टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार रजत र सात कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्टे«लिया नौ स्वर्ण, दुई रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत सात स्वर्ण, नौ रजत र नौ कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यका साथ सातौँ, नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो । रासस

यो पनि – दक्षिणपूर्वी एशियाको सबैभन्दा धेरै कोरोनाभाइरस मृत्यु दर म्यानमारमा

न्यापित, म्यानमार, १५ साउन (रासस÷एएनआई) : म्यानमारको सैन्य सरकारले कोरोनाभाइरस सङ्क्रमण र यसका कारण हुने मृत्युलाई नियन्त्रणका लागि सरकारले खास पहल नलिएको आरोप मानबअधिकारकर्मी तथा स्थानीयहरूले लगाएका छन् ।

कोरोनाभाइरसका कारण म्यानमारमा मृत्यु दरमा उल्लेख्य बढी आएको भएपनि फेब्रुअरीमा निर्बाचित सरकारलाई नियन्त्रणमा लिएको सैन्य सरकारले महामारीको प्रयोग गरेर शक्ति सुदृढीकरण गर्न र विपक्षीलाई दबाउने गरेको आरोप उनीहरूले लगाएका हुन् ।

पछिल्लो सात दिनमा म्यानमारमा मृत्यु दर इन्डोनेसिया र मलेसियाभन्दा बढी रहेको पाइएको छ । पछिल्ला दिनमा दक्षिणपूर्व एशियामा म्यानमार नै महामारीका कारण सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको मुलुक बनेको छ । देशको स्वास्थ्य सेवा कोभिड–१९ सङ्क्रमित बिरामीहरूका कारण पछिल्लो छोटो समयमा नै निकै प्रभावित बनेको छ । यहाँ चिकित्सकीय सेवाका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति घट्दै गइरहेको र सरकारले धेरै ठाउँमा यसको निजी बिक्रीमा प्रतिबन्धित गरेको छ । सरकार निकट समूहलाई सहयोगका लागि तथा सैन्य अस्पतालहरूमा आपूर्तिलाई केन्द्रित गरिएको यहाँ आन्दोलनरत दल तथा अधिकारबादी समूहले आरोप लगाएका छन् ।

यसैबीच अवज्ञा आन्दोलनलाई सहयोग पु¥याएको भन्दै सैन्य सरकारका गतिविधि स्वास्थ्यकर्मीहरूलाई निरूत्साहन गर्ने खालका भएको विपक्षी गठबन्धनको आरोप छ । विशेषज्ञ र निजामती कर्मचारीले राज्य प्रशासन परिषद्को नामले चिनिने सरकारी संयन्त्रलाई सहयोग नगरेको आरोप सेनाले लगाएको छ ।

संयुक्त राष्ट्र संघका पूर्व म्यानमार मानवाधिकार विज्ञ यान्घी लीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “उनीहरू (सैन्य प्रशासन) ले व्यक्तिगत सुरक्षात्मक उपकरण र मास्क वितरण गर्न रोकेका छन् र लोकतन्त्रका लागि भएका आन्दोलनलाई समर्थन गरेका नागरिकलाई अस्पतालमा उपचारमा समेत असमान व्यवहार देखाएका छन् ।” उहाँले थप्नुभयो,“नागरिक अवज्ञा आन्दोलनलाई समर्थन गरेको आरोपमा डाक्टरहरुलाई पक्राउ गर्न मिल्दैन ।”