एन्फा प्रवक्ता राईद्वारा राजीनामा

एन्फा प्रवक्ता राईद्वारा राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज राजीनामा दिनुभएको छ । राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले केन्द्रीय सदस्य पदमा भने आफू यथावत् रहने समेत बताउनुभयो ।

पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिनुभएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताउनुभयो । उहाँले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गर्नुभयो । राईले एन्फा नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै वर्तमान फुटबलको समाधान चुनावबाट मात्र निस्कने बताउनुभयो । “एन्फाभित्र जुन शक्ति सङ्घर्ष चलेको छ, यसको समाधान देखिँदैन”, उहाँले भन्नुभयो, “चाँडो जिल्ला र प्रदेश अधिवेशन सकेर ६–७ महिनाभित्र नयाँ चुनाव गर्नुपर्छ ।” अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै आएको छ ।

राईले पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयमा समेत आपत्ति जनाउनुभएको थियो । फुटबलभित्रको विवाद एन्फाभित्रै समाधान खोजिनुपर्नेमा युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनका लागि सिफारिस गर्ने एन्फाको निर्णय राम्रो नभएको उहाँले उल्लेख गर्नुभयो । उहाँले एन्फा कार्यसमिति बैठकमा सङ्घभित्रको समस्याको समाधान खोजिनुपर्ने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष कर्माछिरिङ शेर्पाको प्यानलबाट राई एन्फाको केन्द्रीय सदस्य जित्नुभएको थियो । अध्यक्ष शेर्पाले उहाँलार्ई एन्फा प्रवक्तामा नियुक्त गर्नुभएको थियो ।

यो पनि -सरकारको न्यूनतम साझा कार्यक्रम बारेमा शीर्ष नेताबीच छलफल

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि छलफल गरेर पूर्ण बनाउने तयारी छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो । सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी सरकारको न्यूनतम साझा कार्यक्रम बनाएको हो । कार्यदलमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य हुनुहुन्छ । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयन लगायतका विषय समेटिएका छन् ।

आजको बैठकमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा अधिकतम काम गर्ने विषयमा समेत शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ । कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको केही दिन बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अब केही दिनमै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने निष्कर्षमा समेत शीर्ष नेता पुग्नुभएको बताइएको छ ।