प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वाेपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उहाँले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गर्नुभयो । “पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ”, डा रावलले भन्नुभयो, “एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाँझिने खालका छन्, राष्ट्र हितमा छैन ।” उपाध्यक्ष डा रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर लिनुभयो ।
उहाँले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ की छैन भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै सांसदले एमसिसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । उहाँले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उहाँले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गर्नुभयो । “अनुदान हो भने त्यो कुरा स्पष्ट पार्नुपर्छ”, उहाँले भन्नुभयो ।
यो पनि – कोभिड नियन्त्रण र विपद् जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण
सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकको जीवन सुरक्षाका लागि गम्भीरतापूर्वक कदम चाल्न सरकारसँग अनुरोध पनि गर्नुभयो । बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङले मुलुकका विभिन्न ठाउँमा आएको बाढी÷पहिराबाट जनधनको ठूलो क्षति भएकाले क्षति न्यूनीकरण कार्यक्रमका साथै प्रभावितलाई उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो ।
सोही दलका अर्का सांसद देवेन्द्र पौडेलले कोभिड–१९ महामारी नियन्त्रणका लागि खोपको उचित प्रबन्ध गर्न ढिला भइरहेकामा चिन्ता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट नयाँ भेरियन्टको कुरो आएको छ, तर व्यवस्थित र प्रभावकारीरुपमा खोप लगाएको पाइएन, नागरिक लामो लाइनमा उभिएर सास्ती खेप्न बाध्य छन्, त्यसतर्फ ध्यान जाओस् ।”
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौलाले सबै नागरिकलाई कोभिडविरुद्धको खाप उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला बेपत्ता भइरहेको सन्दर्भ जोड्दै आवश्यक कदम चाल्न पनि सरकारसँग अनुरोध गर्नुभयो । सोही पार्टीका अर्का सांसद देवेन्द्रराज कँडेलले वैदेशिक रोजगारमा जाने युवाको भविष्य अन्योलमा रहेकाले सहजीकरण गर्न आग्रह गर्नुभयो ।
कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलाको नौगाडमा बाढी पहिरामा परी तीन जनाको मृत्यु भएको र पुल बगाएको, खानेपानी आयोजनामा क्षति पु¥याएको जानकारी दिँदै उचित राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो ।अर्का सांसद पुष्पा भुसालमले विगतको सरकारका कारण कोभिड–१९ नियन्त्रण प्रभावकारी हुन नसकेको आरोप लगाउँदै यसतर्फ गम्भीर हुन सरकारको ध्यानाकृष्ट गर्नुभयो ।
बैठकमा सांसद डा दीपकप्रकाश भट्ट, दुर्गबहादुर राउत, दुर्गाकुमारी विश्वकर्मा, दुर्गा पौडेल, दामोदर भण्डारी, दिल कुमारी, दिव्यमणि राजभण्डारी, धर्मशिला चापागाइँ, नन्दलाल रोका, नवराज सिलवाल, नारायणप्रसाद खतिवडा, निरादेवी जैरु, निरुदेवी पाल, पद्मनारायण चौधरी, पवित्रा निरौला खरेल, पार्वता डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रकाश रसाइली, प्रमिला राईलगायतले भनाइ राख्नुभएको थियो । रासस
प्रतिक्रिया