मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना

मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी छन्त्यालले जानकारी दिनुभयो ।

केन्द्रमा मुसिकोट नगरपालिका– २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । त्यसका साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गर्ने छन्त्यालले बताउनुभयो ।बीउ उत्पादनका लागि मुसिकोट नगरपालिका–३ मा रु ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौ महिनादेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरु गरिने छन्त्यालले बताउनुभयो ।

मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको सङ्ख्या छ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०÷२० मेट्रिकटनका दुई वटा प्रशोधन केन्द्र स्थापना भएका छन् । मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुङ्गा नगरपालिका–१० मा २०÷२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिनुभयो ।मालिका, मदाने, इस्मा र रेसुङ्गामा आर्थिक वर्ष २०७३÷७४ देखि ७६÷७७ को अवधिमा स्रोत केन्द्रको निर्माण सम्पन्न भएको हो भने मुसिकोटको स्रोत केन्द्र आव ०७७÷७८ मा निर्माण सम्पन्न भएको काफ्लेले जानकारी दिनुभयो ।

जिल्लाका सबै बीउ प्रशोधन केन्द्रबाट एकपटकमा १५० मेट्रिकटन बीउ उत्पादन गर्न सकिने कार्यालय प्रमुख काफ्लेको दाबी छ । गुल्मीमा मनकामना तीन, अरुण दुई, रामपुर कम्पोजिटलगायत मकैको बीउ उत्पादन हुँदै आएको छ । रासस

यो पनि – पहुँच मार्ग आन्तरिक पर्यटकको रोजाइमा

महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको पहुँच मार्ग यतिबेला फोटो सुटको हटस्पट बनेको छ । भीमदत्त नगरपालिका–११ भुजेला र १२ ऐरी क्षेत्रमा पक्की सडक बनेसँगै छेउमै बगिरहेको महाकाली र पुल आन्तरिक पर्यटकको रोजाइ बनेको छ । युवापुस्ता दिनभरजसो उक्त सडकमा आउने र फोटो कैद गर्नुका साथै भिडियो र टिकटक बनाउनेको भीडभाड रहने गरेको स्थानीय रामबहादुर देउवाले बताउनुभयो । “शनिबार त यहाँ सडकमा घुइँचो नै लागेको हुन्छ”, देउवाले भन्नुभयो, “चिल्लो सडक, छेउमा बग्ने महाकाली र बनिरहेको पुलले सबैलाई आकर्षित गरेको छ ।”

यहाँ फोटो सेसनका लागि दैनिक २०० देखि एक हजार जनासम्म पुग्ने गरेको उहाँको भनाइ छ । सडक बनेको विभिन्न ठाउँमा युवायुवती समूहमा आएर टिकटक बनाउन निकै व्यस्त देखिन्छन् । पछिल्लो केही समययता सडकमा भीडभाड बढेपछि यहाँ आइसक्रिम, चटपटेलगायत किराना ससाना पसल सञ्चालनमा आएका छन् । भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर देउपाले बाटो निर्माण पूरा हुन नपाउँदै युवाहरुको भीडभाड सो क्षेत्रमा बढेको बताउनुभयो । “बिदाको दिन त यहाँ भीडभाडको सीमा नै रहँदैन”, उहाँले भन्नुभयो, “सडकमा जथाभावी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने र सामाजिक विकृति फैलिने खालका गतिविधिमाथि स्थानीय प्रशासनलाई निगरानी बढाउन अनुरोध गरिएको छ ।”

उहाँले पुलसँगै निर्माण हुने चार वटा ठूलो पोखरीसमेत बने सो क्षेत्र पर्यटकीय गन्तव्य हुनेमा विश्वस्त रहेको बताउनुभयो । “भीडभाड धेरै हुन थालेपछि अब दुई÷तीन दिनमा वडामा प्रहरी प्रशासनसित संयुक्त बैठक डाकेर छलफल गर्ने योजना छ”, उहाँले भन्नुभयो, “अनाश्वयक भीडभाडले दुर्घटनाको जोखिमसमेत बढेको छ ।”पुलसँगै वारितर्फ गड्डाचौकी र पारि दोधारा–चाँदनीमा डेढ किलोमिटर छ लेनको सडक निमार्णाधीन अवस्थामा रहेको छ । पुल निर्माण कम्पनीका इञ्जिनीयर किशोरराज पाण्डेयले सडकमा बढिरहेको भीडभाडले दुर्घटनाको जोखिम बढेको बताउनुभयो । “चिल्लो सडक, महाकाली र पुलको मनोरम दृश्यले स्थानीयलाई लोभ्याएकै छ ।”