नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने राससलाई बताउनुभयो । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन”, उहाँले भन्नुभयो ।
अध्यक्ष चन्दका अनुसार पूर्व कप्तान खड्काले आज बिहान करीब साढे ७ बजेतिर इमेल गरेर संन्यास लिन लागेको जानकारी गराउनुभएको थियो । उहाँले आइसिसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको आज बन्द प्रशिक्षण शुरु गर्ने तयारी रहेको समेत बताउनुभयो । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गर्नुभएको थियो ।
यो पनि – पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । उहाँले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्नुभएको हो । उहाँले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्नुभएको छ । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्नुभएका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताउनुभयो । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा शुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भन्नुभयो ।
नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उहाँले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ । तेत्तिस वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बन्नुभएको थियो । उहाँले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गर्नुभयो ।
खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नुभयो । दायाँहाते ब्याटस्म्यान उहाँले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाउनुभयो भने टी–२० मा ७९९ रन बनाउनुभएको थियो । दुवै किसिमका प्रतियोगितामा उहाँ शतक प्रहार गर्न सफल हुनुभएको थियो । खड्काले बलिङसमेत गर्नुभएको थियो । उहाँले १० एकदिवसीय खेलमा नौ विकेट लिनुभएको थियो भने ३३ टी–२० खेलमा आठ विकेट लिनुभएको थियो ।
यो पनि – साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल
कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ । पहिलो लहरका कारण सञ्चालनमा ढिलाइ भएको पर्वतको कुश्मा र बागलुङ जोड्ने गरी कालीगण्डकीको खोँचमा निर्माण भएको बन्जी र स्विङ कोरोना कहरले बढी प्रभावित भएको छ । विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो । कोरोनाको दोस्रो लहरअघि पर्यटकले भरिभराउ भइरहेको समयमा पुनः बन्द हुन पुगेको बन्जी र स्विङ पुल अहिले फेरि साहसिक पर्यटकको पखाइमा छ ।
झण्डै रु २० करोडको लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ । दोस्रो लहरपछि बन्द भएको उक्त साहसिक परियोजना निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि सञ्चालनमा आएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।
द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपलिका–१४ नारायणस्थानमा द क्लिफ रिसोर्टसमेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्रार्थना हात लगायतमा अन्य संरचना थपिएका छन् । उक्त संरचना बागलुङको बलेवामा छन् । “अहिले २०÷२५ जना पुल र रिसोर्ट अवलोकन गर्ने र आठ÷दस जनाले बन्जी र स्विङ गर्न थालेका छन्, स्वास्थ्य मापदण्ड अपनाएर एक हप्तादेखि शुरु गरेका छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो, “दुई महिना ठप्प भयो, अहिले त कर्मचारीलाई तलब खुवाउन पुग्ला, पूर्णरूपमा कोरोना साम्य नभएसम्म लक्ष्यअनुरूपको साहसिक पर्यटक आउन समस्या छ, म्याग्दी, मुस्ताङलगायतका पदमार्ग खुल्ला भएमा बल्ल साहसिक पर्यटक आउनेछन्, अहिले साहसिक पर्यटकको पखाइमा छौँ भन्दा हुन्छ ।” उक्त प्रालिअन्तर्गतका साहसिक खेल र रिसोर्टमा ७० जना कर्मचारीले रोजगारी पाएका छन् । पचास प्रतिशत बाह्य पर्यटकको अपेक्षा गरेको बन्जी र स्विङमा अहिले आन्तरिक पर्यटक मात्र छिटफुट आउन थालेको जनाइएको छ ।
कालीगण्डकीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत सहासिक खेल पर्यटकको प्रमुख आकर्षण बन्दै गए पनि कोरोनाका कारण पहिलो गाँसमै ढुङ्गा जस्तो भएको छ । विसं २०७३ देखि पुलको निर्माण शुरु गरिएको थियो भने पुलसँगै रिसोर्टको निर्माण २०७६ मा सकिएको थियो । पाँच सय २५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठीक माथि बन्जी र स्विङका लागि जम्प गर्ने प्लाटफर्म छ । खोलादेखि पुलको उचाइ २२८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बन्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । नेपालका अन्य स्थानभन्दा अग्लो र फरक भौगोलिक वातावरणका कारण यहाँको बन्जी र स्विङप्रति धेरैको आकर्षण छ ।
बन्जी र स्विङ दुवैको मूल्य रु सात हजार तोकिएको छ भने जोडी स्विङको रु १२ हजार शुल्क तोकिएको छ । प्रालिको अर्को आकर्षण गुलेली पिङसमेत छ । कालीगण्डकी खोँचको स्काई साइक्लिङ २२८ मिटर अग्लो रहेको प्रालिको भनाइ छ । प्रालिमा कार्कीसहित अन्य पाँच जनाको लगानी छ । रासस
प्रतिक्रिया