एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्र्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिनुभएको थियो । एमालेले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।  सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लागाउनुभयो । उहाँले दोषी भारतीय एसएसबीलाई मानवीय अपराध गरेको अभियोगमा कारवाही हुनुपर्ने माग गर्नुभयो ।

यो पनि – दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

काठमाडौँ, १८ साउन । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्नेे बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिका पदाधिकारी घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।

दार्चुलामा भएको घटना गम्भीर, दुखद् र सम्वेदनशील रहेको बताउँदै गृहमन्त्री खाणले भन्नुभयो, “जयसिंहसँगै यात्रामा रहेका अन्यसँग सोधपुछ्को कार्य भइरहेको, नदीमा खसेका र नभेटिएका हुनाले नेपाल–भारत दुवैका सुरक्षाकर्मीबाट खोजतलास भइरहेको छ ।
उहाँले दार्चुला घटनाका सम्बन्धमा व्यक्त विचार, सूचना र धारणालाई गम्भीरतापूर्वक लिने र घटनाको सत्यतथ्य आएपछि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो । नेपालका केही नदीमा वारपार तर्नका लागि अहिले पनि तुइनको प्रयोग भइरहेको जानकारी दिँदै गृहमन्त्री खाणले महाकालीमा चार वटा तुइन विस्थापित गरी झोलुङ्गेले पुल निर्माण कार्य अघि बढिरहेको बताउनुभयो ।

स्थानीय व्यास गाउँपालिकाबाट खलङ्गा जाने क्रममा यात्रालाई छोटो बनाउन धामीले तुइनको प्रयोग गर्नुभएको बताइएको छ । धामी महाकाली नदीमा खसेको सूचनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीबाट वास्तविक छानबिनका लागि स्थलगत अनुसन्धान गरेको थियो । महाकाली नदीमा खसेर हराइरहेका धामीको खोजीका लागि त्यस क्षेत्रका नौ र पाँच वटा प्रहरी वेशलाई परिचालन गरिएको जानकारी दिइएको छ ।

यसैबीच, नेकपा एमालेकी सांसद कोमल ओलीले दार्चुलामा भएको घटनाको भत्र्सना गर्दै सत्यतथ्य छानबिनका लागि माग गर्नुभयो । सांसद् चक्रप्रसाद घिमिरेले दार्चुला घटनामा भारतसँग वार्ता गर्न ढिलाइ गर्न नहुने औँल्याउनुभयो ।सांसद् सुन्दर श्रेष्ठले सरकारले दार्चुला घटनाका बारेमा भारतीय पक्षसँग कुरा गर्न नचाहेको हो भनी प्रश्न गर्नुभयो । सांसद् विमला राई पौडेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एक वर्षमा ३०० पुल बनेको भए पनि भारत सरकारको अनुमति नहुँदा महाकालीमा तुइन बिस्थापित नभएको धारणा व्यक्त गर्नुभयो ।

सांसद् भगवती न्यौपानले दार्चुलामा युवा बेपत्ता भएको घटनामा प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बलले तुइन काटेको देखेको भन्ने खबर आएकाले सोही आधारमा घटनाको सत्यतथ्य पत्ता लगाउन कोसिस गर्नुपर्ने धारणा राख्नुभयो । सांसद् तुलसाकुमारी दाहालले सिन्धुपाल्चोकका पीडितले चाँडो न्याय पाउनुपर्नेमा जोड दिनुभयो । रासस