अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चरक मेमोरियल अस्पताल पोखराका बीचमा स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ । नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल ‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार सम्बन्धमा एन्फा र चरक मेमोरियल अस्पतालबीच आज सम्झौता भएको हो । सम्झौतामा एन्फाको तर्फबाट केन्द्रीय सदस्य एवं स्वास्थ्य समितिका संयोजक निरज खड्गी र एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र म्यानेजर प्रदीप शर्माले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार राष्ट्रिय फुटशल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीलाई सम्पूर्ण स्वास्थ्य उपचारको सुविधा अस्पतालले उपलब्ध गराउने भएको छ । फुटशल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निःशुल्क उपचार प्रदान गर्नेछ भने औषधिमा १० प्रतिशत छुट दिने भएको छ । त्यसै गरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ । राष्ट्रिय फुटशल लिगमा देशका सात प्रदेशबाट गरी १० टिमको सहभागिता रहने फुटशल कमिटीका प्रमुख गुरुङले जानकारी दिनुभयो । प्रतियोगिता पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने बताइएको छ ।
यो पनि – बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित
यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनीलजङ्ग शाहले राससलाई जानकारी दिनुभयो । बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर यात्रु बोक्ने सवारीका विषयमा महाशाखाको फोन नं १०३ खबर गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।
सरकारले असार २८ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको थियो । अन्तर प्रदेश चल्ने यातायातमा भाडा बढाइएकामा काठमाडौँ उपत्यका र जिल्ला जिल्लामा समेत बढी लिइएको यात्रुको गुनासो छ । प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार स्थानीय सरकारलाई रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल बताउनुहुन्छ । दुवै सरकारले अहिलेसम्म भाडा बढाउने निर्णय गरेका छैनन् । भाडा बढाउनेलाई कारबाही पनि नगरेकामा यात्रुको गुनासो छ ।
न्यूनतम चार किमी यात्रा गर्दा रु १४ भाडा तोकिएकामा हाल रु २० उठाउन थालेको यात्रुको भनाइ छ । अठ्ठाइस प्रतिशत भाडा बढेकाले रु २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ । यसरी भाडा लिँदा परिचालकले टिकट भने दिँदैनन् । यात्रु वसन्ती महर्जन जनचासोका विषयमा कुनै पनि तहका सरकारले अनुगमन र कारबाही नगर्दा मनपरी भाडा असुली भइरहेको बताउनुहुन्छ । स्थानीय सरकारले बजार अनुगमनसमेत नगर्दा बजार पनि कोभिडसँगै बढेको उहाँको गुनासो छ । जनप्रतिनिधिलाई जनताका समस्याभन्दा अन्य विषयमै बढी ध्यान जान थालेकाले सास्ती व्यहोर्नुपरेको दुःखेसो पोख्न थालेका छन् ।रासस
प्रतिक्रिया