बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित

बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनीलजङ्ग शाहले राससलाई जानकारी दिनुभयो । बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर यात्रु बोक्ने सवारीका विषयमा महाशाखाको फोन नं १०३ खबर गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।

सरकारले असार २८ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको थियो । अन्तर प्रदेश चल्ने यातायातमा भाडा बढाइएकामा काठमाडौँ उपत्यका र जिल्ला जिल्लामा समेत बढी लिइएको यात्रुको गुनासो छ । प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार स्थानीय सरकारलाई रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल बताउनुहुन्छ । दुवै सरकारले अहिलेसम्म भाडा बढाउने निर्णय गरेका छैनन् । भाडा बढाउनेलाई कारबाही पनि नगरेकामा यात्रुको गुनासो छ ।

न्यूनतम चार किमी यात्रा गर्दा रु १४ भाडा तोकिएकामा हाल रु २० उठाउन थालेको यात्रुको भनाइ छ । अठ्ठाइस प्रतिशत भाडा बढेकाले रु २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ । यसरी भाडा लिँदा परिचालकले टिकट भने दिँदैनन् । यात्रु वसन्ती महर्जन जनचासोका विषयमा कुनै पनि तहका सरकारले अनुगमन र कारबाही नगर्दा मनपरी भाडा असुली भइरहेको बताउनुहुन्छ । स्थानीय सरकारले बजार अनुगमनसमेत नगर्दा बजार पनि कोभिडसँगै बढेको उहाँको गुनासो छ । जनप्रतिनिधिलाई जनताका समस्याभन्दा अन्य विषयमै बढी ध्यान जान थालेकाले सास्ती व्यहोर्नुपरेको दुःखेसो पोख्न थालेका छन् ।

यो पनि – सुर्खेतका स्थानीय तहसम्मै पुग्यो कोरोना विरुद्धको खोप

कर्णाली प्रदेशको सुर्खेत कोभिड–१९ बाट बढी प्रभावित जिल्लामा पर्दछ । पछिल्लो तथ्याङ्कअनुसार यहाँ ११ हजार १६३ सङ्क्रमितमध्ये २०७ को मृत्यु भइसकेको छ । दुई ३६ सक्रिय बिरामीमध्ये २०९ घरमा, १७ अस्पताल, तीन भेन्टिलेटर र चार आइसियूमा उपचार गराइरहेका छन् । दैनिक कूल परीक्षणको २५ देखि ३० प्रतिशत सङ्क्रमितको पहिचान हुने गरेको सुर्खेत राष्ट्रिय तथ्याङ्कमा पनि उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । कोभिड सङ्क्रमणको यो बढ्दो ग्राफसँगै खोप अभियानले पनि तीव्रता पाएको छ । गत माघ १४ गतेदेखि शुरु कोरोना विरुद्धको खोप अभियान अहिले यहाँका गाउँ–गाउँसम्म पुगेको छ । खोप अभियान पाँचौँ चरणसम्म आइपुग्दा सर्वसाधारणले सहज खोप पाउन थालेका छन् ।

सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका, लेकवेशी नगरपालिका र भेरीगङ्गा नगरपालिकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न गरिसकेका छन् । जनस्वास्थ्य सेवा कार्यालयले तीन पाँच वटा स्थानीय तहले लक्षित वर्गलाई जोनसन र भेरोसेल खोप लगाइसकेको, बाँकी चार तहले साउन २१ र २२ गते लगाउने कार्यक्रम रहेको जनाएको छ । गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा अहिले नियमित खोप अभियान चलिरहेकाले उक्त मितिमा कोरोना विरुद्धको जोनसेन खोप लगाइनेछ ।

कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले सुर्खेतको कूल जनसङ्ख्याको १८ प्रतिशतले कोरोना विरुद्धको खोप पाइसकेको जानकारी दिनुभयो । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा करिब चार लाख जनसङ्ख्या छ । “सात प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्, जोनसन खोप एक मात्रा लगाए हुने भएकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि पूर्ण खोप लगाउनेको सङ्ख्या बढ्नेछ”, उहाँले भन्नुभयो, “कोभिशिल्डको दोस्रो मात्रा छुटेकालाई पनि छिट्टै लगाउँदै छौँ, सरकारले तोकेका लक्षित वर्गसँगै प्राथमिकतामा परेका अन्यलाई खोप लगाउने प्रबन्ध मिलाएका छौँ ।” कर्णालीका अन्य जिल्ला जस्तो खोप भण्डारणमा समस्या नभएकाले यहाँ अभियानले तीव्रता पाएको उहाँको भनाइ छ ।