अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढीपीडितलाई सहयोग

अस्ट्रेलियामा बस्ने नेपालीद्वारा बाढीपीडितलाई सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अस्ट्रेलियामा बस्दै आएका नेपालीले मेलम्चीका बाढीपीडितलाई सहयोग गरेको छ । मेलम्ची नगरपालिका–११ स्थायी घर भई हाल अस्टे«लियामा बस्दै आउनुभएका देवराज दुलालको सक्रियतामा सङ्कलित रकममध्ये रु दुई लाख ७५ हजार मेलम्चीका बाढीपीडितहरुलाई सहयोग गरिएको हो । एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेशन असपाली ग्रुप तथा नेपालीहरुबाट सो रकम सङ्कलन गरी बाढीपीडितहरुका लागि पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चुडामणि दुलालले जानकारी दिनुभयो ।

यसअघि नै एनआरएनएबाट नगरको राहत कोषमा जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी रु एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई सोमबार चुडामणि दुलाल र योगप्रसाद दुलालले सो सहयोग राशिको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गर्नुभयो । बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने वितरणको संयोजन गरिरहनुभएका चुडामणि दुलालले जानकारी दिनुभयो । रासस

यो पनि – मनाङका बाढीपीडितलाई ३० लाख बराबरको राहत वितरण

पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराउनुभएको छ । उहाँहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराउनुभएको हो । उहाँहरुले मनाङका चारवटै गाउँपालिकाका लागि राहत वितरण गर्नुभएको हो । उहाँहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पु¥याउनुभएको थियो ।

खराब मौसमका कारण खाद्यान्न पु¥याउन नसकिएका बाँकी ठाउँमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताउनुभयो ।त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसी शहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।मौसम सफा भएमा आज बिहानै निस्याङको मनाङ, नार्पाभूमि गाउँपालिकाका लागिसमेत गरी कूल ११ उडान भर्ने तयारी गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।

हेलिकप्टर लमजुङको बेँसीशहरमा राखिएको र मौसम सफा हुनेबित्तिकी मनाङका विभिन्न गाउँपालिकामा खाद्यान्न पु¥याउने गरिएको उहाँले बताउनुभयो । पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम लिएर हामलाई राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताउनुभयो ।त्यसैगरी नासोँ गाउँपालिकका उपाध्यक्ष कमलमाया गुरुङले सबै पालिका बगाएको र गाउँपालिकाको सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको अवस्थामा राहत आउँदा खुशी लागेको बताउनुभयो । रासस

यो पनि – बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिनुभयो । उहाँले जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा आग्रह गर्नुभयो ।

बाढी चनौटे बजार भएर बगिरहेको छ । यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो । खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो । बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एकमात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा छ ।

त्यस्तै बाढीले चार गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुई पक्की पुल र दुई घरको अवस्था अज्ञात छ । हेलम्बु–२ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुका वडा नं १ र २ जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो । रासस

यो पनि – मेलम्चीमा पुनः बाढी, सुरक्षित रहन आग्रह

मेलम्ची, १७ साउन (रासस) :सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ । मेलम्ची खोलामा पानीको सतह बढेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार ठूलो बाढी आउन थालेपछि प्रहरीले माइकिङ गरेर स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

अहिले मेलम्चीमा पानीको सतह बढेको र बाढी तालामाराङसम्म आइपुगेको स्थानीयवासी भीमसेन थापाले जानकारी दिनुभयो । पानी परेका कारण खोलामा पानीको सतह बढेको अनुमान हो । गए रातिदेखि आएको बाढीले गर्दा झण्डै दुई दर्जन घर बगाएको छ । चनौटेको रातो पुल बगाएको छ भने अरू नदी तटीय क्षेत्रका बस्ती कटान गरेको छ ।

यो पनि – मेलम्ची खोलाको मुहान गेग्य्रान बग्दा सिन्धुपाल्चोकमा ठूलो क्षति

मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न लागेको छ, कतै खसिरहेको पनि देखिन्छ भने कतै गेगरको घोल बगिरहेको स्पष्ट देखिन्छ । यसले सामान्य पानी पर्दा पनि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र र नदी तटीय क्षेत्र अझै ठूला जोखिममा रहेको प्रस्ट्याउने आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले निष्कर्ष छ ।

उहाँहरूका अनुसार अहिले नै खास कारण भन्न किने अवस्था छैन तर पनि मेलम्चीको शिर क्षेत्रमा हिमनदीले विगतमा थुपारेका गेग्य्रान बगेर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गराएको प्रारम्भिक अनुमान छ ।  आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले यकिन तथ्य आइनसके पनि मुहान क्षेत्रको श्रव्यदृश्य, तस्वीर र आज भएको स्थलगत अध्यनबाट विगतमा बसेको गेग्य्रान भूकम्पले हल्लाएर कमजोर बनाएको र भारी वर्षा हुँदा त्यसलाई बगाएर ठूला क्षति गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विज्ञसहितको टोली आज अध्ययन गरेर फर्किएपछि आकस्मिक रुपमा प्रारम्भिक अध्ययनबारे जानकारी गराएको हो । मेलम्ची माथिबाटै गेगरसहित बगाउँदै र नदी तटीय क्षेत्रसमेत कटान गर्दै आएको छ । गिट्टी, बालुवा गेग्य्रानसहित ठाउँठाउँँमा ठूलो मात्रामा जमेर बसेको पाइएको छ । सामान्य वर्षामा पनि गेगर बगेर आउने हुँदा जोखिम कायमै रहेको छ । ठाडो खोलामा बगेको गेगरको शक्ति बढ्दा खोला किनार कटान गर्दै आएर सबै सोहोरेर ल्याएको पाइएको छ । यसरी गेगरसहित आउँदा त्यसले क्षति बढाउने गर्छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिवकुमार बाँस्कोटा पहिले मुहान क्षेत्रमा हिउँ रहेको र अहिले हिउँ हराएको अध्ययनले देखाएको छ । उहाँ त्यो बेलाको हिम नदीले ल्याएको चीज थुप्रिएको र त्यसलाई भूकम्पले हल्लाएर कमजोर बनाएको अनुमान गर्नुहुन्छ । त्यही कमजोर भूभाग वर्षाले बगाएपछि त्यसले अन्य तटीय क्षेत्रसमेत कटान गर्दै आउँदा लेदोमा परिणत भएर ठूलो क्षति गराएको बाँस्कोटा अनुमान गर्नुहुन्छ । उहाँले भन्नुभयो, “घर बनाउँदा प्रयोग हुने गिट्टी, बालुवा मिसाएको घोल जस्तै निस्किएको देखियो, त्यो घोल बगाउँदा त्यसले गर्ने क्षति बढी हुन्छ, हेलम्बुमा अहिले त्यही देखिएको छ, मेलम्चीमा दुई खोलाको बहाव रोकिँदा बजार क्षेत्रमा ठूलो क्षति भएको हो ।” उहाँले यो अझै दोहोरिन सक्ने चेतावनी दिनुभयो ।

