मकवानपुरमा भेटियो दुर्लभ ‘भोटेलहरा’

मकवानपुरमा भेटियो दुर्लभ ‘भोटेलहरा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कुमार नेगी टिस्टुङ, १७ साउन (रासस) : सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि)को अनुसूची–३ मा सूचिकृत दुर्लभ वनस्पति ‘भोटेलहरा’ मकवानपुरमा भेटिएको छ ।

वानस्पतिक अन्वेषण तथा सर्वेक्षणबाट नेपालको तनहुँ, सङ्खुवासभा र मकवानपुरमा मात्र पाइने भनिए पनि पछिल्लो समय मकवानपुरमा भोटेलहरा लोप भइसकेको अनुमान गरिएको थियो । पछिल्लोपटक मकवानपुरस्थित वनस्पति अनुसन्धान केन्द्रमा सरुवा भई आउनुभएका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले खोजका क्रममा भोटेलहरा फेला पार्नुभएको हो । यो ताजा खोजले नेपालको प्रकृतिमा दुर्लभ भोटेलहरा छ भन्ने पुनःयकीन भएको छ ।

खोजका क्रममा मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन क्षेत्रमा दुर्लभ भोटेलहरा फेला परेको वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिनुभयो । “खोजका क्रममा हालसम्म मकवानपुरमा आठ भोटेलहराका बिरुवा फेला परेका छन्, खोजी कार्य अझै जारी छ”, उहाँले भन्नुभयो ।

वनस्पति विभागबाट यहाँ सरुवा भएर आउनेबित्तिकै पराजुलीले सङ्कटापन्न वनस्पतिका रुपमा रहेको भोटेलहराको खोजी गर्नुपर्छ भन्ने सोच राख्नुभएको थियो । “वानस्पतिक अन्वेषण तथा सर्वेषणबाट नेपालको तनहुँ, सङ्खुवासभा र मकवानपुरमा मात्र पाइने थाहा लागेको थियो, तर मकवानपुरमा वृन्दावन क्षेत्रमा पाइने भनिएको भोटेलहरा सो क्षेत्रमा नभेटिएपछि थप खोजी गर्न थालेको थिएँ”, उहाँले भन्नुभयो । भोटेलहराको खोजीमा पराजुलीको साथमा वनस्पति अनुसन्धान कार्यालयका कर्मचारीसमेत लागि पर्नुभएको थियो ।

मकवानपुरको मनहरी, लोथर, फापरवारी, गढी, भैँसे, चुरियामाई, भीमफेदीलगायतका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएपछि मकवानपुरबाटै लोप भएको होकि भन्ने शङ्का उब्जिरहेका बेला यात्राको क्रममा ठिङ्गनमा भोटेलहराको बोट भेटिएको पराजुलीले बताउनुभयो । “कान्ति लोकपथ हुँदै काठमाडौँ जाँदै थिएँ, बकैया– ११ को सिमात खोलाको पुल नजिक गाडी रोकेर २०० मिटरजति भित्र खोजी गर्दा भोटेलहराको बोट भेटियो”, उहाँले खुशी हुँदै भन्नुभयो । भोटेलहराको बोट भेटिएपछि त्यसको सानो हाँगा लिएर राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाका लागि लगेको र सो क्रममा वनस्पति विभागका महानिर्देशकलाई समेत देखाएको उहाँले सुनाउनुभयो ।

पराजुली काठमाडौँबाट फर्किएपछि सोही क्षेत्रमा गएर खोजी गर्दा अरु थप सात बोट फेला परेका हुन् । पराजुलीलाई भोटेलहरा खोज्न बकैया–११ का वडाध्यक्ष गोपालबहादुर नेसुर, सिउले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्रबहादुर स्याङ्तान र स्थानीय बासिन्दाले सहयोग गर्नुभएको थियो । भेटिएका भोटेलहराका बोटलाई अहिले तारबारसहित संरक्षण गर्नाका साथै सो स्थानमा सूचनामूलक बोर्डसमेत राखिएको वडाध्यक्ष नेसुरले बताउनुभयो ।

भोटेलहरा खोज्ने क्रममा अनुसन्धानकर्ता पराजुलीले भोटेलहराको बोट फेला पार्ने व्यक्तिलाई रु एक हजार प्रोत्साहनस्वरुप उपलब्ध गराउने घोषणासमेत गर्नुभएको थियो । सो घोषणापछि स्थानीयवासीले थप पाँच भोटेलहराका बोट फेला पारेपछि मकवानपुरमा भेटिएका भोटेलहराको सङ्ख्या आठ पुगेको वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीले जानकारी दिनुभयो । फेला परेका आठमध्ये फलसहितका भोटेलहरासमेत छन् ।

के हो भोटेलहरा ?

वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीका अनुसार भोटेलहरा सङ्कटापन्न सूचीमा रहेको वनस्पति हो । नेपालमा यसको प्राकृतिक उपलब्धताको सुनिश्चित गर्नुमै यसको महत्व रहेको छ । वनस्पति विज्ञानमा निटासी परिवारमा पर्ने निटम जातिको वनस्पतिका विश्वभर करिब ४० प्रजाति रहेको अध्ययनले देखाएका छन् ।

सोमध्ये नेपालमा पाइने प्रजाति निटुमोन्टलम हो । यसको स्थानीय नाम भाटेलहरा हो । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (साइटिस महासन्धि), २०७३ को पक्षराष्ट्र भएका कारण यसको कार्यान्वयनको लागि नेपालले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्ने ऐन २०७३ र नियमावली २०७६ ल्याएको छ । साइटिस महासन्धिमा रहेका तीन अनुसूचीमध्ये भोटेलहरा अनुसूची ३ मा पर्दछ ।

भोटेलहरा ढिलो बढ्ने सदावहार वनस्पति हो । यो एक लहरा खालको वनस्पति हो । भाले र पोथी बिरुवा अलगअलग हुने भएका कारण यिनीहरूमा परागसेचन हुन नसकेर पनि यो प्रजातिका नयाँ बिरुवा विस्तार नभएको पराजुलीले बताउनुभयो । यसको फल दम खोकीमा उपयोगी हुने अध्ययनले देखाएका छन् ।

नेपालमा भोटेलहराको अध्ययन

वनस्पति अनुसन्धान केन्द्रका प्रमख वरिष्ठ वैज्ञानिक अधिकृत पराजुलीका अनुसार राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाको अभिलेखअनुसार सन् १९६५ मा सबैभन्दा पहिले एमएल बेनर्जी नेतृत्वको समूहले पूर्वी नेपालको सिदुवा क्षेत्र आसपासबाट भोटेलहरा सङ्कलन गरेको थियो ।

यसैगरी सन् १९६६ मा मकवानपुर वृन्दावन वनस्पति केन्द्र क्षेत्रबाट सङ्कलन गरिएको थियो । त्यसयता रतुवाखोला, चुलाचुली, चितवन, सङ्खुवासभाका विभिन्न स्थान र तनहुँबाट हर्वेरियम सङ्कलन भएको पाइएको छ । सङ्खुुवासभाको नुम क्षेत्र, तनहुँको ढोरफिर्दी र ढोरबाराही मन्दिर क्षेत्रबाट सङ्कलन गरिएको अभिलेख छ ।