नेकपा (एमाले)को स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ः०० बजे बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो । “बैठकको शुरुआतमा अध्यक्ष ओलीले पार्टी एकताका सन्दर्भमा अहिलेसम्म भएको प्रयासबारे विघटित कार्यदलका सदस्यसँग जानकारी माग्नुभयो”, उहाँले भन्नुभयो, “पार्टी एकताका सन्दर्भमा आज बिहान भएको छलफलका बारेमा मैले अध्यक्ष ओलीलाई जानकारी गराए । त्यसपछि अध्यक्ष ओलीले पार्टी एकताको प्रयासलाई अगाडि बढाउन बैठक स्थगित गर्नुभयो ।”नेता नेम्वाङले पार्टी एकताबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टीका केही साथीहरु जानुभएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । आजको बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो । उहाँका अनुसार बैठक भोलि अपराह्न ३ः०० बजे पुनः बस्नेछ ।
यसैगरी आज बिहान ओली र नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको छ । आज सिंहदरबारमा भएको छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन दृढतापूर्वक लाग्ने सहमति भएको नेता नेम्वाङले जानकारी दिनुभयो ।
यो पनि – माधव नेपाललाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताउनुभयो । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटी बैठकमा अध्यक्ष ओलीले बाटो बिराएका साथीले आफ्नै पार्टीको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाएको सन्दर्भ जोड्दै त्यस्ता मुख्य व्यक्तिलाई पार्टीमा ठाउँ नहुने दोहो¥याउनुभयो ।
उहाँले अरु नेताहरू जो गल्ती महसुस गरेर आउनेछन् भने स्वागत गरिने तर नआउनेहरू छुट्दै जाने बताउनुभयो । अन्यसँग अहिले पनि कुरा भइरहेको उहाँको भनाइ थियो । अहिलेको परिस्थितिमा उच्च मनोबलका साथ आन्दोलन सशक्त बनाउनुपर्नेमा आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले खुट्टा तान्ने मान्छे हटेकाले अबको निर्वाचनमा बहुमत ल्याएर देखाउने ठोकुवा गर्नुभयो । उहाँले पार्टी नेता कार्यकर्तालाई स्वार्थमा नलागी उपयुक्त ढङ्गले पदको बाँडफाँट गरेर एकताबद्ध हुन पनि निर्देशन दिनुभयो ।
निर्वाचनमा बहुमत पु¥याएर देखाउन नेकपा (एमाले)सामु इतिहासकै चुनौतीपूर्ण घडी खडा भएको र अहिले धेरै फल्नुपर्ने बेलामा हाँगा काटिएको छ भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा मुलुकको विकास र समृद्धिमा देखिने गरी काम गरेको पनि दाबी गर्नुभयो । बाटाघाटा, पुल, पूर्वाधारमात्रै नभई डिजिटल नेपाल निर्माणको आधार तय भइसकेको उहाँले बताउनुभयो ।अध्यक्ष ओलीले जमिनको माटोको गुणस्तर कस्तो छ, के–के नवीकरण गर्नुपर्छ, मोबाइलमा हेर्नुस् भन्न सक्ने गरी विकास गरिएको र पूर्वपश्चिम रेल चल्न लागेको, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको तथा शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पनि देखिने गरी प्रगति भएको उल्लेख गर्नुभयो ।
फरक सन्दर्भ जोड्दै अध्यक्ष ओलीले राम नेपाल भूमिमै जन्मिएको हो भनेर तथ्य प्रमाणित गरेको जिकिर गर्दै आगामी वर्षदेखि चितवनको माडीस्थित अयोध्यापुरीमा विश्वभरिका हिन्दू राम जन्मभूमि हेर्न लाइन लागेर आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उक्त क्षेत्र राम जन्मुभूमि होइन भनेर कुनै शास्त्रले काट्नै नसक्ने दाबी पनि गर्नुभयो ।उहाँले अहिलेको यो डेढ वर्षका लागि खाएको धक्का आगामी निर्वाचनमार्फत पाँच वर्षका लागि सरकार बनाउने गरी आउने दाबी गर्नुभयो । उहाँले दुईपटक प्रधानमन्त्री हुँदा असफल नभएको बरु ऐतिहासिक प्रधानमन्त्री बनेको जिकिर गर्नुभयो ।
पार्टीका नेता तथा कार्यकतालाई स्वार्थभन्दा माथि उठेर विचारमा केन्द्रित हुन पनि सुझाव दिनुभयो । उहाँले खराब तत्व बाहिरिएकाले पार्टी अझ बलियो भएको पनि बताउनुभयो । अध्यक्ष ओलीले दल पूर्वस्थितिमा गए पनि आफ्नो पार्टी एकीकृत नै रहेको र त्यही भावनाका साथ पार्टी अघि बढेकाले कुनै अलमलमा बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