प्राधिकरणका हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले सोही कुरा दोहो¥याउँदै त्यही कमजोर भूभाग बगाएर असार १ गते पहिरो गएर एक छिन खोला रोकिएर बगाएको र अहिले पनि त्यहाँ जमेको गेगरलाई नै थप बगाएको पाइएको बताउनुहुन्छ । अध्ययन बाँकी नै रहेको बताउँदै उहाँले तत्काल बासस्थान सुरक्षित स्थानमा लैजानुपर्ने र माथिसम्मको अवस्थालाई क्याम्प नै खडा गरेर विस्तृत अध्ययन गर्न जरुरी रहेको पनि बताउनुभयो । विज्ञका अनुसार गेगर १५ मिटरसम्म उचाइसम्म जमेको पाइएको छ । यो सामान्य पानी पर्दा पनि बग्ने अवस्था छ ।

प्राधिकरणका प्रमुख अनिल पोखरेल हिमालय क्षेत्रकै यो निकै ठूलो क्षति भएको बताउनुभयो । यसले मेलम्ची र हेलम्बुमा मात्रै होइन दोलालघाट तथा तल्लो क्षेत्रमा समेत प्रभाव पारेको छ । उहाँले हेलम्बु र मेलम्चीमा भारी वर्षापछि आएको बाढी र क्षतिबारे विशेषज्ञ टोलीसहित स्थलगत अध्ययन गरिरहेको जानकारी दिनुभयो । आज हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोली हेलिकप्टरबाट विपद् क्षेत्रको स्रोतसम्म पुगी अवलोकन गरेर फर्किएको थियो । सोही टोलीले ल्याएको भिडियो र फोटोका आधारमा विज्ञले विश्लेषण गरेर प्रारम्भिक निष्कर्ष निकालेका हुन् । टोलीका अनुसार कतै झण्डै विमानस्थल जत्रै गेग्य्रान जमेर बसेको छ । अहिले पनि ठूलो मात्रामा झरिरहेको छ । त्यही बगेर आउँदा तल्लो क्षेत्रमा ठूलो क्षति हुन पुगेको र अझै क्षति हुने अनुमान गर्न सकिने देखिएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको इन्जिनीयरिङ अध्ययन संस्थान प्राडा विष्णु पाण्डे अझै कारण के हो भनेर यकिन भन्ने नसकिने बताउनुहुन्छ । उहाँका अनुसार प्रारम्भिक चरणको अध्ययनअनुसार सेटेलाइटबाट पाएको तथ्याङ्कमा थोरै समयमा अत्यधिक पानी परेर बाढी ल्याएको भने नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि त्यसरी अत्यधिक पानी परेर ठूलो बाढी आएको हो भन्ने देखिँदैन, हिमताल फुटेर आएको हो कि भन्ने अनुमान पनि गर्न सकिँदैन, पहिरो खसेर थुनिएको र त्यसपछि आएको भन्ने पनि देखिँदैन, ठूलो मात्रामा पानी थुन्न सक्ने अवस्थासमेत नदेखिँदैन । निकै भिरालो ठाउँमा पानीको फोर्स बढी हुँदा दुई छेउमा कटान भएको र जमेको क्षेत्र पनि बगाउँदा बढी क्षति भएको उहाँको प्रारम्भिक निष्कर्ष उहाँको छ ।

अर्का विज्ञ वसन्त अधिकारी जमेको माटो बिस्तारै पानीले खोलेर ऊर्जा बढाएको र त्यसले कटान बढाउँदै वरिपरिको क्षेत्र खसालेर शक्ति पैदा गरेको देखिने सुनाउनुहुन्छ । उहाँले माथिबाट सामान्य रूपमा शुरु भए पनि इनर्जी बढेर तल काट्दै आएको र गेग्य्रानसहित मिसिएर बाढीमा परिणत भएको बताउनुभयो । त्यहाँका प्रदेश सांसद निमा लामा माथिको कारण पत्ता नलागेसम्म समस्या समाधान गर्न नसकिने भएकाले तत्कालै अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विज्ञहरूलाई तत्काल अध्ययन गरेर कारण खोज्न पनि अनुरोध गर्नुभयो । आज बिहान मात्रै गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बैठक बसेर आवश्यक खोज उद्धार प्रभावकारी बनाउन निर्देशन दिएको थियो । बैठकमा गृहमन्त्री खाँडले आवश्यक साधन स्रोतका लागि कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ । रासस