नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ (ख) ले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आज बन्दीपुरको डुम्रेमा स्वागत तथा सम्मान गरेको छ । पोखरा जाने क्रममा प्रदेश प्रमुख गुरुङलाई सो पार्टीले स्वागत तथा सम्मान गरेको हो । सो अवसरमा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने उल्लेख गर्दै अब आफू जनताको प्रतिनिधि भएकाले जनताकै चाहना अनुसारको जिम्मेवारी वहन गर्ने बताउनुभयो ।
कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारीले एक सच्चा, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलाई प्रदेश प्रमुखमा पाउनु सौभाग्यको कुरा भएको बताउनुभयो । कांग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, वडासभापति सुबोध अधिकारी, महिला नेतृ सरिता पियालगायतले प्रदेश प्रमुख गुरुङको कार्यकालमा गण्डकी प्रदेशमा उत्कृष्ट कार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
यो पनि – सरकारको न्यूनतम साझा कार्यक्रम बारेमा शीर्ष नेताबीच छलफल
सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख शीर्ष नेताको बैठकले गठबन्धन सरकारको नीति तथा कार्यक्रमलाई करिब करिब अन्तिम रुप दिएको छ । थप गर्नुपर्ने केही विषय बाँकी रहे मङ्गलबार पनि छलफल गरेर पूर्ण बनाउने तयारी छ ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सम्भवतः मङ्गलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र मन्त्रिपरिषद्को विस्तार गर्ने विषयमा सहमति गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ विष्णु सापकोटाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो । सत्तारूढ गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन गरी सरकारको न्यूनतम साझा कार्यक्रम बनाएको हो । कार्यदलमा कांग्रेसका तर्फबाट डा मीनेन्द्र रिजाल, रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य हुनुहुन्छ । कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयन लगायतका विषय समेटिएका छन् ।
आजको बैठकमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै देश र जनताको पक्षमा अधिकतम काम गर्ने विषयमा समेत शीर्ष नेताहरुबीच सहमति भएको बताइएको छ । कांग्रेस सभापति देउवा नेतृत्वमा सरकार गठन भएको केही दिन बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । अब केही दिनमै मन्त्रिपरिषद् विस्तार गरेर सरकारको कामलाई गति दिने निष्कर्षमा समेत शीर्ष नेता पुग्नुभएको बताइएको छ ।
यो पनि – सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध छ ः अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा उहाँले भन्नुभयो, “वर्तमान सरकार र सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन्छ ।”
मन्त्री शर्माले कोभिड–१९ महामारीमा मिडिया क्षेत्रले भोग्नु परेको आर्थिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोभिडका कारण बन्द हुने अवस्थामा पुगेका साना तथा मझौला मिडियालाई जोगाउने गरी सो क्षेत्रको सुझावका आधारमा राहतको व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यति बेला मुख्य गरी श्रमिक वर्ग मर्कामा परेको छ, रोजगारी खोसिएको छ, त्यसलाई सामूहिक छलफलबाट समाधान गर्नुपर्छ ।” मन्त्री शर्माले विगतका सरकारले मिडियाबारे गरेको व्यवस्थालाई कार्यान्वयन गर्ने र मिडियाबारे ऐन÷कानुन, संस्थागत संरचना, क्षमता र परिणाममा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले कोरोनाको बहानामा सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, रोजगारीबाट वञ्चित गर्ने र तलब नदिने जस्ता समस्या देखिएको बताउँदै मिडियाले भोगिरहेको आर्थिक सङ्कट समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । सरकारले उपलब्ध गराउने विज्ञापनमा साना र ठूला सबै मिडियाको पहँुच हुनुपर्ने तथा मिडियासम्बन्धी ऐन सञ्चारमैत्री हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो पनि – एमालेका नौ केन्द्रीय विभागमा सदस्य मनोनयन
नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठकले पार्टीका विभिन्न नौ केन्द्रीय विभागमा सदस्य मनोनयन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले ती विभागहरूमा अधिकतम २५ सदस्यसम्म रहन सक्ने व्यवस्था भए पनि पार्टीमा असन्तुष्ट पक्ष काममा फर्कने सक्ने अपेक्षासहित हाललाई ६ देखि १५ सङ्ख्यामा मात्रै सदस्य मनोनयन गरिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले पार्टीलाई अब नयाँ गतिका साथ अघि बढाउने बताउनुभयो । एमालेले यसअघि केन्द्रीय विभागका प्रमुखहरूको जिम्मेवारी तोकिसकेको थियो । आज सदस्य तोकिएका विभागहरूमा पार्टी स्कुल विभाग (प्रमुखः केपी शर्मा ओली), सङ्गठन विभाग (प्रमुखः विष्णुप्रसाद पौडेल), प्रचार विभाग (प्रमुख : प्रदीप ज्ञवाली), संसदीय विभाग (प्रमुख : सुवास नेम्वाङ), आर्थिक विभाग (प्रमुख : विष्णु रिमाल), पर्यटन प्रवद्र्धन विभाग (प्रमुख : भानुभक्त ढकाल), विदेश विभाग (प्रमुख : डा राजन भट्टराई), स्थानीय तह विभाग (अग्नि खरेल) र निर्वाचन विभाग (प्रमुख : देवेन्द्र दाहाल) हुनुहुन्छ ।
एमालेले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने तयारीबारे मस्यौदा तयारी र व्यवस्थापन कमिटीबारे आइताबार निर्णय गरेको थियो । विधान अधिवेशन अगावै प्रस्तावित विधान केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि तल्ला कमिटीमा पठाउने सो पार्टीको व्यवस्था छ । ती विषयमा छलफल गर्न एमालेले यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।
एमालेको आन्तरिक समस्या समाधान कार्यदलले गत असार २७ गते तयार गरेको १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउन पहल जारी रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित हुँदै आएको छ ।
विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र सङ्ठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ । पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । एमालेले असोजको पहिलो साता देशभरका सबै वडास्तरका अधिवेशन र दोस्रो साता सबै पालिकास्तरका कमिटीमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
‘सर्वोच्च अदालतको फैसला सही छ’
पत्रकारको प्रश्नको जवाफमा प्रवक्ता ज्ञवालीले एमालेको निर्देशनविपरीत गत वैशाख ३ गते कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने प्रकाश ज्वालासहित चार प्रदेशसभा सदस्यलाई गरिएको कारबाही सदर गर्ने सर्वाेच्च अदालतको आजको फैसला सही भएको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया