ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–कोरियाको आपसी चासो र सहयोगका विषयमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले दुई देशबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा राजदूत पार्कले माथिल्लो त्रिशूली–१ परियोजनाबारे जानकारी गराउनुभयो । आगामी अक्टोबरमा शिलान्यास गर्नेगरी उक्त परियोजना अगाडि बढाइएको उहाँले बताउनुभयो । राजदूत पार्कले कोरियाली सरकारी स्वामित्व रहेको कम्पनीको लगानी रहेको उक्त परियोजना अगाडि बढाउनका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक काम अघि बढाइदिनसमेत अनुरोध गर्नुभयो । उहाँले उक्त आयोजना सम्पन्न गर्न सके दुई देशबीच आपसी सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । जवाफमा मन्त्री भुसालले जलविद्युत् क्षेत्रका आयोजनाहरू समयमै सम्पन्न हुनुपर्नेमा जोड दिँदै अप्पर त्रिशूली आयोजना निर्माणका लागि नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाउने बताउनुभयो । कोरियाली लगानी, सहयोग र साझेदारीका योजनालाई समयमै सम्पन्न गर्दै आपसी विश्वास अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा उहाँको जोड थियो ।
त्यसैगरी मन्त्री भुसालले कोरियाले शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै इपिएस कार्यक्रमअन्तर्गत कोरिया जाने तयारीमा रहेका नेपालीलाई आवश्यक सहजीकरण गर्न आग्रह गर्नुभयो । उहाँले कोभिड–१९ का प्रोटोकल बनाएर नेपाली युवालाई गन्तव्यसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रमा कोरियाको राम्रो अनुभव रहेको बताउँदै मन्त्री भुसालले त्यस्ता क्षेत्रको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्न सकिने बताउनुभयो ।
राजदूत पार्कले कोरियन भाषा परीक्षा पास गरेका नेपालीलाई कसरी गन्तव्यसम्म पु¥याउने विषयमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले कृषि क्षेत्रमा थप सहकार्यका लागि आफूले कोरियाली विकास नियोगमार्फत सहकार्य गर्ने बताउनुभयो ।
यो पनि – दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण
काठमाडौँ, १८ साउन । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिका पदाधिकारी घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।
दार्चुलामा भएको घटना गम्भीर, दुखद् र सम्वेदनशील रहेको बताउँदै गृहमन्त्री खाणले भन्नुभयो, “जयसिंहसँगै यात्रामा रहेका अन्यसँग सोधपुछ्को कार्य भइरहेको, नदीमा खसेका र नभेटिएका हुनाले नेपाल–भारत दुवैका सुरक्षाकर्मीबाट खोजतलास भइरहेको छ । उहाँले दार्चुला घटनाका सम्बन्धमा व्यक्त विचार, सूचना र धारणालाई गम्भीरतापूर्वक लिने र घटनाको सत्यतथ्य आएपछि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो । नेपालका केही नदीमा वारपार तर्नका लागि अहिले पनि तुइनको प्रयोग भइरहेको जानकारी दिँदै गृहमन्त्री खाणले महाकालीमा चार वटा तुइन विस्थापित गरी झोलुङ्गेले पुल निर्माण कार्य अघि बढिरहेको बताउनुभयो ।
स्थानीय व्यास गाउँपालिकाबाट खलङ्गा जाने क्रममा यात्रालाई छोटो बनाउन धामीले तुइनको प्रयोग गर्नुभएको बताइएको छ । धामी महाकाली नदीमा खसेको सूचनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीबाट वास्तविक छानबिनका लागि स्थलगत अनुसन्धान गरेको थियो । महाकाली नदीमा खसेर हराइरहेका धामीको खोजीका लागि त्यस क्षेत्रका नौ र पाँच वटा प्रहरी वेशलाई परिचालन गरिएको जानकारी दिइएको छ ।
यसैबीच, नेकपा एमालेकी सांसद कोमल ओलीले दार्चुलामा भएको घटनाको भत्र्सना गर्दै सत्यतथ्य छानबिनका लागि माग गर्नुभयो । सांसद् चक्रप्रसाद घिमिरेले दार्चुला घटनामा भारतसँग वार्ता गर्न ढिलाइ गर्न नहुने औँल्याउनुभयो । सांसद् सुन्दर श्रेष्ठले सरकारले दार्चुला घटनाका बारेमा भारतीय पक्षसँग कुरा गर्न नचाहेको हो भनी प्रश्न गर्नुभयो । सांसद् विमला राई पौडेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक वर्षमा ३०० पुल बनेको भए पनि भारत सरकारको अनुमति नहुँदा महाकालीमा तुइन बिस्थापित नभएको धारणा व्यक्त गर्नुभयो ।
सांसद् भगवती न्यौपानले दार्चुलामा युवा बेपत्ता भएको घटनामा प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बलले तुइन काटेको देखेको भन्ने खबर आएकाले सोही आधारमा घटनाको सत्यतथ्य पत्ता लगाउन कोसिस गर्नुपर्ने धारणा राख्नुभयो । सांसद् तुलसाकुमारी दाहालले सिन्धुपाल्चोकका पीडितले चाँडो न्याय पाउनुपर्नेमा जोड दिनुभयो । रासस
प्रतिक्रिया