उपचारदाताको खोजीमा जोसिली मधुमाया

उपचारदाताको खोजीमा जोसिली मधुमाया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाल्यकालमा बिरामी परेर हातखुट्टा कँुजिए पनि जोश र जाँगर भने कोहीभन्दा कम छैन पोखरा महानगरपालिका– ३३ भरतपोखरी बरमाझथर निवासी मधुमाया पौडेलको ।विसं २०३६ साउनमा जन्मनु भएकी उहाँको १२ वर्षको हुँदा टाइफाइड बिग्रनुका साथै नसामा पनि समस्या भएर हातखुट्टा कँुजिएका थिए । त्यसयता पोखराको गण्डकी अस्पतालगायत स्थानमा उपचारका लागि लगिएकामा स्वास्थ्यमा सुधार आउन नसकेको उहाँकी आमा मायादेवीले बताउनुभयो ।

मध्यमवर्गीय परिवारमा थप उपचारका लागि ठूलो रकम खर्चनुपर्ने बाध्यताले पोखरा बाहिर जान सम्भव नहुँदा वर्षौंसम्म कँुजिएर बस्न बाध्य हुनुपरेको मधुमायाको दुःखेसो छ ।कक्षा २ मा पढ्दै गर्दादेखि नै बिरामी भएर विद्यालय जान नसके पनि मधुमायाले स्थानीय चण्डी माध्यमिक विद्यालयमा कक्षा ८ सम्मको अध्ययन पूरा गर्नुभएको छ । स्मरण शक्ति तेजिलो भएकी उहाँले विसं २०५७ मा एक संस्थाको सहयोगमा ललितपुरको लगनखेल पुगी छ महिनाको सिलाइकटाइ तालिम लिएपछि त्यसयता स्वरोजगार जस्तै हुनुभएको छ ।

बालबालिकाका कपडाका साथै महिलाका चोलो, ब्लाउजलगायत सिलाउनका लागि स्थानीयवासी मधुमायाकोमा पुग्ने गर्छन् । सिलाइबाट आएको पैसाले जेनतेन घरखर्चमा सहयोग भएको छ नै, गाउँ समाजका विभिन्न सामाजिक काममासमेत सघाउँदै आउनुभएकी उहाँले धेरथोर रकम सहयोग गरेर अरुका लागि पनि अनुकरणीय हुनुभएको छ । दाइने हात खासै नचल्ने र देब्रे हातका भरमा कपडा सिलाउने गरेको बताउँदै उहाँले उपचार भएमा अझै पनि धेरै गर्न सक्ने आँट देखाउनुभयो । हातखुट्टा कुँजिएर बस्नु मधुमायाका बाध्यता भए पनि सामाजिक सञ्जालका माध्यमबाट उहाँले समाजका हरेक गतिविधिलाई अभिरुचिपूर्वक नियाल्दै आउनुभएको छ ।

टोल छिमेकका गतिविधिको जानकारी लिन र गाउँमा कसैको जानकारी एवं मोबाइल नम्बर आवश्यक भए पनि बालकदेखि वृद्धसम्म मधुमायाकोमा पुग्ने गर्दछन् । उपचार गर्न सके आफ्ना लागि मात्रै नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको र आफू यतिखेर उपचार गरिदिने व्यक्ति एवं संस्थाको खोजीमा रहेको उहाँले बताउनुभयो । “नयाँ नयाँ प्रविधिका विकासले अहिले धेरै जटिल किसिमका रोगको उपचार हुँदै आएको छ”, मधुमायाले भन्नुभयो “खर्चिलो उपचारका लागि पैसा नभएकै कारण कुजिएर बस्नुपर्दा दुःख लाग्दो रहेछ ।”

यो पनि – गोकर्णेश्वर नगर क्षेत्रका योग शिविरलाई सामग्री

गोकर्णेश्वर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र सञ्चालित १३ वटा योग शिविरलाई आवश्यक सामग्री प्रदान गरेको छ । जोरपाटीस्थित भैरव अर्याल स्मृति भवनमा आइतबार आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले १३ वटै योग शिविरका संयोजकलाई म्याट, साउण्ड सिस्टम, पङ्खालगायत आवश्यक सामग्री प्रदान गर्नुभएको हो ।

कार्यक्रममा नगर प्रमुख चालिसेले नगरपालिका क्षेत्रभित्र योगको विकास र अपनत्वका लागि नगरपालिकाले योग समिति गठन गर्ने तयारी गरेको जानकारी दिनुभयो । नगरपालिकाका ९ वटै वडामा ज्येष्ठ नागरिक क्लब निर्माणका लागि प्रत्येक वडामा रु २० लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर क्षेत्रभित्र उपयुक्त स्थानमा रु ५० लाखको लागतमा तत्काल योगहल निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

गोकर्णेश्वर महादेव मन्दिरदेखि उत्तरवाहिनीसम्मको क्षेत्रलाई उत्तरगया धामका रूपमा विकास गर्नेगरी कार्य प्रारम्भ भएको छ । वडा नं ५ का अध्यक्ष नारायणप्रसाद सुवेदी र वडा नं ६ का अध्यक्ष रमेश अर्यालले वडाभित्र सञ्चालित योग शिविरलाई थप व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।सो अवसरमा योग शिक्षक अच्युत अर्याल, पतञ्जलि योग समिति काठमाडौँका अध्यक्ष सुरेन्द्र रिमाल र पतञ्जलि योग समिति गोकर्णेश्वर नगर संयोजक रामप्रसाद सञ्जेलले योगको आवश्यकता र महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

स्थानीय जडीबुटी वितरण

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख एवं गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले तुलसी, गुर्जो, निम, पत्थरचट्टालगायतका जडीबुटीको बिरुवा वितरण गर्नुभएको थियो । गुर्जो अभियानकर्मी राजलवटले जडीबुटीको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र मानिसलाई स्वस्थ बनाउन सहयोग गर्ने भएकाले स्थानीय जडीबुटीको प्रवद्र्धनका लागि अभियान सञ्चालन गरेको बताउनुभयो ।रासस