दार्चुलामा तुइन तर्दा तर्दै भारतीय सेनाले तुइन काटिदिएपछि महाकालीमा खसेर धामी बेपत्ता, प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो

दार्चुलामा तुइन तर्दा तर्दै भारतीय सेनाले तुइन काटिदिएपछि महाकालीमा खसेर धामी बेपत्ता, प्रशासनले भारतीय पक्षसँग जानकारी माग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाका सम्बन्धमा सत्यतथ्य जानकारी गराई आवश्यक कारवाही अगाडि बढाउन भारतीय पक्षसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नदी तर्न खोज्दा तुइन काटिदिएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट सार्वजनिक भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी)ले आज एक विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाई नेपाललाई जानकारी गराउन र कारवाही प्रक्रिया अघि बढाउन आफ्ना भारतीय समकक्षीलाई पत्राचार गरेको बताउनुभएको छ ।

“उक्त घटनाका सम्बन्धमा अनुसन्धान एवं छानबिन भइरहेको र सत्यतथ्य पुष्टि भइनसकेकाले दुई देशबीचको सम्बन्धमा आँच आउने किसिमका भ्रामक समाचार प्रकाशन नगर्न सम्वद्ध सबैमा अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ । जिल्ला प्रशासन कार्यालयले उक्त घटनाको वास्तविकता बुझ्न सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयका पदाधिकारी सम्मिलित टोली घटनास्थलमा खटिएको र हालसम्म कुनै जानकारी प्राप्त नभएको जनाउँदै घटनाको उक्त टोलीबाट जानकारी प्राप्त हुनासाथ त्यसलाई सार्वजनिक गरिने जनाएको छ ।

यो पनि – दार्चुला घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग

दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो ।

शुक्रबार महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का धामी नदीमा बगेका थिए । तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भारतीय एसएसबी जवानलाई कारवाहीको दायरामा ल्याउन सरकारले ठोस पहल गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उखु किसानसँग पटक–पटक सम्झौता गरेर पनि वर्षौँदेखि करोडौँ बक्यौता रकम किसानलाई नदिने, झुलाउने र अलपत्र पार्ने जुन जालझेल राज्यले गर्दै आएको छ त्यसको जोडदार विरोध गर्दै सर्लाही, रौतहट र नवलपरासीका उखु किसानको वर्षौँदेखिको बक्यौता हर्जाना र ब्याजसहित सम्पूर्ण रकम असुलउपर गरियोस् ।”

यो पनि – महाकाली नदि तर्ने क्रममा तुइन चुडिएर खस्दा एक व्यक्ति बेपत्ता

व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । “भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासि तुइन काटिदियोे, नदीको बिच भागमा पुग्ने बेला तुइन काटिएपछि उनी बेपत्ता भएका हुन्, पाँच छ जना स्थानीय सामान लिन भारतको बाटो हुँदै आइरहेका थियौँ” धामीले भन्नुभयो, “पाँच छ जना तुइनबाट भारत तरेका थिए, जयसिंह तर्ने बेला एसएसबी पुगेर तुइन काटिदिए, भारत पांगलमा रहेका एसएसबीले तुइन काटिदिएका हुन् ।”

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।