अटो चलाएर जीविका चलाउँदै

अटो चलाएर जीविका चलाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शुक्लाफाँटा नगरपालिका– ३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आउनुभएको छ । उहाँ रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले चार कठ्ठा जग्गा बेचेर अटो खरिद गर्नुभएको हो । सूर्याेदयदेखि साँझ अबेरसम्म तत्लीन उहाँ सवारी नपाएको दिन रितो हात घरसमेत फर्किनुहुन्छ । कमाई नभएको दिन निराश भने हुनुहुन्न । औसतमा दैनिक उहाँको कमाई एक हजार जति हुने गर्दछ । अटोबाट हुने कमाइबाट सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ ।

“परिवारसँगै बस्न पाएको छु”, उहाँले भन्नुभयो, “दिनभरि अटो चलाउँछु साँझ परिवारसँग बसेर सुख दुःख साटासाट गरी बस्न पाएको छु । यसमै सन्तुष्ट छु ।” उहाँँका परिवारमा एक छोरा, एक छोरी र श्रीमती छन् । उहाँले दुई वर्ष वैदेशिक रोजगारमा साउदी अरेबिया र चार वर्ष मलेशियामा बिताउनुभएको थियो । “धेरै कमाई हुन्छ भन्ने सपना बोकेर वैदेशिक रोजगारीमा कर्जा गरेर गएको थिए । कर्जा तिर्नमै ठिक्क भयो । दुई पटक विदेशिए पनि कमाई हुन सकेन”, उहाँले भन्नुभयो, “थोरै तलबमा धेरै काम गर्नु पर्दथ्यो ।

केही आफनै खर्चका लागि ठिक्क हुन्थ्यो । बचेको रकम परिवारको खर्चका लागि पठाउँदा सकिन्थ्यो । बचत गर्न सकिएन् । पैसा कमाउने उद्देश्यले वैदेशिक रोजगारीमा गएको थिए । पैसा नै बचत नहुने भएपछि घर फर्के ।” बेरोजगार भएर बस्नुभन्दा जग्गा बेचेरै भए पनि अटो किनेको उहाँ बताउनुहुन्छ । अटो किन्न चार कठ्ठा र वैदेशिक रोजगारीमा जानुअघि बिरामी पर्दा दुई कठ्ठा जग्गा बेच्नु परेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जानुअघि उहाँ तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा समेत सहभागी हुनुभएको थियो । उहाँ विसं २०५८ भदौको २९ गतेलाई विर्षने प्रयत्न गरे पनि विर्षन सक्नुहुन्न । उहाँले भन्नुभयो “ माटोका खाल्डोमा रातभरी बसे । ”

गणेश जस्तै जनयुद्धमा सहभागी भएका वसन्त चौधरीसमेत अटो चलाएर जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा– ३ जोनापुरका चौधरीले अटो रिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरुपमा चल्न थालेको छ । बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटो रिक्सा खरिद गरेका छन् ।“रु पाँच लाखमा आटोरिक्सा र रु तीन लाख खर्च गरेर घरमै पसल राखेको छु”, उहाँले भन्नुभयो, “अटो रिक्सा मैले सम्हालेको छु । पसल श्रीमतीले सम्हालेकी छन् । सहजरुपमा परिवारको खर्च चलेको छ ।” एक वर्षदेखि अटो रिक्सा चलाउँदै आएका उहाँले बैंकबाट निकालेको आधा ऋणबापतको रकम चुक्ता गरिसकेका छन । अटो रिक्साबाट मात्रै दैनिक उहाँले रु एक हजार बढी रकम आम्दानी गर्दै आउनुभएको छ ।

रोजगारी केही नहुँदा अटो रिक्सा र पसल एकसाथ सञ्चालन गर्नुपरेको उहाँले बताउनुभयो । तत्कालीन विद्रोही नेकपा माओवादी पार्टीमा आबद्ध भएर एक दशकसम्म जनयुद्धमा सहभागी हुनुभएका चौधरी पार्टीले बेवास्ता गरेपछि क्षेत्रीय ब्युरो सदस्यबाट राजीनामा दिएर व्यवसायमा संलग्न भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ राजनीतिलाई थाति राख्दै रोजगारीमा संलग्न भएपछि जीवन सहज भएको छ । राजनीतिमा फर्कने योजना छैन ।” बाध्यताले जग्गा बैंकमा धितो राखेर कर्जा निकालेर अटो खरिद गरी परिवारको खर्च चलाउनुपरेको उहाँले बताउनुभयो । रासस