नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो । आजको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४२ अअर्ब २३ करोड २७ लाख ६१ हजार ८०० बराबर पुगेको छ ।

कूल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर रु ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ मूल्य बराबरको कारोबार भयो । नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको शेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए ।

यसैगरी, युनिलिभर नेपाल ३.७९, नबिल ब्यालेन्स फण्ड २.३३, एनआइबिएल प्रगति फण्ड २.०४, ग्रीन डेभलपमेन्ट बैंक १.९७ र समृद्धि फाइनान्सका लगानीकर्ताले १.८९ प्रतिशतले गुमाए । कारोबारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४६ करोड ८२ लाख १७ हजार बराबरको कारोबार भयो । यस्तै, ङादी ग्रुप अफ पावर रु ४३ करोड ३२ लाख ४२ हजार, फस्ट माइक्रो फाइनान्स रु ३३ करोड ८६ लाख ६७ हजार ९८३, स्वाभिमान लघुवित्त रु ३० करोड चार लाख ४८ हजार २३४ र निर्धन उत्थान लघुवित्तको रु २९ करोड ६६ लाख ४४ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । रासस

यो पनि – प्रतिवेदन पेश

काठमाडौँ, १९ साउन (रासस) : प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/०७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले सिंहको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो । सिंहको ९० वर्षको उमेरमा गत साउन १५ गते निधन भएको थियो । तत्कालीन राष्ट्रिय प्रजातन्त्रपार्टीबाट विसं २०४८ को प्रतिनिधिसभामा सदस्य निर्वाचनमा दार्चुला क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका सिंह पछिल्लो समय नेपाली कांग्रेस पार्टीसँग आबद्ध हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

यो पनि – डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज

विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ । जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै काम गर्न नसकिँदा वर्षेनी बजेट फ्रिज हुँदै जाने गरेको कर्मचारी बताउँछन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा रु एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६३९ विकास बजेट फ्रिज भएको छ । जसअन्तर्गत सङ्घीय सरकारको बजेटबाट रु ५४ करोड एक लाख २२ हजार ४३ र प्रदेश सरकारको बजेटबाट रु एक अर्ब १५ करोड ७९ लाख ९१ हजार ५९६ फ्रिज भएको हो ।

आव २०७७÷७८ मा सङ्घीय कार्यालयमार्फत जिल्लामा चालूतर्फ रु छ अर्ब आठ करोड ४२ लाख ५४ हजार ८६९ र पूँजीगततर्फ एक अर्ब १९ करोड ३८ लाख ५७ हजार बजेट विनियोजन भएको थियो । तीमध्ये चालूतर्फ पाँच अर्ब ७७ करोड ४३ लाख २६ हजार ३२४ र पूँजीगततर्फ रु ९६ करोड ३६ लाख ६३ हजार ५०० खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सङ्घीय सरकारको बजेटको ९२.५७ प्रतिशत खर्च हुन सकेको छ । सङ्घीय कार्यालयको चालूतर्फ झण्डै ९५ प्रतिशत र पूँजीगततर्फ ८०.७१ प्रतिशत रकम खर्च भएको देखिएको छ ।

सो अवधिमा प्रदेश सरकारको बजेट भने झण्डै २७ प्रतिशत फ्रिज भएको पाइएको छ । चालूतर्फ रु दुई अर्ब १३ करोड ७१ लाख ३१ हजार ५०० विनियोजन भएकामा रु एक अर्ब ४९ करोड एक लाख ३० हजार १३७ खर्च भएको पाइएको छ । उक्त रकम चालूतर्फ विनियोजित कूल रकमको ६९.७३ प्रतिशत हो । यसैगरी पूँजीगततर्फ रु दुई अर्ब १७ करोड ९५ लाख ८२ हजार विनियोजन गरिएकामा रु एक अर्ब ६६ करोड ८५ लाख ९१ हजार ७६७ मात्रै खर्च भएको देखिएको छ ।

कूल पूँजीगत अनुदानको ७६.५५ प्रतिशत मात्रै खर्च भएको पाइएको छ । आव २०७७÷७८ मा जिल्लामा जम्मा रु ४५ करोड सात लाख २१ हजार १७२ राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय कार्यालयमार्फत रु ४१ करोड १५ लाख ३६ हजार ९१८ र प्रदेश कार्यालयअन्तर्गत रु तीन करोड ९१ लाख ८४ हजार २५४ राजश्व सङ्कलन भएको हो ।