कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्र नगरपालिकाको लाटीकोइलीमा निःशुल्करुपमा डाक्टर दम्पतीले सेवा दिन थालनुभएको छ । लाटीकोइलीको स्वास्थ्यचौकीमा डा शुभ श्रेष्ठ र डा कृतिका थापा श्रेष्ठले बिरामीलाई जाँच शुरु गर्नुभएको छ । बजारमा आएर महँगो शुल्क तिरेर लिइने विषशेज्ञसहितको स्वास्थ्य सेवा डाक्टर दम्पतीले गाउँमा निःशुल्क दिन थाल्नुभएको हो ।
आफूले सिकेको ज्ञानलाई थोरै भए पनि केही अंश सामाजिक सेवामा लगाउने उद्देश्यले निःशुल्क सेवा दिने गरेको हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठले बताउनुभयो । आफूले काम गर्ने शुल्कसहितको सेवालाई कम गरेर सामाजिक सेवावापत निःशुल्क सेवा दिन शुरु गरेको श्रेष्ठको भनाइ छ । सामान्य स्वास्थ्य सेवा लिन पनि बजार जानुपर्ने अवस्था अन्त्य गर्न गाउँमा विशेषज्ञ सेवा शुरु गरेको हाडजोर्नी रोग विशेषज्ञ उहाँले बताउनुभयो ।
लाटीकोइलीमा विशेषज्ञसहितको स्वास्थ्य सेवा गरेवापत कुनै पनि सुविधा नलिने श्रेष्ठको भनाइ छ । स्वास्थ्यचौकीमा आफ्नो विशेषज्ञ सेवा निःशुल्करुपमा निरन्तर दिने श्रेष्ठले जानकारी दिनुभयो । वीरेन्द्रनगरको देउती अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञ डा श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतमा स्त्रीरोग विशेषज्ञ डा थापा कार्यरत हुनुहुन्छ ।
यो पनि – स्वास्थ्यकर्मी कु’टिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन
काठमाडौँ, १८ साउन । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिने भएको हो । खोप आज बिहान १०ः०० बजेदेखि उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीय रामकाजी थापालगायतको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफि मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको राससलाई जानकारी दिनुभयो ।
नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ । नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ । रासस
प्रतिक्रिया