नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुनेछ ।एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।
यो पनि – स्याङ्जामा कांग्रेसका दश हजार बढी नयाँ क्रियाशील सदस्य
स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा नौ हजार ३४१ ले नवीकरण गरेका हुन् । क्रियाशील सदस्य सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यअनुसार थप क्रियाशील सदस्यता वितरण गरिएको कावा सभापति रानाले बताउनुभयो । जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका नौ हजार ३४१ र नयाँ सदस्यता १० हजार आठ गरी कूल १९ हजार ३४९ रहेका छन् ।
पाँच नगरपालिका र छवटा गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङ नगरपालिकामा चार हजार ३८५ र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४९३ जना क्रियाशील सदस्य रहेका छन् । वालिङमा नयाँ दुई हजार २३९, पुतलीबजारमा एक हजार ६१०, चापाकोटमा एक हजार ३५१, गल्याङमा एक हजार १७१, भिरकोट नगरपालिकामा एक हजार ८० थपिएका हुन् । त्यस्तै कालीगण्डकीमा ६८८, आँधीखोलमा ४५३, अर्जुनचौपारीमा ४३१, बिरुवामा ४२१, फेदीखोलामा ३१० र हरिनास गाउँपालिकामा २५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ । नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा चार हजार ३८५, पुतलीबजारमा तीन हजार १५९, चापाकोटमा दुई हजार ४१५, गल्याङमा दुई हजार ३८१, भिरकोटमा एक हजार ९६० रहेका छन् ।
त्यस्तै कालीगण्डकीमा एक हजार ३४८, आँधीखोलामा ९१५, अर्जुनचौपारीमा ८८७, बिरुवामा ८२८, फेदीखोलामा ५७८ र हरिनासमा ४९३ क्रियाशील सदस्य पुगेका छन् । आसन्न १४ औँ महाधिवेशनका लागि वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि पछिल्लो समयमा आएर स्थगित भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा तातेको जिल्लाको चुनावी सरगर्मी निर्वाचनको मिति सरेसँगै विस्तार घटेको छ । यद्यपि विभिन्न तहमा उम्मेदवारीको आकांक्षीमा देखिएका नेताले भने भेटघाटलाई निरन्तरता दिएका छन् ।
नेताहरु सामूहिक वा व्यक्तिगतरुपमा कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि रणनीति बुन्दैछन् । वडा, नगर, क्षेत्र तथा जिल्लामा नेतृत्वमा सम्भावित आकांक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले पर्ख र हेरको अवस्थामा रहेका देखिन्छन् । रासस
यो पनि –योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण
म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ । अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अध्यक्ष पुनसहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध गर्नुभएको छ । सडक, शिक्षा र खानेपानीजस्ता जनतालाई प्रत्यक्ष प्रभाव पार्ने योजना कटौती गरेर प्रदेश सरकारले विकटको धौलागिरि गाउँपालिकालाई उपेक्षा गरेको उहाँले बताउनुभयो । प्रदेश सरकारको सहयोगमा दुई गाउँपालिका जोड्ने महत्वको सडक दरबाङ–बिम–मराङ–मल्कबाङ, कुइने हुँदै पाखापानी जोड्ने कृषि सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन), मुना लुलाङ, गुर्जा सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन) र हेम मावि सिवाङलाई सामाजिक विकास मन्त्रालयबाट नमूना आवासीय विद्यालय सञ्चालनका लागि गत वर्ष रु दुई करोड विनियोजन भएको थियो ।
यसैगरी वडा नम्बर ४ मुदीको बृहत् खानेपानी योजना पनि कटौती गरिएको छ । मुदीवासीका प्रत्येक घरमा खानेपानी उपलब्ध गराउन करिब रु एक करोड २५ लाख बराबरको बजेट अनुमान गरी कार्यक्रम सञ्चालन हुँदै आएको थियो । प्रदेश सरकारले यसपालिको बजेट वक्तव्यमा उक्त योजना समावेश नगरेपछि योजना अलपत्र पर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया