रीलाई अनुरोध गर्नुभयो । पौडेलले प्रदेश सरकारको अघिल्लो वर्ष कार्यसम्पादनका हिसाबमा सफल रहेको बताउँदै आगामी दिनमा जनताले महसुस गर्नेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बहुआयामिक क्षेत्रमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सम्झौतालाई औपचारिकता मात्र नबुझ्न अनुरोध गर्दै हस्ताक्षरको गरिमा र मर्यादा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले प्राप्त जिम्मेवारीको पूर्ण पालना गर्दै जनताका पक्षमा परिणाममुखी काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नागरिकको आशा र भरोसालाई शिरोधार्य गर्दै कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न दृढतापूर्वक लाग्ने धारणा राख्नुभयो । उहाँले मुख्यमन्त्री पौडेलसँग गरिएको करारनामाअनुसार नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले यसअघि गत साउन ८ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री सरस्वती बस्नेतसँग कार्य सम्पादन करार सम्झौता गर्नुभएको थियो ।रासस