किसानलाई आधुनिक औजार वितरण

किसानलाई आधुनिक औजार वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका छन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।आलितालका गाईपालन गर्ने ७५ परिवार, स्थानीय कुखुरापालन गर्ने १०० परिवार, बङ्गुरपालन गर्ने २५ परिवार, बाख्रापालन गर्ने ३० परिवार, आलुखेती गर्ने १०० परिवार, बेमौसमी तरकारी उत्पादन गर्ने ५० परिवार र बहुउद्देश्यीय नर्सरीका १० गरी ३९० परिवारलाई समूहगतरुपमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिएको छ ।

गाउँपालिका र युएनडिपीको सहयोगमा सामाजिक वातावरण तथा उद्यम विकास समाज नेपाल (सिड्स नेपाल) को सहजीकरणमा किसानलाई प्रविधि हस्तान्तरण गरिएको हो । गाउँपालिका उपाध्यक्ष जलाकुमारी विष्टद्वारा कृषकलाई दुग्ध व्यवसायका लागि डि फ्रिज, मिल्क एनालाइजर, घाँस काट्ने मेसिन, कोदो र गहुँ फल्ने मेसिन, थ्रेसर, धान काट्ने र गोडने मेसिन, मकै छोडाउने मेसिन, ह्याचरी मेसिनलगायतका करिब रु ७५ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको जनाइएको छ ।

कोभिड प्रभावित कृषकलाई सहज कृषि तथा पशुपालन, उत्पादन वृद्धि र व्यावसायिकताका लागि मागका आधारमा आवश्यक कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो । दिगो आयआर्जजका लागि प्रविधिले महत्वपूर्ण टेवा पुगाउने युएनडिपीका सुदूरपश्चिम प्रमुख वैजन्ती गिरी सिंंहले बताउनुभयो ।महामारीबाट प्रभावित युवा, एकल महिला दलित जनजातिलगायत समुदायका विपन्न परिवारलाई कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने र आर्थिक उपार्जनको दिगो माध्यमका उपकरण हस्तान्तरण गरिएका हुन् । उपकरण पाएपछि स्थानीय कृषक उत्साहित भएको आलिताल–७ चाइबान्नीगडाका अगुवा कृषक गणेश महराले बताउनुभयो ।

धान काट्ने चुट्ने, गाईबस्तुका लागि घाँस काट्ने मेसिन औजार तथा प्रविधि पाएपछि आफूहरुको दैनिकी पनि सहज र समयको बचतसँगै आम्दानीका लागि पनि उत्साहजनक रहेको कृषक पार्वती विष्टले बताउनुभयो । यति ठूलो रकम बराबरको यान्त्रिक सहयोग निरन्तर प्रयोगमा आउनुपर्ने र आम्दानीका स्रोतलाई पारिवारिक जीवनमा सफल देखिनुपर्ने तथा अझै व्यावसायिक बनाउन कृषक थप क्रियाशील रहनुपर्ने वडा नंं ५ का वडाध्यक्ष प्रकाश बोहराले बताउनुभयो । रासस

यो पनि – अशक्तलाई घरमै सामाजिक सुरक्षा भत्ता

बनेपा, १८ साउन । सामाजिक सुरक्षा भत्ता पाउने अशक्त नगरवासीका लागि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले घरघरमा नै पुगेर भत्ता वितरण गर्न थालेको छ । बैंकसम्म पुगेर गत आर्थिक वर्षको तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता लिन बाँकी रहेकालाई नगरपालिकाको सामाजिक सुरक्षा शाखाका कर्मचारीसहित बैंकका कर्मचारीको टोलीले भत्ता वितरण गर्न शुरु गरेको हो । टोलीले घरघरमा नै पुगेर मोबाइल बैैंकिङमार्फत भत्ता वितरण गर्न थालेको नगरपालिकाले जनाएको छ । सोही क्रममा आइतबार वडा नं २ का २० व्यक्तिलाई लुम्बिनी विकास बैंकका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको थियो ।

बैंकसम्म जान नसक्ने दीर्घरोगी तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गर्न थालिएको नगरपालिकाको सामाजिक सुरक्षा शाखा प्रमुख श्याम खनालले बताउनुभयो । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने सूचीमा तीन हजार २९१ रहेका छन् । त्यसमध्ये मासिक रु तीन हजार भत्ता पाउने ७० वर्षमाथिका ज्येष्ठ नागरिक एक हजार ९०२ रहेका छन् भने रु दुई हजार मासिक सामाजिक सुरक्षा भत्ता पाउने ६० वर्षमाथिका दलित ज्येष्ठ नागरिकको सङ्ख्या १२१ रहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै रु दुई हजार मासिक भत्ता पाउने ज्येष्ठ नागरिक एकल महिला ३९३ तथा रु दुई हजार नै भत्ता पाउने एकल महिला ५०२ रहेका छन् । त्यसैगरी मासिक रु तीन हजार भत्ता पाउने पूर्ण अपाङ्गता भएकाको सङ्ख्या ७१, मासिक रु एक हजार ६०० पाउने आंशिक अपाङ्गता भएकाको सङ्ख्या ७५ तथा मासिक रु ४०० भत्ता पाउने दलित बालबालिका (जन्मेदेखि पाँच वर्षसम्मका)को सङ्ख्या २२७ रहेको नगरपालिकाको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।

नगरपालिकाले २०७५ सालदेखि नै अशक्त र दीर्घरोगीलाई घरघरमा नै बैंकका कर्मचारीसहित पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । यसपटक पनि आइतबारबाट शुरु भएको भत्ता वितरण कार्यक्रम ११ वटै वडामा क्रमशः सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विगतदेखि नै मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ भने यस वर्षदेखि ज्येष्ठ नागरिकका लागि मुस्कानसहितको सेवाअन्तर्गत दाँत राख्ने, कान नसुन्नेका लागि सहयोगी उपकरण व्यवस्था गर्नेलगायत योजना अघि सारेको नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले बताउनुभयो । रासस