दुई बालकृति लोकार्पित


काठमाडौँ, १५ साउन (रासस) : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गर्नुभएको छ । उहाँले बाल साहित्य सर्जक प्रमोद प्रधानको बाल कविता सङ्ग्रह ‘रसैरस रसिली’ र विजयराज आचार्यको बाल कथा सङ्ग्रह ‘स्वयम्भूका आँखाहरु’ विमोचन गर्नुभएको हो ।

कुलपति कर्माचार्यले दुवै कृतिको शीर्षक नै रोचक रहेको जनाउँदै अबका दिनमा कथा लेख्दा अनुसन्धानलाई पनि विशेष जोड दिनुपर्ने सुझाव दिनुभयो । ‘रसैरस रसिली’ बारे टिप्पणी गर्दै कवि रमेशचन्द्र घिमिरेले कविताहरू बालसुलभ भएको उल्लेख गर्नुभयो ।

‘स्वयम्भूका आँखाहरु’ माथि बालसाहित्य सर्जक शाश्वत पराजुलीले समीक्षा गरेका थिए । पुस्तकमा मञ्जुश्रीको मिथकलाई आधुनिक प्रविधिसँग जोडिएर लेखिएको बताउनुभयो । ‘रसैरस रसिली’लाई विवेक सिर्जनशील प्रकाशनले बजारमा ल्याएको हो भने ‘स्वयम्भूका आँखाहरू’ विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भूको संयुक्त प्रकाशन हो ।

यो पनि – प्रकाश मानवअधिकार पुरस्कार चौधरीलाई

काठमाडौँ, १५ साउन (रासस) : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको ‘२७ औँ प्रकाश मानवअधिकार पुरस्कार’ फिरुलाल चौधरीलाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौट समितिले शोषण, विपन्नता, विभेद्मुक्त समाज निर्माणको अभियानमा तीन दशकदेखि क्रियाशील रहनु भएका कैलाली जानकी गाउँपालिकाका चौधरीलाई पुरस्कार दिने निर्णय गरेको इन्सेकका अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिनुभयो ।

इन्सेकका महासचिव रुद्रबहादुर चर्मकारको संयोजकत्वमा गठन भएको तीन सदस्यीय पुरस्कार छनोट समितिले चौधरीलाई पुरस्कृत गर्न कार्यसमितिलाई सिफारिस गरेको थियो । पुरस्कार नगद रु ५० हजारसहित सम्मानपत्र प्रदान गरिने छ ।

इन्सेकका संस्थापक महासचिव स्व प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा उहाँले पु¥याउनु भएको योगदानको स्मरणलाई चिरस्थायी बनाउने उद्देश्यले इन्सेकले पुरस्कार स्थापना गरेको हो ।

नेपालको मानव अधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कार प्रदान गर्दै आइरहेको छ । अहिलेसम्म यस पुरस्कारबाट २६ जना पुरस्कृत भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस