नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज भेटवार्ता गर्नुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिनुहुने उहाँहरूको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ । नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उहाँहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिनुभयो । उहाँहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभएजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।
कांग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उहाँहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आउनुभएको छ । यसअघि पनि उहाँहरूले एकअर्काको निवासमा पालैपालो भेटवार्ता गर्नुभएको थियो ।
यो पनि – प्रधानमन्त्री देउवालाई प्रजातान्त्रिक समाजको ध्यानाकर्षण
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रजातान्त्रिक विचार समाजले आज भेट गरी विभिन्न समसामयिक जनजीविकाका सवालमा ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले, महासचिव गोकर्ण अर्याललगायतको टोलीले जनतालाई कोरोनाको निःशुल्क उपचार तथा रोकथाम, खोपमा सबै जनतालाई सहज पहुँच, बाढी, पहिरो वा प्राकृतिक प्रकोपको रोकथाम, उद्धार र राहतलगायत विषयमा प्रधानमन्त्री देवालाई ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री देउवालाई समाजले ध्यानाकर्षण पत्रमार्फत मुलुकको जटिल राजनीति र कठिन अर्थतन्त्रकोे अहिलेको स्थितिले उहाँको नेतृत्वमा निकास र समाधान पाउने विश्वास लिएको जनाएको छ । लोकतान्त्रिक मूल्य, मान्यता र विधिलाई कुल्चिएर यसअघिको सरकारले गरेका स्वेच्छाचारी निर्णय सच्याएर लोकतन्त्र, विधिको शासन र सुशासन, पारदर्शीता स्थापित गर्न प्रधानमन्त्री देउवा नेतृत्वको संयुक्त सरकार सफल हुने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
मुलुकका विभिन्न समस्या र चुनौतीको समाधान गरी वर्तमान सरकारले संसदीय आवधिक निर्वाचन सुनिश्चित गर्ने विश्वास प्रजातान्त्रिक विचार समाजको छ । कांग्रेसको आसन्न १४औँ महाधिवेशन सम्पन्न गर्ने सभापतीय दायित्व पनि सभापति देउवासामु रहेको र सरकार निर्माणमा सम्मिलित दलहरुसमेत सबैलाई समेटेर राजनीतिलाई सहिष्णु र थप समावेशी बनाई सबै पक्षसँग हुने सहमति, सहयोग र सहकार्यले देशलाई नयाँ गति र भरोसा दिने समाजले जनाएको छ । रासस
यो पनि – मानवअधिकार तथा शान्ति समाज काठमाडौँको सभापतिमा ईश्वर पुडासैनी
मानवअधिकारको संरक्षण एवं शान्तिका लागि अभियान चलाउँदै आएको मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखा सभापतिमा ईश्वर पुडासैनी निर्विरोध निर्वाचित हुनुभएको छ । शाखाको शुक्रबार राजधानीमा आयोजित २४औँ अधिवेशनले पुडासैनीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः भगवान् पुडासैनी, प्रमोद फुँयाल, रमेशकुमार बराल र विकास थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शाखा कार्यसमिति सदस्यहरुमा सानु लामा, रोज विष्ट, तारा रसाइली, आरएस महतो, सुरज बोहोरा, बद्री पुडासैनी, सार्जन चापागाईँ, माया भट्टराई, रमेश पुडासैनी र प्रमिला भण्डारी निर्वाचित हुनुभएको छ ।यसअघि अधिवेशन उद्घाटन समारोहमा बागमती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले जिल्ला एवं स्थानीयस्तरमा मानवअधिकारको संरक्षण संवद्र्धनमा अझ उत्साहका साथ काम गर्न शाखाको नयाँ समूहलाई आह्वान गर्दै अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।
यो पनि – लुम्बिनी प्रदेशको समृद्धिका लागि कालिगण्डकी डाइभर्सन परियोजना
रुपन्देही, १६ साउन (रासस) ः नदीको सभ्यता जोगाउँदै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना अघि बढाउनुपर्नेमा जोड दिइएको छ । समृद्धि सरोकार केन्द्र र स्तम्भकार समाज रुपन्देहीले आज बुटवलको जितगढीमा आयोजना गरेको कार्यक्रममा सहभागीले लुम्बिनी प्रदेशको विकास र समृद्धिका लागि परियोजना महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताउनुभयो । उनीहरुले कालीगण्डकी डाइभर्सन गर्दा हुने लाभको सन्तुलित बाँडफाँट गरीे काम अघि बढाउन सुझाव पनि दिनुभयो ।
सो अवसरमा संविधानसभा सदस्य नेत्र पन्थीले कृषिको विकासमार्फत प्रदेशका नागरिकलाई आत्मनिर्भर बनाउन कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कार्यान्वयनको विकल्प नरहेको बताउनुभयो । “तराई अन्नको भण्डार हो, यो भण्डारले देशलाई धान्ने बनाउन पर्याप्त सिँचाइ आवश्यक हुन्छ, यसका लागि नदी डाइभर्सन जरुरी छ”, उहाँले भन्नुभयो ।संस्कृतिविद् झपेन्द्र जिसीले जनताको हितका लागि प्राकृतिक सम्पदाहरुको प्रयोग गर्दा कसैले विरोध गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नदी विकास र समृद्धिका लागि हुन्, विकासका कुरालाई धर्मसँग जोडेर विरोध गर्नुहुँदैन ।”
नेकपा (एमाले)का क्षेत्रीय इञ्चार्ज तेजेन्द्र केसीले जनताको बहुदलीय जनवादमा मदन भण्डारीले उल्लेख गर्नुभएको कार्यक्रमका रूपमा रहेकाले यो आयोजना सम्पन्न गर्ने जिम्मेवारी उहाँकै पार्टीका नेता विष्णु पौडेलले लिनु सान्दर्भिक र औचित्यपूर्ण हुने बताउनुभयो । तथापि राष्टिय गौरवको आयोजना भएकाले सबै पार्टीले उत्तिकै जिम्मेवारी लिनुपर्नेे बताउनुभयो ।बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई उर्वरभूमिका रूपमा विकास गरी कृषि उत्पादन बढाएर आर्थिक समृद्धि हासिल गर्न कालीगण्डकी डाइभर्सन आवश्यक रहेकाले यसलाई पूर्णता दिन सबैको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले कुनै नयाँ योजना शुरु हुँदा राजीनितक हिसाबले विरोध हुने गरेकोे बताउँदै विकासका योजनालाई साक्षी भावले हेर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईँले कालीगण्डकी– तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यान्वयनपछि लुम्बिनीको मुहार बदलिने दाबी गर्नुभयो । “विकासका योजनामा राजनीति गर्न जरुरी छैन । सबैले सहकार्य गरौँ, यो आयोजनाले लुम्बिनीको कायापलट गर्छ”, उहाँले भन्नुभयो । यो परियोजनाको गण्डकी प्रदेशले विरोध गरेको नभई हिस्सेदारी खोजेको बताउनुभयो ।
पानस फाउण्डेशनका अध्यक्ष डिआर घिमिरेले नागरिकको हितमा हुने कुनै पनि आयोजना सफल बनाउन सबै जना एक ठाउँमा उभिनुपर्ने बताउँदै साझा मुद्दामा अनाश्यक विरोध उचित नहुने उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद बञ्जाडेले परियोजना हेर्दा राम्रो देखिए पनि भारत केन्द्रित भएको आशङ्का व्यक्त गर्दै यसको कार्यान्वयनका लागि गण्डकी प्रदेशका नागरिकको राय बुझनुपर्ने बताउनुभयो ।नेपाली कांग्रेसका नगर उपसभापति विमलराज भट्टराईले बारीखेतमा सिँचाइको प्रबन्ध हुन नसक्दा खेती गर्न समस्या भएकाले कालीगण्डकी नदीको पानी दुई किलोमिटरमाथिसम्म पु¥याएर बाह्रै महिना खेती गर्न मिल्ने तरिकाले सिँचाइको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले देशमा भएका प्राकृतिक स्रोत साधनको भरपूर प्रयोग हुन नसक्दा विकासले गति लिन नसकेको भन्दै खेत बाँझै रहने तर, पानी बगिरहने भइरहेकाले यस्ता परियोजनालाई सफल बनाउनु सबैको दायित्व भएको धारणा राख्नुभयो । पर्यटनविद् बलबहादुर आचार्यले परियोजना नयाँ भएका कारण प्रश्न उठ्नु स्वभाविक भए पनि यस क्षेत्रको कृषि पर्यटन र ऊर्जाको विकासका लागि ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्राध्यापक तथा लेखकहरु ऋषि आजाद, तिलक भुसाल, नुरजङ्ग केसी, दामोदर घिमिरे, बलबहादुर पाण्डे, माधव पौडेल, कृष्ण रेग्मीलगायतले कालीगण्डकी डाइभर्सनले पार्ने दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर गण्डकी र लुम्बिनी प्रदेशबीच समन्वय गरी साझा परियोजनाका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया