खाद्यान्न र शैक्षिक सामग्री सहयोग

खाद्यान्न र शैक्षिक सामग्री सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँको बानेश्वरमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न र लमजुङको अमरज्योति प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणले आज बानेश्वरमा आयोजना गरेको कार्यक्रममा केन्द्रमा बस्दै आएका बालबालिकाका लागि दाल, चामल, तेल, चाउचाउ, बिस्कुट, थर्मस लगायतका सामग्री सहयोग गरेको हो ।

यस्तै लमजुङको राइनास नगरपालिका–८ स्थित पीपलटारीमा रहेको अमरज्योति प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेको हो । कार्यक्रममा क्लबका अध्यक्ष लबेन्द्रसिंह मल्लले अभिभावकविहीन भएका बालबालिकाको उज्ज्वल भविष्यका लागि बालआश्रमले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

क्लबका उपाध्यक्ष अखिल अग्रवालले लायन्स क्बलले सबै संस्थामार्फत सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । लायन्स क्बल डिस्ट्रिकको चिफ एडभाइजर भीम पौडेलले सेवाको भावना बोकेर स्थापना भएको लायन्स क्बलले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । इन्जिनीयर पङ्कज जलानले युवालाई अगाडि बढाए मात्र देशको विकास हुने भएकाले उचित शिक्षा प्रदान गर्न बालआश्रमलाई आग्रह गर्नुभयो ।विसं २०६४ मा स्थापना भएको बालआश्रमले शुरुमा आमाबाबु नभएका १३ बालबालिकालाई सेवा प्रदान गरेको थियो । अहिले ५५ बालबालिकालाई बालआश्रममा राखेर सेवा प्रदान गर्दै आएको नयाँ नेपाल समाज केन्द्रका अध्यक्ष कृष्णराज गुरुङले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालनमा रहेको उक्त बालआश्रममा सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ लगायतका बालबालिका बस्दै आएका छन् ।कार्यक्रममा अमरज्योति प्रावि लमजुङका प्रधानाध्यापक हरिमाया घिमिरेले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरेर ठूलो गुन लगाएको भन्दै लायन्स क्लब अफ काठमाडौँ समर्पणलाई धन्यवाद दिनुभयो ।

एक दशकपहिले काठमाडौँको सानेपामा स्थापना भएको उक्त लायन्स क्लबले गत वर्ष कोरोना शुरुआती चरणमा २०० सिलिन्डरसहित ‘अक्सिजन बैंक’ स्थापना गरी समाज सेवा गर्दै आएको थियो । क्लबले कोरोनाको दोस्रो चरणमा ललितपुरको जावलाखेलमा ‘जे एन्ड जे कोभिड क्लिनिक’ स्थापना गरी गरिब तथा विपन्न व्यक्तिलाई निःशुल्क कोरोना परीक्षण मिलाएको क्लबका प्रवक्ता एवम् सदस्य विवेक शर्माले जानकारी दिनुभयो । क्लबले आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिने प्रवक्ता शर्माको भनाइ छ ।