यो पनि – गलत प्रवृत्तिका विरुद्ध सतिसालझै उभिन नेपालको निर्देशन
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्र र परिवर्तनको खम्बाका रूपमा स्थापित विद्यार्थी सङ्गठनलाई गलत प्रवृत्तिका विरुद्धमा सतिसालझै उभिन निर्देशन दिनुभएको छ । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा आज यहाँ आयोजित अखिल फोर्र्स बृहत् भेलामा उहाँले अहङ्कारले मानिसलाई पतन गराउने भएकाले निरंकुश र स्वेच्छचारी प्रवृत्ति नियन्त्रणका लागि इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभयो ।

अनेरास्ववियुद्वारा शनिबार यहाँ आयोजित अखिल फोर्स वृहत भेलामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत । तस्वीर ः कृष्णराज गौतम÷रासस
वरिष्ठ नेता नेपालले भन्नुभयो, “राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको देशभक्त नेपाली विद्यार्थी अखिलबाट पुर्खाको सम्मान र इतिहासप्रति गौरव होस्, सङ्गठनको ओजलाई थप उचाइमा पु¥याउनुस्, सही विचार माक्र्सवाद हो, यसको अध्ययन गर्नुस् ।” लोकतान्त्रिक आन्दोलनको प्रभावलाई ठिक बाटोमा ल्याउने काममा सर्वोच्च अदालतबाट भएको निर्णयप्रति सम्मान व्यक्त गर्दै उहाँले प्रतिनिधिसभाका सदस्यहरूले संविधान र लोकतन्त्रको रक्षा गर्न खेलेको भूमिकाले आगामी दिनमा जालझेल र षड्यन्त्र गरेर प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
सुसंस्कृत, सभ्य र मूल्य मान्यतामा आधारित समाज निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सुझाव दिँदै उहाँले लामो समयदेखि गलत बाटोमा गइरहेको कम्युनिष्ट आन्दोलनमा सही दिशामा हिँडाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्री नेपालले दार्चुलामा भएको घटनाको सत्यतथ्य छानबिनका लागि समिति गठन गरी अनुसन्धानको व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन नेपाल समूहका अध्यक्ष सुरेश पराजुलीले राष्ट्रियता, लोकतन्त्र र परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको सङ्गठनले पार्टी र वाम एकताको पक्षमा निरन्तर लागिरहेको बताउनुभयो ।
अखिल फोर्सका अध्यक्ष टपेन्द्रजङ्ग शाहीले विचारबाट सुसज्जित भएकाले विचार, नीति र निष्ठाको संस्कारलाई अघि बढाउन सबैलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो । सहअध्यक्ष असिम आलमले मुलुकमा शैक्षिक माफियाविरुद्ध गुणस्तरीय शिक्षाका लागि तथा समाजमा देखिएका विकृति र गुण्डाप्रवृत्ति रोक्न सङ्गठनले काम गर्ने बताउनुभयो । रासस
यो पनि – तीन हजार १०६ मा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ सङ्क्रमित थपिएको हो । आज देखिएको सङ्क्रमित सङ्ख्यासहित कूल सङ्क्रमित सात लाख ५६ हजार ७३९ जना पुगेको छ ।
उपत्यकामा ७७५
काठमाडौँ उपत्यकामा ७७५ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नेपालमा सङ्क्रमणदर १९.३ प्रतिशत रहेको छ ।
एक हजार ९१६ निको
यस्तै आज एक हजार ९१६ जना पूर्ण स्वास्थ्यलाभ लिई घर फर्किनुभएको छ । आजसँगै स्वास्थ्यलाभ लिई घर फर्केनेको सङ्ख्या छ लाख ५४ हजार १७७ पुगेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ ।
तेइसको निधन
यसैगरी आज सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै नौ हजार ८५७ जना पुगेका छन् । प्रति १० लाखमा ३३२.२ जनाको सङ्क्रमणका कारण निधन भएको छ ।पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार ती मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ पुगेका छन् ।यसैगरी सघन उपचारकक्ष (आइसीयू)मा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका छन् ।



प्रतिक्रिया